Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

मेडिकल कलेजका सिट आफुखुशी निर्धारण, काउन्सिलको आपत्ती

बुधबार, १९ असोज २०७३

काठमाडौं– नेपालका मेडिकल कलेजको नियामक निकाय नेपाल मेडिकल काउन्सिलको नियमित बैठक पनि बस्न नसकेका वेला विश्वविद्यालयहरुले ‘एमबीबीएस’ तहमा आफुखुशी सिट निर्धारण गरेर विद्यार्थी भर्ना शुरु गरेकोमा काउन्सिलले आपत्ती जनाएको छ । त्रिभुवन विश्वविद्यालयले यसअघि नै आफु अन्र्तगतका मेडिकल कलेजहरुको सिट निर्धारण गरिदिएको थियो भने काठमाडौं विश्वविद्यालय अन्र्तगतका कलेजमा पनि विश्वविद्यालयले निर्धारण गरेको सिटका आधारमा कलेजहरुले विद्यार्थी भर्ना शुरु गरेका छन् ।

नियामक निकाय काउन्सिलले भने प्राबिधिक कारणले बैठक बस्न ढिलाई भएको जनाउँदै तत्काल बैठक बसेर कलेजहरुको सुपरिक्षण गरेर अनिमात्र सिट निर्धारण गरिदिने जनाएको छ । विश्वविद्यालयले  काउन्सिललाई ‘वाईपास’ गरेर आफुखुशी निर्धारण गरिएको जनाउदैं कलेजहरुका निर्धारित सिट मान्य नहुने जनाएको छ ।

काउन्सिलका रजिष्ट्रार डा. दिलिप शर्माले विश्वविद्यालयहरुले आफुखुशी सिट निर्धारण गरेको जानकारी गराउदै त्यसलाई जस्ताको तस्तै अनुमोदन गर्नुपर्छ भन्ने वाध्यता नरहेको बताए । उनले  विश्वविद्यालयहरुले आफुखुशी निर्धारण गरेको सिट थप नहुने र काउन्सिलले घटाउन सक्ने बताए । उनले भने ‘कलेजहरुको अहिलेको सिटमा थप हुदैन अझै घट्न सक्छ ।’ रजिष्ट्रार शर्माले उनीहरुले गरेको सिफारिसलाई काउन्सिलले मान्नु पर्ने वाध्यता नरहेको बताए ।

रजिष्ट्रार शर्माले काउन्सिल बैठक बसेर कलेज सुपरिवेक्षणमा जाने जानकारी गराए । अनिमात्र कलेजहरुको बास्तविक सिट निर्धारण हुने उनको भनाई छ । रजिष्ट्रार शर्माले मन्त्रालयबाट सोमबार पत्र आएको जानकारी गराउदै वैठक बस्ने जानकारी गराए ।

काउन्सिल सदस्यको नियुक्तिको विषयमा अख्तियारले प्रश्न उठाए पछि जेठमा बस्न लागेको यसबर्षको पहिलो बैठक स्थगित भएको थियो । त्यसपछि काउन्सिलले भदौको ७ र ८ गतेका लागि बैठक बस्ने भन्दै दोस्रोपटक मिति तोकेको थियो । बैठकले कलेजहरुको सिट र शुल्कका तोक्ने उनले जानकारी गराए ।

मेडिकल कलेज संचालकहरुले भने विश्वविद्यालयले निर्धारण गरेको सिटमा धमाधम विद्यार्थी लिएका छन । यस बर्षका लागि सरकारी शुल्क निर्धारण समितीले न्युनत्तम ३२ देखि ७३ लाख रुपैयाँसम्म शुल्क निर्धारुण गर्न सिफरिश गरेको छ । त्यसै आधारमा कलेजहरुले विद्यार्थीहरुसँग अधिक शुल्कका लागि बार्गेनिङ गर्दै विद्यार्थी भर्ना शुरु गरेका छन् ।

त्रिबि अन्र्तगतका ९ मेडिकल कलेजमा विद्यार्थी भर्ना समपन्न भएको छ । केयुले पनि गत आईतवार लिएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेर विद्यार्थी भर्ना लिन शुरु गरेको छ । केयु अन्र्तगतका १० मेडिकल कलेजलाई विश्पविद्यालयले  न्युनतम् २४ देखि १ सय १५ सिटसम्म निर्धारण गरिदिएको छ । त्यसै अनुसार कलेजहरुले विद्यार्थी भर्ना शुरु गरेका छन् । १० कलेजमा एमबिबिएसका लागि विश्वविद्यालयले कुल ९ सय ६१ सिट तोकिदिएको छ । त्यस मध्ये न्युनतम् ९ देखि ५७ सिट प्रति कलेज विदेशी विद्यार्थीका लागि निर्धारण गरिदिएको छ । केयु अन्र्तगतका १० कलेजले ३ सय ८५ विदेशी र ५ सय ७६ नेपाली विद्यार्थी भर्ना लिन पाउनेछन् ।

निजी मेडिकल कलेज आवद्ध एशोसियनका अध्यक्ष डा. शुरेस कनोडियाले काउन्सिलले बैठक बसेर सिट निर्धारण गर्न ढिला गरेकोले विश्वविद्यालयले आफै सिट निर्धारण गरेको जानकारी गराए । विश्वविद्यालयले गरेको सिट निर्धारण हचुवाका भरमा नरहेको उनले स्पष्ट पारे । विश्वविद्यालयले दुई बर्ष अघिसम्म १ सय ५० सिट क्षमतामा संचालित कलेजहरुलाई अहिले १ सय १५ सिटमा सिमित गरिदिएको उनले बताए । डा. केसीको आन्दोलनका कारण मापदण्ड विना नै १ सय ५० सिट क्षमतामा सञ्चालन भएका मेडिकल कलेजलाई केदारभक्त माथेमा कमिटीको सिफारिशलाई कार्यन्वयन गर्दै विश्वविद्यालयले मापदण्ड विनाका कलेजहरुको सिटमा कटौती गरर सिट निर्धारण गरेको जनाएका छन् ।

प्रतिक्रिया