भक्तपुर – यो तस्वीरले के देखाउँछ ? इन्द्रेणी चर्च कि ज्ञान बरदान स्कुल ?
चाँगुनारायण नगरपालिका वडा नं. १६ दुवाकोटको सरस्वती खेलस्थित बसपार्कसँगै रहेको छ यो विद्यालय (?) चर्च (?)
विद्यालयलाई धर्म प्रचारको साधान बनाईएको स्थानीयको आरोप छ । धर्म प्रचारकै लागि लामो समयदेखि उक्त ठाउँमा रहेको चर्चले आफूले ओगटेको ठाउँमा विद्यालय सञ्चालन गरेको उनीहरु बताउँछन् । ‘यहाँ पढाइ पनि हुन्छ, प्रार्थना पनि हुन्छ,’ एक स्थानीयले भने, ‘पहिला चर्च मात्र चलाइरहेका थिए अहिले स्कुलै चलाउन थाले ।’
सोही चर्चमा नियमित संगती गर्न जाने एक महिलाले चर्चले नै विद्यालय चलाएको जानकारी दिइन् । आफ्नो नाम नबताउने सर्तमा उनले चर्चले दुईवर्ष अघिबाट विद्यालय सञ्चालन गरेको बताइन् ।
विद्यालय चर्चले नै चलाएको भए पनि बाहिर देखाउँदा भने सञ्चालकहरु अरुनै रहेको देखाउने उनले बताईन् । उक्त विद्यालयमा अहिले सोही चर्चमा संगती गर्न आउने अभिभावकका सन्तानहरु पढिरहेका छन् ।
विद्यालयमै दैनिक रुपमा धर्मका बारेमा चर्चा तथा प्रचार हुने गरेको छ । विभिन्न देश र ठाउँका व्यक्तिहरु चर्च खोज्दै आउने र सहयोगको नाममा विद्यार्थीलाई क्रिश्चियन धर्म सम्बन्धी सामग्री दिने गरेका छन् ।
शिक्षा सम्बद्ध निकायमा उक्त विद्यालयका बारेमा कुनै अभिलेख नहुनुले पनि उक्त चर्चले विद्यालयको नाममा धर्म प्रचार गरेको पुष्टि गरेको छ ।
दुई वर्षदेखि सञ्चालनमा रहेको विद्यालयका बारेमा शिक्षा मात्रै हैन स्थानीय प्रशासनका निकाय पनि बेखबर छन् । विद्यालयका बारेमा थाह पाएपछि फोटो खिचेर एडुखबर सम्बाददाता सम्बन्धित निकायमा पुग्दा वडा कार्यालयदेखि शिक्षाका अधिकारीहरु समेत फोटो हेर्दै एकमुखले उल्टै प्रश्न गर्छन्, ‘हैन, यो स्कुल कुन ठाउँमा छ ?’
यो प्रश्नको जवाफका लागि जिल्ला शिक्षा कार्यालयको विद्यालय प्रशासनका अधिकारीले सम्बन्धित स्रोतकेन्द्रका स्रोतव्यक्ति, विद्यालय निरीक्षकलाई सोध्छन्, स्रोतव्यक्तिले सम्बन्धित वडाका वडा सचिवसँग प्रश्न गर्छन् तर जवाफ एउटै आउँछ, ‘त्यो स्कुलको कुनै पनि रेकर्ड हामीकहाँ छैन ।’
चाँगुनारायण उमावि स्रोत केन्द्रका स्रोत व्यक्ति यौवनकुमार राना, विद्यालय निरीक्षक मोहन पौडेल र शिक्षा कार्यालयको विद्यालय प्रशासनका सहायक फणिन्द्र देवकोटाको एउटै भनाइ छ, ‘त्यो नाम गरेको स्कुल हाम्रो कुनै पनि रेकर्डमा भेटिएन ।’
विद्यालयका प्रिन्सिपल महेश पराजुलीले भने उक्त स्कूल आफूले सञ्चालनमा ल्याएको दुई वर्ष भइसकेको जनाएका छन् । ‘दुई वर्षअघि नै वडा कार्यालयमा गएर स्कुल दर्ता गरेर चलाएको हो’, प्रिन्सिपल पराजुलीले भने ।
पराजुलीले उक्त दाबी गरे पनि उक्त स्कुल रहेको वडाका सचिव पे्रम तुल्सी सो बारेमा अनविज्ञ छन् । ‘त्यो नाम गरेको स्कुल हामीकहाँ दर्ता छैन, दर्ता प्रक्रियामा पनि आएको छैन ।’ उनले भने ।
तर, पराजुलीले आफ्नो स्कुलले प्लेगु्रपदेखि कक्षा ५ सम्म पढाउनका लागि विज्ञापन गरेको हाक्का हाक्कि बताउँछन् ।
जबकी प्रारम्भिक बाल कक्षा सञ्चालनका लागि पनि वडाको सिफारिसमा नगरपालिका वा गाउँ विकास समितिबाट स्विकृति लिनु पर्ने ब्यवस्था छ । त्यो भन्दा माथिका कक्षा सञ्चालनका लागि त जिल्ला शिक्षा कार्यालयकै स्वकृति आवश्यक छ । तर उक्त विद्यालयले मन्टेसरी कक्षा भन्दै युकेजीसम्मको कक्षा सञ्चालन गरिरहेको र कक्षा पाँचसम्मका विद्यार्थी भर्ना गरेर नजिकैको विद्यालयमा पठाउने गरेको स्थानीयले बताए । कक्षा एकदेखि ५ कक्षा सम्म भर्ना हुन आएका विद्यार्थीलाई नजिकै रहेको हिमचुली स्कुलमा पठाएर चर्चले विद्यालय सञ्चालन गरिरहेको उनको भनाई छ ।
विद्यालयका प्रिन्सिपल महेश पराजुली तथा संस्थापक प्रिन्सिपल डब्ल्यु जिम्बो भने चर्चले स्कुल चलाएको नभई चर्चको खाली ठाउँमा आफूहरुले स्कूल चलाएको दावी गर्छन् ।
प्रतिक्रिया