Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

भवन नबन्दा विद्यार्थीमा त्रास

मंगलबार, ०२ कार्तिक २०७३

काठमाडौं २ कात्तिक /  दुई कक्षामा पढ्ने रोजिना लामाले दुई महिनाअघि दुई साथी गुमाइन्। उनलाई साथीको सम्झनाले सताउँछ भने त्यो दुःखद घटनाले त्रर्साइरहन्छ। गत असार १८ गते ललितपुर टौखेलस्थित पुष्पाञ्जली विद्यालय पछाडिको पर्खाल भत्कँदा कक्षा २ मा अध्ययनरत दुईको मृत्यु भयो भने २४ विद्यार्थी घाइते भए। घाइते भएका सबै निको भइसकेका छन्। कक्षा कोठामा नेपाली विषय पढ्दै गर्दा एक्कासि पर्खाल लडेको थियो। यो घटना त्यहाँ अध्ययनरत कलिला विद्यार्थीको मनबाट अझै हटेको छैन।

रोजिना भन्छिन्, 'पर्खाल लडेको सम्झेर डर लाग्छ। साथीहरुको याद आउँछ।' उनले गुमाएका दुई साथीको नाम लिइन्— कृपा राई र अञ्जना केसी।

रोजिनासँगै बसेका सुरज लामा पनि उक्त घट्ना भुल्न सकेका छैनन्। खासगरी नेपाली शिक्षकले पढाएका बेला त्यो घटनाको याद हुने सुरज बताउँछन्।

घटनापछि मनोवैज्ञानिक असर हटाउन विद्यार्थीलाई परामर्शको कक्षा दिएर मात्रै कक्षा सञ्चालन गरेको विद्यालयकी प्राचार्य कान्ति लेप्छा बज्राचार्यले बताइन्। तर, कक्षा कोठामा पढ्दै गर्दा भएको घटना विद्यार्थीले अझै भुल्न सकेका छैनन्।

यो त भयो, विद्यालयभित्र भएको हालैको एक घटना। त्यसो त ललितपुरमा जोखिमपूर्ण धेरै विद्यालय छन्।

लगनखेलमा रहेको नमुना मच्छिन्द्र माविले भवन अभावका कारण रातो स्टिकर टाँसिएको जोखिमयुक्त भवनमा कक्षा सञ्चालन गरेको छ। यो विद्यालयलाई गत वर्षको भूकम्पले क्षति पुर्‍याएको थियो। विद्यालयका सह–प्रधानाध्यापक डा. दिनबन्धु शर्मा भन्छन्, 'भूकम्पले भवन चिराचिरा पारेको थियो। विद्यालयकै १५ लाख खर्च गरेर १२ कोठाका चारवटा टहरा निर्माण गर्‍यौं। तर, ती टहरामा विद्यार्थी अटाएनन्।'

आफूहरूले जिल्ला शिक्षा कार्यालयमा बारम्बार पहल गर्दा पनि भत्किएका भवन मर्मत तथा अनुगमनका लागि चासो नदिएको शर्माले बताए।

कुपण्डोलको प्रगति शिक्षा सदन, भारदेउमा रहेको गुप्तेश्वर निमावि र महाकालीदेवी उमावि, ललितपुरको दक्षिणमा पर्ने इकुडोलस्थित स्यारेभुमे प्रावि र जनजागृति उमावि लगायत १५ भन्दा बढी विद्यालय पनि जोखिमयुक्त छन्।

जोखिममा रहेका यी विद्यालयबारे जिल्ला शिक्षा कार्यालय बेखबरजस्तै छ। ललितपुर जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरी जिशिकाको काम विद्यालयको भौतिक अवस्था चेकजाँच गर्नुु नभएर शैक्षिक गुणस्तरको हेरचाह गर्ने मात्र रहेको बताउँछन्।

ललितपुरमा दुई सय ७५ निजी र एक सय ९० वटा सरकारी विद्यालय छन््। त्यसमध्ये ५० वटा निजी र एक सय ७० सरकारी विद्यालयमा भूकम्पले क्षति पुगेको थियो। क्षति पुगेका विद्यालयको पुनर्निर्माण अझै हुन सकेको छैन। क्षतिग्रस्त विद्यालय मर्मतका लागि नौ महिनाअघि जिशिकाले एक लाख ५० हजार रुपैयाँका दरले क्षतिपूर्ति दिएको थियो। त्यो रकम विद्यालयका लागि निल्नु न ओकल्नु भएको गुप्तेश्वर माविका प्राचार्य भीमप्रसाद गेलाल बताउँछन्। उक्त रकमले नपुग्ने र जिशिकाको मुख ताकेर बस्ने हो भने स्कुल नै बन्द हुने अवस्थामा पुग्ने उनको भनाइ छ।

ललितपुरमा भूकम्पबाट क्षति पुगेका विद्यालयको पुनर्निर्माण गर्न नौवटा एनजिओलाई जिम्मा दिइएको छ। तीमध्ये जाइका नामक गैरसरकारी संस्थाले पाँचवटा विद्यालयको पुनर्निर्माण सुरु गरे पनि अहिले बीचमै काम रोकेको छ। विद्यालयको यथेष्ट डिजाइन र संरचना शिक्षा विभागले तयार पार्न नसकेका कारण अन्य एनजिओले कार्य अगाडि बढाउन नसकेको सहायक जिल्ला शिक्षा अधिकारी खेमनाथ पोखरेल बताउँछन्। पुनर्निर्माणबारे शिक्षा विभागले हेर्नुपर्ने र आफूहरुलाई खासै जानकारी नभएको उनले बताए।

भूकम्पले क्षति पुर्‍याएको १५ महिना बितिसक्दा पनि जिम्मेवार निकायले ध्यान नपुर्‍याउँदा विद्यार्थी अस्थायी टहरा र जोखिम मोलेर पढ्न बाध्य छन्। सरकारले भूकम्पका कारण भत्किएका भवन पुनर्निर्माण गर्न तीन महिना समयावधि छुट्याएको छ। तर यही गतिमा काम गर्ने हो भने अझै पाँच वर्षमा पनि विद्यालय पुनर्निर्माण हुन नसक्ने जनजागृति उमाविका प्राचार्य हरिनन्द घिमिरे बताउँछन्।

नागरिकमा शिवहरि घिमिरेले लेखेका छन् ।

प्रतिक्रिया