Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

शिक्षकको रिले अनशन सुरु

सोमबार, १० असोज २०७३

काठमाडौं १० असोज / संस्थागत विद्यालय शिक्षक युनियन  (इस्टु) ले संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीको हितमा विभिन्न नीतिगत तथा पेसागत माग राखी तीन दिने रिले अनशन सुरु गरेको छ ।

माइतीघर मण्डलामा शनिबार सुरु भएको अनशन १० असोजसम्म हुने युनियनले बताएको छ । राष्ट्रिय निर्देशन ऐन, २०१८ अनुसार ०६० सालमा स्थापना भएको युनियनले देशभरका सम्पूर्ण संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको हक र अधिकारका लागि काम गर्दै आएको छ ।

१, २ र ३ असोजमा हेटौंडामा सम्पन्न  केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले निर्णय गरेअनुसार नीतिगत र पेसागत माग सम्बोधन तथा कार्यान्वयनार्थ अनशन थालिएको युनियनले जनाएको छ । संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा  कर्मचारीका न्यूनतम पेसागत माग पनि सरोकार पक्षले सम्बोधन नगरेकाले रिले अनशनमा बस्नुपरेको युनियनका केन्द्रीय अध्यक्ष मुकुन्द गौतमले बताए ।

‘देशभरका संस्थागत विद्यालयमा कार्यरत लगभग ९० प्रतिशत शिक्षक तथा कर्मचारीले नियुक्ति पत्रका साथै न्यूनतम सेवासुविधा पनि पाएका छैनन्,’ उनले  भने, ‘शिक्षा मन्त्रालय र लगानीकर्ता कसैले पनि विगतमा भएका सम्झौता कार्यान्वयनमा चासो देखाएका छैनन् ।’

अनशनमा केन्द्रीय अध्यक्षसहित पदाधिकारी र काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्लाका जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारी रहेका छन् । शिक्षा ऐन आठौं संशोधन हुनुपूर्व कम्पनी ऐनमा दर्ता भएका विद्यालयलाई शैक्षिक गुठीअन्तर्गत ल्याउनुपर्ने, शिक्षा ऐन नियमावलीमा कर्मचारीको परिभाषाभित्र संस्थागत विद्यालयका कर्मचारीलाई पनि समेट्नुपर्ने तथा सम्पूर्ण सरकारी सेवासुविधा प्रदान गर्नुपर्ने माग राखिएको छ ।

राजधानीमा प्रकाशित खबर ।
 

 

प्रतिक्रिया