Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

रेड स्टिकर उप्काउँदै विद्यालय पठनपाठनमा

आइतबार, ०९ असोज २०७३
काठमाडौं ९ असोज / गत वर्षको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका सार्वजनिक विद्यालयहरूले भवन टाँसिएको ‘रेड स्टिकर’ हटाएर पठनपाठन गर्न थालेका छन् । भत्केका ती भवनको लामो समयसम्म मर्मत तथा पुनःनिर्माण प्रक्रिया अघि बढ्न नसक्दा विद्यालयलले भवनमा टाँसेको रेड स्टिकर हटाएर पठनपाठन अघि बढाएका हुन् । राजधानीको कीर्तिपुर माध्यमिक विद्यालयले कक्षा ९ र १० को पठनपाठन गर्न लामो समयसम्म कक्षाकोठा अभाव भएपछि हालै मात्र विद्यालयको भवनमा प्राविधिकले टाँसेको रेड स्टिकर हटाएर पटनपाठन गर्न थालेको छ । डेढ वर्षको अवधिमा नयाँ भवनको निर्माणका साथै रेट्रोफिटिङ हुने छाँटकाट नदेखिएपछि त्यसै भवनमा पठनपाठन गर्न थालिएको हो । विद्यालयका प्रधानअध्यापक बद्रीप्रसाद दाहालले विद्यालयमा बनाइएको अस्थायी संरचनाले लामो समयसम्म पठनपाठन गर्न नसकिएपछि आफूहरूले रेड स्किटर उक्काएर त्यही भवनमा पढाउन थालेको जानकारी दिनुभयो । आफ्ना दुई वटा भवनमध्ये जिल्ला शिक्षा कार्यालयका इन्जिनियरले एउटालाई रातो र अर्कोलाई रेट्रोफिटिङ गर्ने गरी सिफारिस गरेको तर त्यसयता कुनै खालको प्रगति नभएको उहाँले बताउनुभयो । यसबारे धेरै विद्यार्थी बेखबर रहेको र थाहा पाएका केही विद्यार्थीले पनि वास्ता गर्न छाड्दा ती भवनमा पढाइ सञ्चालन गर्न सहज भएको उहाँको भनाइ छ । विद्यालयका शिक्षकले सुरक्षित हिसाबले पढाएपछि विद्यार्थीले सहजता महसुस गरेको उहाँको भनाइ छ । उक्त विद्यालयको भवनको भित्री संरचना ध्वस्त छ । तर, बाहिरी भागमा खासै क्षति नभएको जस्तो देखिएका कारण आफूहरूले रेड स्टिकरभित्र सुरक्षित महसुस गरी पढाउन बाध्य भएको उहाँको भनाइ छ । सरकारी विद्यालयसँग सरकारी स्रोत बाहेक अन्य कुनै आधार नभएको उहाँले बताउनुभयो । मङ्गलोदय माध्यमिक विद्यालय थानकोटका प्रधानअध्यापक लीलानाथ शर्मा भूकम्पले भवनको छत चिरिएर रेट्रोफिटिङ गर्नुपर्ने भए पनि सो कार्य पूरा हुन नसकेको बताउनुहुन्छ । छतबाट पानी चुहिने समस्या भए पनि ती भवनमा विद्यार्थीलाई राख्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । जिल्ला जिल्ला शिक्षा कार्यालयले त्यसका लागि दुई लाख पचास हजार निकासा गरे पनि निर्माण कार्य पूरा हुन नसकेको उहाँले जानकारी दिनुभयो । भूकम्पले शैक्षिक क्षेत्रमा ठूलो क्षति पु¥याए पनि त्यसको तुलनामा पुनःनिर्माण कार्य प्रभावकारी हुन नसकेको उहाँको गुनासो छ । बालकुमारी माध्यमिक विद्यालय भत्केपाटीका प्रधानअध्यापक श्रीकुमार रायमाझीले विद्यालयहरूमा यस खालको दयनीय अवस्थामा तत्काल सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याउनुहुन्छ । विद्यालयको निर्माण तथा पुनःनिर्माण कार्यलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै उहाँले विद्यालयमा विद्यार्थी अझै भयरहित वातावरणमा पढ्ने स्थिति बन्न नसकेको बताउनुभयो । अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारी विद्यार्थीको भविष्यसँग गाँसिएको विषयलाई सरकारले गम्भीरतापूवर्क लिएर मर्मत तथा पुनःनिर्माण कार्यलाई प्रभावकारी ढङ्गबाट अघि बढाइनुपर्ने बताउनुभयो । विद्यालयले जोखिमपूर्ण भवनमा विद्यार्थीको पठनपाठन गराउन नहुने उल्लेख गर्दै उहाँले कुनै पनि शर्तमा जोखिमसँग सम्झौता गर्नु हुँदैन भन्नुभयो । त्यस्ता विद्यालयलाई अस्थायी संरचना बनाउन सरकारले पैसा दिनुपर्ने तर जोखिम उठाउने गरी पठनपाठन गराउन हुने उहाँको भनाइ छ । भवन पूरै असुरक्षित रहेको अवस्थामा विद्यालयलाई बरु नजिकको विद्यालयमा मर्ज गर्नुपर्ने तर असुरक्षित भवनमा पढाउन नहुनेमा उहाँको जोड छ । सरकारले हाल विद्यार्थी कस्तो अवस्थामा अध्ययन गरिरहेका छन् भनेर अनुगमन गर्नुपर्ने उहाँको भनाइ छ । विनाशकारी भूकम्पपछि सरकारले विद्यालय भवनको अवस्था के छ भन्नेबारे सबै विद्यालयमा प्राविधिक पु¥याएर अनुगमन गराएको थियो । त्यसक्रममा झन्डै चार महिनाको अवधि लगाएर जिल्ल्ला शिक्षा कार्यालय र शिक्षा विभागका प्राविधिकले विद्यालयका भवनलाई असुरक्षित, आंशिक क्षति र सुरक्षित भन्ने स्टिकर टाँसेका थिए । विनाशकारी भूकम्पका कारण २५ हजार १३४ कक्षा कोठा पूर्णत र २२ हजार कक्षा कोठामा आंशिक क्षति पुगेको थियो । सातहजार तीन सय विद्यालय क्षतिग्रस्त भएका थिए । शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले रेड स्टिकर टाँसिएका भवनमा विद्यालयले पठनपाठन गर्न पाउँदैनन भन्नुभयो । विनाशकारी भूकम्पले क्षति पु¥याएका भवनको पुनःनिर्माणका लागि झन्डै तीन वर्ष लाग्ने प्रारम्भिक अनुमान विभागका अधिकारीहरूले गरेका छन् । त्यसका लागि दू्रत गतिमा काम भइरहेको जानकारी विभागका महानिर्देशक पौडेलले दिनुभयो । शेषकान्त पण्डितले गोरखापत्रमा लेखेको खबर ।

प्रतिक्रिया