भक्तपुर– अर्घाखाँचीका निराजन रसाली मंगलबार सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डको परिसरमा अढाई घण्टा घाममा टट्टिए । एकहातमा पूनर्योगका लागि चाहिने कागत बोकेर करिब ५० जनापछि र ७५ जनाको अघि उभिएका रसाली अनुहारमा पर्ने घाम छेक्ने उपाय खोज्दै कहिले कागतले नै हम्कन्थे त कहिले त्यही कागतले घाम छेक्थे ।
उनीजस्तै लाइनमा उभिएकाहरुमध्ये कोहीको छाता थियो भने कोहीको थिएन ।
अर्घाखाँचीकै हरिहर संस्कृत तथा साधारण उमाविबाट कक्षा १२ को परीक्षा दिएका उनी गत भदौ २७ गते परीक्षा बोर्डले सार्वजनिक गरेको आफ्नो नतिजाप्रति असन्तुष्ट थिए । त्यही असन्तुष्टीलाई पूनर्योगबाट सन्तुष्टीमा बदल्ने चाहनाका साथ उनी भदौरे घाममा टट्टिन तयार भएको बताए ।
शिक्षा संकाय अध्ययन गरेर सजिलै र राम्रो अंकका साथ कक्षा ११ उत्तीर्ण गरेका उनको कक्षा १२ को परीक्षाफलमा भने गडबडी भएको उनलाई लागेको छ । आफूले लिएको अर्थशास्त्रबाहेक अरु सबै विषयमा ६० भन्दा बढी अंक थियो । इण्टरनेटबाट डाउनलोड गरेको मार्कसिट देखाउँदै उनले भने, ‘इकोनोमिक्समा झन् राम्रो अंक आउनुपर्ने थियो, यसैमा नम्बर पुगेनछ ।’
उनले कक्षा १२ को मार्कसिटमा उल्लेखित अर्थशास्त्रको प्राप्ताङ जम्मा २१ थियो । त्यही अंकबाट असन्तुष्ट उनी पूनर्योग गराउन आएको बताए ।
उनीमात्र नभएर अहिले राष्ट्रिय परीक्षा बोर्ड परिसरमा पूनर्योग गराउने संयौ विद्यार्थीको ताँती फेला पछ ।
लाइनमा उभिएका विद्यार्थीले परीक्षा बोर्डकै कमजोरीको कारण आफूहरुले बिनाकारण सजायँ पाएको बताएका छन् । ‘आफूलाई त म फेल हुन्छु भन्ने नै लाग्दैन ।’ लाइनमा उभिएका काभ्रेको हिमालय उमाविका विद्यार्थी मिना खड्काले निश्चिन्त भएर भनिन्, ‘कक्षा ११ मा पनि रिटोटलिङ गरेपछि पास भएको थिएँ ।’ उनले परीक्षाफल निकाल्ने क्रममा कर्मचारीहरुबाट हुने त्रुटिका सिकारमा आफूहरु पर्ने गरेको अनुभव सुनाइन् । ‘कक्षा ११ मा पनि लाइनमा उभिएको थिएँ, अहिले पनि उभिँदैछु ।’
परीक्षामा विभिन्न कारणले गल्ती हुने गर्दछन्, जसका कारण विद्यार्थीले आत्महत्यासम्म गर्ने गरेका छन् । जाँचको कपि परीक्षण महत्वपूर्ण भएर पनि सो विषयमा कपी परीक्षक, सम्परीक्षक र टाइपिष्टबाट हुने गल्तीको मारमा विद्यार्थी परिरहेको राष्ट्रिय परीक्षा बोर्डको योजना महाशाखाका प्रमुख वीजेन्द्रकुमार राईले बताए ।
निमित्त परीक्षा नियन्त्रक सन्तोष अर्याल भने पूनर्योगका लागि आउने विद्यार्थीको लाइनलाई स्वभाविक भएको बताउँछन् ।
उनले परीक्षा बोर्डले पूनर्योगका लागि आवेदन दिएका परीक्षार्थीले आफूले लेखेको कापीको फोटोकपि पनि हेर्ने सुविधा भएपछि पूनर्योग गराउनेको संख्या बढेको बताए ।
‘लाइन देखेर अत्तालिनु पर्दैन, यसलाई स्वभाविक मान्नुपर्छ, परीक्षामा चित्त नबुझेकाहरुले पूनर्योग गर्न पाउँछन् ।’ उनले भने ।
प्रतिक्रिया