Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

कृषि विश्वविद्यालयले पढाइ रोक्यो

शनिबार, ०८ असोज २०७३

काठमाडौं ८ असोज / रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय शुक्रबारबाट अनिश्चितकालका लागि बन्द गरिएको छ । क्याम्पसमा अराजकता मौलाएको भन्दै विश्वविद्यालय प्रशासनले सूचना टाँसेरै बन्द घोषणा गरेको हो ।

त्यसअघि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा क्याम्पसको होस्टल खाली गराइएको थियो । विश्वविद्यालयमा आफ्ना स्वार्थ पूरा गराउन विभिन्न विद्यार्थी संगठन, करार कर्मचारी, प्राध्यापकलगायतले ताला लगाई पठनपाठन अवरुद्ध पार्दै आएका थिए । ‘झैझगडा भएर बढी क्षति नहोस् भनी बन्द गरेका हौं,’ कृषि संकायका डिन जयप्रकाश दत्तले भने, ‘चाँडै सरोकारवाला निकायसँग छलफल गरेर विश्वविद्यालय खोल्नेछौं ।’ क्याम्पस प्रशासनले माग पूरा नगरेको भन्दै बुधबार ४ विद्यार्थी संगठनले कृषि संकाय, पशु विज्ञान, पशुचिकित्सा, मस्त्य विज्ञान संकायको डिन कार्यालय, ल्याब र विश्वविद्यालयको नवनिर्मित भवन तोडफोड गरेका थिए । सबै भवनका सिसा फुटेका छन् ।

एक महिनायता क्याम्पसमा पढाइ हुन सकेको थिएन । विश्वविद्यालय केन्द्रीय कार्यालयको मुख्य ढोकामा ३ वटा ताला लगाइएको छ । यसले परीक्षासमेत प्रभावित हुन पुगेको थियो ।

डिन दत्तका अनुसार बन्दकै कारण कृषि संकाय स्नातक तहको (बीएसी एजी) तेस्रो सेमेस्टर, पाँचौं सेमेस्टर, एमएस्सी एजीको थेसिस डिफेन्स, भेटनरीको तेस्रो सेमेस्टर, पाँचौं सेमेस्टर र एमभीएसजीको थेसिस पूरा हुन सकेन । ‘भदौ २८ गते हुने भनेको परीक्षा बन्दले गर्दा हुन सकेन,’ उनले भने, ‘पटकपटक तालाबन्दीले परीक्षा प्रभावित हुँदै आएको छ ।’ अन्य संकायको परीक्षा पनि नजिकै आइसकेको छ । यही बेला विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गराउँदा समस्या भएको विद्यार्थीले बताए । पछिल्लो समय विद्यार्थी संगठनले भ्रमण भत्ता वृद्धि गर्नुपर्ने माग गर्दै ताला लगाएका हुन् । ४ विद्यार्थी संगठनले भत्ता १ सय रुपैयाँबाट बढाएर ४ सय रुपैयाँ बनाउनुपर्ने माग राखेका छन् ।

उपकुलपति डा. ईश्वरीप्रसाद ढकालले भने, ‘मागपत्रले ढोका भरिएको छ, ठेकदारले हस्तान्तरण गरिनसकेको भवनमै तालाको चाङ छ, जथाभावी तोडफोड गरिएको छ ।’ वातावरण सहज बनाउन केही दिन पठनपाठन बन्द गराउनुपरेको विश्वविद्यालयले जनाएको छ । ‘सबै पक्षसँग छलफल गरेर चाँडै पढाइ सुचारु गर्छौं,’ डिन दत्तले भने ।

विमल खतिवडाले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया