Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

कक्षा ११ को भर्ना आधारमा सुधार

सोमबार, ०१ कार्तिक २०७३

काठमाडौं १ कार्तिक / शिक्षा मन्त्रालयले कक्षा ११ मा आमसञ्चार र पत्रकारिता विषय पढ्न कक्षा १० को परीक्षामा गणितमा डी प्लस हुनुपर्ने बन्देज हटाएको छ । असोज १४ मा भएको शिक्षामन्त्री स्तरीय निर्णयले आमसञ्चारमा गणित विषयको ग्रेडस्तरको बन्देज हटाएको हो । यो निर्णयले गणितमा ई ग्रेड ल्याएका विद्यार्थीले आमसञ्चार अध्ययन पाउँछन् । तर, न्यूनतम १.६ जीपीए र अन्य विषयमा भने तोकिएकै ग्रेड हुनुपर्ने छ ।

गणितमा निश्चित ग्रेड ल्याउनुपर्ने भएपछि अन्य विषयमा उत्कृष्ट ग्रेड र गणितमा कमजोर भएका विद्यार्थीले जनसंख्या शिक्षा, स्वास्थ्य शारीरिक लगायतका विषय पढिरहेका छन् । मानविकी संकायतर्फ आमसञ्चारमा विद्यार्थीको आकर्षण बढदो थियो । यो विषयमा बर्सेनि २० हजार हाराहारी भर्ना हुन्थे । गणितको बन्देजले यस वर्ष आमसञ्चार विषयमा न्यून विद्यार्थी भर्ना भएका छन् ।

आमसञ्चारमा गणितको बन्देजकै कारण विद्यालयहरूले शिक्षा विभागसंग त्यसको सट्टा जनसंख्या, स्वास्थ्य शारीरिक विषय थपेका थिए । विभागका अनुसार ८७ वटा विद्यालयले विषय थपको अनुमति पाएका छन् । त्यसमा ३९ वटा विद्यालयले जनसंख्या शिक्षाको मात्रै अनुमति लिएका छन् ।  

यस्तै, कक्षा १० मा प्राविधिक तथा व्यावसायिक धारबाट परीक्षा दिएका विद्यार्थीले कक्षा ११ मा साधारण धार (विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा समूह) मा भर्ना हुन पाउने भएका छन् । साधारण विषय अध्ययन गर्न एसएलसीमा सामाजिकमा डी प्लस ल्याएको हुनुपर्ने प्रावधान थियो ।

कक्षा १० प्राविधिक धार अध्ययन गर्ने विद्यार्थीले सामाजिक विषय अध्ययन गर्नुपर्दैन । अघिल्लो व्यवस्थाले प्राविधिक धारबाट १० कक्षाको परीक्षा दिएका विद्यार्थीले साधारणतर्फ कक्षा ११ भर्ना हुन नपाउने भएपछि यो बन्देज हटाइएको हो ।

‘साधारण विषय अध्ययन गर्न चाहे तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्ले निर्धारण गरेका अन्य आधार कायमै राखी सामाजिक विषयको अनिवार्यतालाई हटाउने व्यवस्था गर्ने गराउने,’ निर्णयमा भनिएको छ ।

मन्त्रालयले संस्कृत विषयबाट एसएलसी दिएका विद्यार्थीले अन्य विषय अध्ययन गर्न चाहे कक्षा १० मा अध्ययन गरेका विषयसँग मिल्दोजुल्दो विषयमा कक्षा ११ मा पढ्न सक्ने व्यवस्था गरेको छ ।

कान्तिपुरमा मकर श्रेष्ठले लेखेको खबर ।

प्रतिक्रिया