Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

दलित बालबालिकाको नतिजा सबैभन्दा कमजोर

मंगलबार, ०२ कार्तिक २०७३

काठमाडौं २ कात्तिक / दलित समुदायका बालबालिकाको नतिजा सबैभन्दा कमजोर रहेको पाइएको छ । आर्थिक र सामाजिक रूपमा पछि परेको समुदायका बालबालिकाको सिकाइ उपलब्धि पनि सबैभन्दा कमजोर छ । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) को पछिल्लो नेसनल एसिस्मेन्ट अफ स्टुडेन्ट एचिभमेन्ट (नासा) को २०१६ को रिपोर्टअनुसार कक्षा तीन र पाँचमा नतिजा कमजोर रहेको पाइएको हो । सबैभन्दा राम्रो सिकाइ उपलब्धि ब्राह्मण-क्षत्री समुदाय र जनजाति समुदायका बालबालिकाको छ ।

आर्थिक र सामाजिक मुख्य कारण

इआरओ प्रमुख डा.लेखनाथ पौडेल दलित बालबालिकाको सिकाइ उपलब्धि कमजोर हुनुको मुख्य कारण आर्थिक र सामाजिक भएको बताउँछन् । ‘नियमित रूपमा विद्यालय नजाने र घरमा पनि सपोर्ट नपाउने समस्या देखिन्छ,’ उनले भने । विद्यालयमा पनि कतै मनभित्रैदेखि स्वागत नभएको हुनसक्ने उनको विश्लेषण छ । घरमा पढ्ने वातावरण नभएकाले शिक्षकले विद्यालयमा बढी सपोर्ट गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् ।

उपत्यकामा सिकाइ उपलब्धि राम्रो

क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा राम्रो सिकाइ उपलब्धि उपत्यकामा रहेको छ । सन् २०१५ मा कक्षा तीनमा उपत्यकामा नेपालीमा ६४ र गणितमा ५१ प्रतिशत रहेको छ । कक्षा पाँचमा नेपालीमा ५७, गणितमा ५८ र अंग्रेजीमा ६८ प्रतिशत रहेको छ । सबैभन्दा कमजोर नतिजा मध्यपश्चिमाञ्चल विकास क्षेत्रको रहेको छ । कक्षा तीनमा नेपालीमा ४३ र गणितमा ३७ प्रतिशत रहेको छ । कक्षा पाँचमा मध्यपश्चिममा नेपालीमा ४१, गणितमा ४३ र अंग्रेजीमा ३८ प्रतिशत सिकाइ उपलब्धि रहेको छ ।

पर्याप्त सपोर्ट चाहिन्छ : प्रवक्ता लम्साल

शिक्षा मन्त्रालयका प्रवक्ता डा.हरिप्रसाद लम्सालले दलित समुदायका बालबालिकाको सिकाइ उपलब्धि बढाउन शिक्षा मन्त्रालयदेखि शिक्षकसम्मको सपोर्ट चाहिने बताउँछन् । अहिले सिकाइ उपलब्धि बढाउन शिक्षा मन्त्रालयले छात्रवृत्ति, बालमैत्री सिकाइ, समावेशी शिक्षा, शिक्षक तालिमजस्ता कार्यक्रम सञ्चालन गरेको प्रवक्ता लम्सालले बताए । बढी सपोर्ट चाहिने बालबालिकालाई शिक्षकले धेरै सपोर्ट गर्नुपर्ने र त्यसो गरेमा सिकाइ उपलब्धि बढाउन सकिने उनको भनाइ छ ।

‘कमजोर बालबालिकालाई कक्षाकोठामा शिक्षकले बढी सपोर्ट गर्नुपर्छ, त्यो नहुँदा नतिजा कमजोर हुनसक्छ,’ उनले भने । गरिब परिवारका बालबालिकालाई घरमा अभिभावकबाट पढ्न सपोर्ट नहुने र विद्यालयमा पनि बढी सपोर्ट नभएमा समस्या हुने उनको भनाइ छ।

मधेसी समुदायका बालबालिका नेपालीमा कमजोर

सन् २०१५ मा गरिएको अध्ययनअनुसार कक्षा तीनमा ब्राह्मण–क्षत्री समुदायको नेपालीमा ५८ र गणितमा ४८ प्रतिशत सिकाइ उपलब्धि रहेको छ । जनजाति समुदायका बालबालिकाको नेपालीमा ५४ र गणितमा ४७ प्रतिशत सिकाइ उपलब्धि छ । नेपाली विषयमा सबैभन्दा कमजोर मधेसी समुदायका बालबालिका छन् । अरू विषयमा भने दलित बालबालिकाको कमजोर छ । दलित बालबालिकाको नेपालीमा ४७ र गणितमा ४१ प्रतिशत सिकाइ उपलब्धि रहेको छ । मधेसी समुदायको नेपाली र गणितमा ४५ प्रतिशत सिकाइ उपलब्धि रहेको छ ।

सन् २०१५ को अध्ययनअनुसार कक्षा पाँचमा पनि सिकाइ उपलब्धिको अवस्था उस्तै रहेको छ । कक्षा पाँचमा ब्राह्मण–क्षत्री समुदायका बालबालिकाको नेपालीमा ४९, गणितमा ५२ र अंग्रेजीमा ५३ प्रतिशत सिकाइ उपलब्धि रहेको छ । दलित समुदायका बालबालिकाको नेपालीमा ४४, गणितमा ४३ र अंग्रेजीमा ३९ प्रतिशत सिकाइ उपलब्धि छ । जनजाति समुदायका बालबालिकाको नेपालीमा ४९, गणितमा ४९ र अंग्रेजीमा ४७ प्रतिशत र मधेसी समुदायका बालबालिकाको नेपालीमा ४१, गणितमा ५० र अंग्रेजीमा ४१ प्रतिशत औसत सिकाइ उपलब्धि छ ।

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् ।

प्रतिक्रिया