Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

पहिरो जोखिममा विद्यार्थी

शुक्रबार, १४ असोज २०७३

काठमाडौं १४ असोज / खुला टहरा, वरिपरि पहिरो । झर्दै गरेको पहिरो हेर्दै कलिला बालबालिका कक्षाकोठामा बस्छन् । थामी समुदायको बाहुल्यता रहेको पिस्करस्थित मंगलामाई माविमा दिनैपिच्छे यस्तो दृश्य देखिन्छ ।

यहाँका ३ सय ६५ बालबालिका पहिरोमुनि जोखिम मोलेर पढ्न बाध्य छन् । पहिराले विद्यालय भवनमा क्षति पुगेको छ । प्रधानाध्यापक शिवकुमार कार्कीका अनुसार बालबालिकाले ढुक्कसँग बसेर पढ्ने अवस्था छैन । विद्यालय नजिक करिब एक किमि लम्बाइको पहिरो गएको छ । विद्यालय अन्यत्र सार्न गाह्रो छ । ‘अर्को भवन बनाउने क्षमता र स्रोतसाधन छैन, पहिरोको अवस्था हेरेर विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था छ,’ उनले भने । विद्यालय आउने गोरेटो पनि पहिरोले बगाएको छ । स्थानीय डाँडाटोललगायत टाढाका बस्तीबाट आउन बालबालिकालाई समस्या छ । त्यहाँका छात्र सन्तोष थामीले भने, ‘गाउँका २५ जनालाई पहिरोले आउजाउमा समस्या बनाएको छ ।’ शिक्षक पृथ्वीजंग पाण्डेले जोखिम मोलेर बालबालिका विद्यालय आइरहेको बताए ।

सीमा क्षेत्र फुल्पिङकट्टीको झिर्पु माविका बालबालिका पनि पहिरोकै जोखिममा छन् । ४ सय बालबालिका पहिरोले घेरिएको टहरामा अध्ययनरत छन् । सीमाकै चाकुस्थित धनेश्वरी माविका बालबालिका त्यस्तै जोखिममा छन् । पहिराले दायाँबायाँबाट घेरेको छ । तातोपानीको कोदारी माविका बालबालिकालाई भोटेकोसीको बाढीले सताएको छ । भूकम्पबाट क्षति पुगेका विद्यालय अहिले बाढीको चपेटामा छन् । प्रधानाध्यापक नइन्द्र तामाङका अनुसार ‘सीमामा भूकम्प, बाढी र पहिरोले बालबालिकामा त्रास उत्पन्न गराएको छ । ‘विद्यालय मात्र होइन, बस्ती पनि जोखिममा छन्,’ उनले भने ।

सरकारले भूकम्पले भत्काएका विद्यालयको पुनर्निर्माण सुरु गरेको छैन । जिल्ला शिक्षा कार्यालयले ४ विद्यालय बढी जोखिममा रहेको जानकारी दिएको छ । शिक्षा अधिकारी रुद्रहरि भण्डारीले भने, ‘मगलामाईलगायत धेरै विद्यालय जोखिममा परेका छन्, त्यस्तालाई जग्गा व्यवस्था गरेर पुनर्निर्माण सुरु गर्छौं ।’

भूकम्पबाट सर्वाधिक भौतिक र मानवीय क्षति भएको जिल्लामा ५ सयभन्दा बढी विद्यालयको भवन भत्केको छ । सीमा क्षेत्रमा भने भूकम्पपछि बाढीले विद्यालयलाई क्षति पुर्‍याएको थियो । तातोपानीका निजी विद्यालय भोटेकोसी बाढीले बगाएको छ । बगाएपछि दुई निजी विद्यालय बन्द भएका छन् । लिस्ती, तातोपानी, मार्मिन, गाती, घुमथाङ, फुलपिङकट्टीलगाय सीमाका विद्यालय पछिल्लो समय बाढी र पहिरोको चपेटामा परेका छन् ।

बढ्दै दलीय हस्तक्षेप
मुगु– जिल्लाका सामुदायिक विद्यालयमा राजनीतिक दलको हस्तक्षेप हुन थालेपछि पठनपाठन प्रभावित भएको छ । यसैको पछिल्लो उदाहरण हो, फोतु गाविसको भवानी प्रावि व्यवस्थापन समिति चयनमा भएको झडप । झडपमा शिक्षकसहित १४ जना स्थानीय घाइते भएका छन् । व्यवस्थापन समितिका पदाधिकारीमा कांग्रेस, एमाले, माओवादी केन्द्रले राजनीतिक प्रभाव देखाउन आआफ्ना कार्यकर्ता राख्न पहल गरेपछि यस्ता घटना भएका हुन् । जिल्लास्थित १८ राजनीतिक दलले विद्यालयमाथि कुनै पनि हस्तक्षेप र कार्यक्रम नगर्ने प्रतिबद्धता जाहेर गरे पनि व्यवहारमा लागू भएको छैन ।

विद्यालयमा निकासा हुने दिवा खाजा, छात्रवृत्ति भवन निर्माणको बजेटमाथि रजाइँ गर्न पाइने मनसायले राजनीतिक हस्तक्षेप बढेको छ । सामुदायिक विद्यालयमा राजनीतिक हस्तक्षेपका अशान्ति र पठनपाठनमा असर पर्न थालेको जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमालले बताए । ‘अन्य जिल्लामा यस्तो छैन, मुगुमा अचाक्ली राजनीतिले काम गर्न मुस्किल छ,’ उनले भने । शिक्षकहरू पनि राजनीतिक आड लिएर आफ्नो कार्यप्रति उत्तरदायी नदेखिएको हमालको भनाइ छ । शिक्षक सरुवा, नयाँ नियुक्ति प्रक्रियामा राजनीतिक भागबन्डा हुने गरेको छ । आफ्नो पक्षमा भाग नपरे जिशिका घेराउ, प्रमुखमाथि हातपात हुने गरेको छ । प्रतिबद्धता जाहेर गरे पनि विद्यालयमाथि राजनीतिक हस्तक्षेप भएको राप्रपाका अध्यक्ष राजबहादुर मल्लले बताए । सानाभन्दा ठूला दलबाट बढी हस्तक्षेप हुने गरेको उनको आरोप छ । पदाधिकारीलाई दलीय भागबन्डा लगाएर विद्यालय व्यवस्थापन समिति गठन गर्ने गरिएको छ । राजनीतिक हस्तक्षेपले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन हुन नसकेको महाकाली नमुना उमाविका प्राचार्य देवबहादुर मल्लले बताए ।

मुगुमा १ सय ४१ वटा विद्यालयमध्ये अहिलेसम्म १ सयवटा विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन भएको छ । १० वटा विद्यालयमा राजनीतिक पूर्वाग्राहका कारण अनियमितताको आरोपमा उजुरी परेको कार्यालयले जनाएको छ । कांग्रेस पूर्वसभापति ऐनबहादुर शाहीले व्यवस्थापन समितिको जहाँ निर्वाचन हुन्छ, त्यहाँ राजनीतिक घुसपैठ हुने बताए । स्थानीय निकायको निर्वाचन नहुँदा दलहरूको ध्यान विद्यालयमा वर्चस्व कायममा गएको उनले जनाए ।

अनिश तिवारीले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया