Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

बढुवा लोभमा अनधिकृत विद्यावारिधि

बुधबार, १२ असोज २०७३

काठमाडौं १२ असोज / त्रिभुवन विश्वविद्यालयका प्राध्यापकले त्रिवि सेवा आयोग बढुवा हुँदा अंक पाउने लालचमा विदेशी विश्वविद्यालयका नेपाली विद्यार्थीलाई अनधिकृत रुपमा विद्यावारिधि उपाधि दिलाइरहेको खुलेको छ।

भारतको राजस्थानमा रहेको सिंघानिया विश्वविद्यालयबाट विद्यावारिधि उत्तीर्ण विद्यार्थी त्रिवि पाठ्यक्रम विकास केन्द्रमा समकक्षताका लागि आउँदा यो रहस्य खुलेको हो।

पाठ्यक्रम विकास केन्द्रका सदस्य ताराप्रसाद सापकोटाका अनुसार विद्यावारिधिका लागि एकजना विद्यार्थीलाई ‘गाइड’ गरेबापत आयोग बढुवामा ५ नम्बर दिने व्यवस्था छ । त्यस्तै, प्राध्यापकले बढीमा दुई जनासम्म विद्यार्थीलाई गाइड गराएको नम्बर जोडिन्छ ।

‘स्नातकोत्तरमा ५ जनालाई गाइड गरेबापत एक–एक गरी पाँच नम्बर सेवा आयोगले दिने व्यवस्था छ,’ सापकोटाले भने, ‘मास्टर डिग्री तह नै नभएको सिंघानिया विश्वविद्यालयले विद्यावारिधि गराएको रहेछ । यस्तोमा विद्यार्थीलाई समकक्षता दिने कि नदिने भन्ने ठूलो प्रश्न उठेको छ ।’

कानुन संकायमा डिनसमेत रहेका सापकोटाले विद्यार्थीले विश्वविद्यालयको मुखै नदेखी घरमै बसी विद्यावारिधि गर्ने र त्यस्तो थेसिसमा त्रिविका वरिष्ठ प्राध्यापकले हस्ताक्षर गरेको पाइएको जानकारी दिए ।

पाठ्यक्रम विकास केन्द्रका अनुसार सिंघानियाको मात्र होइन, केन्द्रमा लवली प्रोफेसनल विश्वविद्यालय दिल्ली, मेरठ विश्वविद्यालय, कुमाउ विश्वविद्यालय लगायत भारतीय विश्वविद्यालयमा भर्ना भएका नेपाली विद्यार्थीको विद्यावारिधि प्रमाणपत्रमा नेपाली प्राध्यापकले हचुवाका भरमा हस्ताक्षर गरी उपयुक्त प्रमाणित गरेका छन् ।

विश्वविद्यालयका बहाल र अवकाशप्राप्त दुवै थरीका प्राध्यापकको मिलेमतोमा भारतीय विश्वविद्यालयका नेपाली विद्यार्थीले घरमै बसेर प्रमाणपत्र पाउन थालेको मानविकी संकायका सहायक डिन निर्मल कुमार शर्मा बताउँछन् ।

शर्माका अनुसार भारतीय विश्वविद्यालयका एजेन्टहरूले नेपाली विद्यार्थीलाई नेपालमै भर्ना गर्छन् । ‘त्यस्ता भारतीय विश्वविद्यालयले नेपाली प्राध्यापकहरूको सम्पर्क नम्बर विभागहरूबाट लिएर घरघरमै पुगेर गोप्य तरिकाले रकमको बार्गेनिङ गरी निर्देशन तोक्ने गर्छन्,’ शर्माले भने ।

नेपाली विद्यार्थीले आफू भर्ना भएको भारतीय विश्वविद्यालयको मुखै नदेखी घरमै बसी विद्यावारिधिको प्रमाणपत्र पाउने र यसलाई त्रिविले समकक्षता दिँदा सिंगो विश्वविद्यालय बदनाम भइरहेको शर्मा बताउँछन्।  

‘हाम्रा विश्वविद्यालयका बहालवाला प्राध्यापक रकम र बढुवाको नम्बर पाउने लोभमा फस्छन् भने अवकाश प्राप्त प्राध्यापक रकममा बिक्छन्,’ सहायक डिन शर्माले भने, ‘मेरो कार्यालयमा पाठ्यक्रम विकास केन्द्रले हालै समाजशास्त्र, अर्थशास्त्र, मनोविज्ञान, भूगोल, मानवशास्त्रलगायत स्नातकदेखि विद्यावारिधि समकक्षताका लागि छानबिन गर्न पठाइएका कागजातमा ३० विद्यार्थी शंकास्पद भेटिएको छ । ती कागजात पाठ्यक्रममै फिर्ता पठाउने निर्णय गरेको छु । पठाउनै बाँकी छ ।’

उनका अनुसार सन् २०१४ मा भर्ना भएर २०१५ मै विद्यावारिधि गरेको समेत कागजात छन् । ‘पाठ्यक्रम विकास केन्द्रले राम्ररी फाइनल नहेरी पठाउँदा हाम्रो टाउको दुखाइ भएको छ,’ उनले भने, ‘कतिपय विद्यार्थीको विद्यावारिधिको प्रमाणपत्रमा नाम गलत छ भने कतिपयले विश्वविद्यालयको नामै लेखेका छैनन् । कतिपयको विश्वविद्यालयमा विषय नै नभए पनि विद्यावारिधि गरिएको प्रमाणपत्रमा त्रिविका प्राध्यापकले हस्ताक्षर गरेका छन् ।’

मानविकी संकायको मात्र एक दर्जन बहालवाला प्राध्यापकको हस्ताक्षरसहितको प्रमाणपत्र फेला परेको उनले बताए ।

डिन सापकोटाका अनुसार नेपाली विद्यार्थीलाई ३ वर्षदेखि ८ वर्षभित्र थेसिस सक्नुपर्छ । ‘विद्यार्थीले अवार्ड पाए मात्र निर्देशनले रकम पाउने हो,’ उनले भने, ‘मास्टर डिग्री नै नभएको विश्वविद्यालयले हाम्रा विश्वविद्यालयको प्राध्यापकलाई प्रलोभनमा पारी गाइड नियुक्ति गरी विद्यार्थीलाई घरमै विद्यावारिधिको प्रमाणपत्र उपलब्ध गराउनु उच्च शिक्षामा ठूलो विकृति हो ।’

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गोपिन्द्र पौडेलले सिंघानिया विश्वविद्यालयमा खुला कार्यक्रम धेरै भएको र यसको प्रमाणपत्र गैरकानुनी रूपमा विद्यार्थीले प्राप्त गरिरहेको बताए ।

‘त्यसैले केन्द्रले यसलाई निरुत्साहित गर्न विद्यार्थीसँग कम्तीमा तीनपटक विश्वविद्यालयमा आतेजाते टिकट, भर्नाको शुल्क तिरेको रसिद, सम्बन्धित विश्वविद्यालयमा गएर गाइडलाई बुझाएको प्रगति विवरण र भाइवामा उपस्थित भएको प्रमाणित प्रमाणपत्र बुझाउनुपर्ने नियम बनाएको छ,’ पौडेलले भने ।

नेपाली प्राध्यापक गाइड तोकेको भए कम्तीमा प्रोफेसर वा डाक्टरी उपाधि हासिल गरेको हुनैपर्ने व्यवस्था पाठ्यक्रमले गरेको पौडेलको भनाइ छ । ‘नेपाली गाइडहरू जथाभावी गाइड बस्ने, सुविधा खाने तर विद्यार्थीलाई थेसिस गराइएको पाइएन । अब नेपाली गाइडले समेत डिन कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था केन्द्रले गरेको छ,’ उनले भने ।

पौडेलका अनुसार नेपाली विद्यार्थीले त्रिविबाट विद्यावारिधि गर्न चाहे डिन कार्यालयले माग गरेको प्रपोजल बुझाउनुपर्छ । विद्यार्थीले बुझाएको प्रपोजलमा विज्ञले छलफल गरी उपयुक्त ठहर भएमा विद्यार्थीले पहिलो स्वीकृति पाउँछ । त्यसपछि विद्यार्थीले लिटरेचर रिभ्यु बुझाउनुपर्छ । डिन कार्यालयले छानबिन गरी उपयुक्त ठहर भएमा विद्यार्थीले विद्यावारिधि गर्न स्थायी दर्ता पाउँछ । विश्वविद्यालयले विषय विज्ञलाई गाइड र को–गाइड नियुक्ति गरिदिन्छ । विद्यार्थीहरूले उनीहरूकै अधिनमा रहेर काम गर्नुपर्छ । अनि, हरेक वर्षको प्रगति रिपोर्ट डिन कार्यालयमा बुझाउनुपर्छ । तीन वर्षसम्म गाइडको निर्देशनमा काम गरी विद्यार्थीले पूरा गरेको शोधपत्र तयार भएपछि गाइडको हस्ताक्षरसहितको डिन कार्यालयमा बुझाउनुपर्छ । आन्तरिक मूल्यांकनपछि उपयुक्त ठहरेमा डिन कार्यालयले २ जना बाहिरी परीक्षक कहाँ शोधपत्र पठाउँछ । बाहिरी परीक्षकले स्वीकृत दिएपछि भाइवाको समय तोकिन्छ । भाइवामा बाहिर परीक्षक र अनुसन्धानसँग सम्बन्धित सबै सदस्य उपस्थितमा मात्र पूरा हुन्छ ।

‘तर सिंघानिया विश्वविद्यालयका विद्यार्थीले समकक्षताका लागि पेस गरेका शोधपत्रमा यस्तो प्रक्रिया पूरा गरेको पाइएको छैन,’ पौडेलले भने।

रुबी रौनियारले नागरिक दैनिकमा लेखेको खबर ।  

 

प्रतिक्रिया