Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

शिक्षामा एनआरएनएले लगानी गर्ने

बुधबार, १९ असोज २०७३

काठमाडौं १९ असोज / गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली युवाका लागि गुणस्तरीय र व्यावसायिक शिक्षा प्रवद्र्धनमा लगानी गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र एनआरएनएको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न दुईदिने युवा सम्मेलनपछि मंगलबार ‘बोडे घोषणापत्र’ जारी गर्दै एनआरएनए अध्यक्ष शेष घलेले आफूहरू नेपाली युवाको शिक्षा, रोजगारीका निम्ति सीप प्रवद्र्धन गर्न नेपाल सरकारसित सहकार्य गर्न तत्पर रहेको बताए ।

मन्त्रालयका सहसचिव तेजराज पाण्डे, परिषदका कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेल र एनआरएनए अध्यक्ष घलेको संयुक्त हस्ताक्षरमा पाँचबुँदे घोषणापत्र जारी गरिएको हो । ‘सम्मेलनमा पेस भएका कार्यपत्र, राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन २०२५ को मार्गदर्शन तथा उद्देश्य परिपूर्ति गरी नेपाली युवाको सहभागिता, उद्यमशीलताको विकासमार्फत नेपालको दिगो विकासका लागि नेपाली तथा गैरआवासीय नेपाली युवाको गुणस्तरीय तथा व्यावसायिक शिक्षामा पहुँच बढाउन गैरआवासीय नेपाली संघले खुला विश्वविद्यालय सञ्चालनमा ल्याउन सहयोग पुर्‍याउनेछ,’ घोषणापत्रको पहिलो बुँदामा भनिएको छ ।

त्यसैगरी युवामा सामाजिक उद्यमशीलता विकास गर्न युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा राष्ट्रियस्तरको उपराष्ट्रपति उद्यमशीलता नेतृत्व विकास केन्द्र स्थापना गर्ने घोषणा गरिएको छ । व्यावसायिक शिक्षालाई प्रवद्र्धन गर्न तथा युवा उपयोगी सूचना प्रवाह गर्न युवा परिषद्ले एक वर्षभित्रमा कम्प्युटर एप्लिकेसन निर्माण गरी सञ्चालनमा ल्याउने, गैरआवासीय नेपालीका सन्ततिहरूलाई नेपाली भाषा, कला, संस्कृतिसँग परिचित गराई भाषा संस्कृतिको जगेर्ना गर्न परिषद् र एनआरएनएको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने तथा नेपाली समाजमा विद्यमान परम्परागत ज्ञान, सीप र प्रविधिलाई तालिम र औपचारिक शिक्षासँग जोड्न सरकार र सम्बद्ध निकायसँग युवा परिषद्ले पहल गर्ने उल्लेख छ ।

एनआरएनएबाट लघुवित्त कार्यक्रम स्थापनाको सम्भाव्यता अध्ययन गरी नेपाली र वैदेशिक रोजगारबाट फर्किएका युवालाई नेपालमै स्वरोजगार र उद्यमशीलताका लागि युवा परिषद्सँगको सहकार्यमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । त्यस निम्ति परिषदअन्तर्गत यसै वर्ष युवा विप्रेषण तथा सामाजिक सुरक्षा कोष निर्माण गरी एनआरएनएका तर्फबाट समेत आर्थिक सहयोग जुटाउने उल्लेख छ ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया