Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

विद्यालय भवन भत्किएपछि चौरमै पठनपाठन

विहीबार, १३ असोज २०७३

काठमाडौं १३ असोज / बैतडीको गाजरीस्थित एक विद्यालयको भवन भत्किएपछि चौरमा पठनपाठन गर्न विद्यालय बाध्य भएको छ । गत १६ असारमा परेको वर्षाका कारण सिद्धेश्वर गाउँ विकास समिति, गाजरी सुगरखालको केदार निम्नमाध्यमिक विद्यालयको पाँच कोठे भवन भत्किँदा नियमित पठनपाठनमा समस्या भएको हो ।

भारी वर्षाको कारण भवन भत्किएपछि विद्यालयको पाँच कोठे भवन विद्यालयका प्रधानाध्यापक केशवदत्त जोशीले बताए । भवन भत्किएर कक्षा कोठा नभएपछि कक्षा २, ३, ४, ५ र ६ का विद्यार्थीलाई चौरमै बसाएर पठनपाठन गर्दै आएको उनले स्पष्ट पारे । विद्यालयमा रहेका ९ कोठामध्ये ५ कोठाको (एक ब्लक) भवन भत्किएपछि ४ कोठाको भवनमा कार्यालय र अन्य कक्षा सञ्चालन हुँदै आएको उनले बताए ।

तीन महिनादेखि खुला चौरमा सञ्चालन गर्दै आएको र पानी पर्ने सम्भावना भए विद्यार्थीलाई तत्काल छुट्टी दिने गरेको वा पढाउनु पर्दा पानी पर्ने जस्तो भए पनि छुट्टी गर्नु पर्ने बाध्यता रहेको समेत प्रअ जोशीले बताए । दिउँसोको चर्को घाम लाग्दासमेत पठनपाठनमा समस्या हुने गरेको जानकारी दिँदै उनले भने, ‘आकाश हेरेर हामी पठनपाठन गर्ने गरेका छौं ।’ व्यवस्थित कक्षा कोठा र फर्निचरको व्यवस्था नहुँदा र चौरमा बसेर पढ्नुपर्ने भएकाले विद्यालयमा विद्यार्थी नियमित हुन छाडेको विद्यालयका एक शिक्षकले बताए ।

विद्यालयको स्रोत नहुँदा भवन भत्किएको तीन महिना बित्दा पनि कक्षा कोठा पुनर्निर्माण गर्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबादुर चन्दले बताए । भवन निर्माण र मर्मतका लागि कुनै पनि निकाय वा संस्थाबाट स्रोत जुटाउन नसकेको बताउँदै अध्यक्ष चन्दले भने, ‘आफैं बनाउनलाई विद्यालयको कुनै स्रोत छैन ।’ सो विद्यालय भवनको निर्माण १० वर्षअघि जनश्रमदानबाट भएको विव्यसका सदस्य ललित विकले बताए ।

विद्यालयको सो भवन भत्किएपछि पुनर्निर्माणका लागि जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समिति, तथा अन्य सरोकारवाला निकायसँग आग्रह गर्दा कसैबाट पनि सहयोग पाउन नसकेको गुनासो अध्यक्ष चन्दले गरे । जनश्रमदानबाट भवन पुनर्निर्माण गर्न सकिए पनि आवश्यक उपकरण निर्माण सामग्री जुटाउन सम्भव नभएको उनको गुनासो रहेको छ । अहिले गाउँ समाजको अवस्था १० वर्षअघिको जस्तो नभएको उल्लेख गर्दै उनले भने, ‘जनश्रमदानका लागि जनशक्ति जुटाउन पनि सकस नै छ ।’

नियमित र शान्तिपूर्ण पठनपाठनका लागि कक्षा कोठाको व्यवस्था नहुँदा कक्षामा पढ्ने र पढाउने दुवैलाई मानसिक तनाव हुने गरेको बताउँदै प्रअ जोशीले भने, ‘खुला चौरमा कक्षा चलाउनुपर्दा शिक्षक र विद्यार्थी दुवैको ध्यान पठनपाठनका केन्द्रित हुन सकेको छैन ।’कक्षा १ देखि ८ सम्म पठनपाठन हुने सो विद्यालयम हाल १ सय ५ जना विद्यार्थी रहेका छन् ।

छत्र साउदले राजधानीमा लेखेको खबर ।
 

 

प्रतिक्रिया