भक्तपुर– शिक्षक हुन चाहने मानव शक्ति निक्कै कमजोर देखिएको छ । शिक्षक सेवा आयोगको नतिजाको विश्लेषण गर्दा शिक्षकै बन्छु भनेर अध्ययन गर्ने विद्यार्थी निक्कै कमजोर रहेको पुष्टि भएको हो । आयोगले आर्थिक बर्ष २०७२/७३ मा सञ्चालन गरेको अध्यापन अनुमति पत्र लाईसेन्सको परीक्षाको नतिजाबाट उक्त तथ्य बाहिर आएको हो ।
‘हुन त यो नदेखिएको विषय हो तर, नतिजाले भने शिक्षकै बन्छु भनेर पढ्नेहरुको क्षमता निकै कमजोर भएको देखिएको छ ।’ आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले भने ।
आयोगले गत वर्ष माध्यमिक तहमा सञ्चालन गरेको लाईसेन्सको परीक्षामा सम्मिलित कूल ६६ हजार १२ जनामध्ये ३३ हजार ३ सय ९६ जना मात्र उत्तीर्ण भएका थिए । जुन ५० दशमलब ५९ प्रतिशत मात्र हो ।
सोही वर्ष निमावि तहको लाईसेन्सकै परीक्षामा सम्मिलित कूल २ लाख ७० हजार ६९ जना परीक्षार्थीमध्ये जम्मा ३१ दशमलव अर्थात् ८४ हजार ८ सय ८२ जनामात्र उत्तीर्ण हुनुले पनि शिक्षक बन्नका लागि शिक्षा संकाय पढ्ने विद्यार्थी कमजोर देखिएको प्रष्ट भएको मरहठ्ठा बताउँछन् ।
यतिमात्र नभएर चालु आर्थिक वर्षमा भएको विज्ञापन अन्तर्गत मावि तहका कूल २६ हजार १ सय ५९ जना परीक्षार्थीमध्ये जम्मा ४ हजार २ सय ८७ जना अर्थात् १६ दशमलव ३९ प्रतिशत र निमावि तहको परीक्षामा सम्मिलित ५५ हजार ५५ जनामध्ये जम्मा ३ हजार ३४ जना अर्थात् ५ दशमलब ५१ प्रतिशत मात्र उत्तीर्ण हुनुले शैक्षिक स्तर कमजोर समेत देखिएको छ ।
‘यो तथ्यांकले पनि हामीकहाँ शिक्षक बन्नका लागि शिक्षा संकाय पढ्ने विद्यार्थी नै कमजोर रहेको देखिएको छ ।’ आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले भने ।
शिक्षक बन्नका लागि योग्य हुन आवश्यक लाईसेन्सको लिखित परीक्षामा न्यूनतम ५० अंक आवश्यक पर्छ । लाईसेन्स परीक्षामा उनुत्तीर्ण भएका परिक्षार्थीले आवश्यक ५० अंक ल्याउन नसकेकै कारण फेल भएका हुन् ।
स्तरीय शिक्षाको लागि स्तरीय शिक्षक आवश्यक हुने भए पनि परीक्षालाई अधिकांशले सजिलो परीक्षाका रुपमा लिने गरेको कारण नतिजामा थोरैमात्र परीक्षार्थीले सफलता पाएको आयोगको अड्कल छ ।
शिक्षक बन्नका लागि आवश्यक लाईसेन्सको परीक्षाको तयारी अन्य परीक्षामा जस्तै गर्नु नपर्ने मानसिकता रहेकोले त्यसको असर परीक्षाफलबाट देखिएको पौडेल बताउँछन् ।
शिक्षक बन्नका लागि आवश्यक न्यूनतम अंकमा भएको वृद्धि र पाठ्यक्रममा गरिएको संशोधनले पनि धेरै परीक्षार्थी सफल नभएको मरहठ्ठा बताउँछन् । शिक्षक बन्नका लागि आवश्यक लाईसेन्सको परीक्षामा हुने लिखित परीक्षाका लागि आवश्यक न्यूनतम ४० अंकलाई बढाएर ५० पु¥याईएको हो ।
शिक्षाको जग नै कमजोर हुनुमा शैक्षिक उपलब्धि राम्रो भएका विद्यार्थीको रोजाइ शिक्षा नभएर अन्य संकाय हुँदा समस्या भएको शिक्षाविद्हरुको तर्क छ ।
‘हामीकहाँ राम्रो अर्थात् ए प्लस, ए ग्रेड आयो भने साइन्स नै पढ्नुपर्छ, बी प्लस, बी आयो भने व्यवस्थापन नै पढ्नुपर्छ भन्ने बुझाइ छ’ शिक्षाविद् डा. विद्यानाथ कोइरालाले भने, अनि थोरै अंक आएकाले एजुकेशन पढ्ने हो भन्ने बुझाइ छ ।’
त्यही बुझाइका कारण शिक्षण पेशाका लागि पढिने शिक्षा संकायका विद्यार्थी कमजोर हुने गरेको उनको निश्कर्ष छ ।
प्रतिक्रिया