Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

अंग्रेजी नजान्दा विद्यार्थी फर्किए काठमाडौँबाट

आइतबार, ०२ असोज २०७३

काठमाडौं २ असोज / अंग्रेजी बिषय कमजोर हुँदा मुसहर विधार्थी गुणस्तरीय उच्च शिक्षाको अवसर बाट बञ्चित भएका छन् । रौतहटको लक्ष्मीपुर दोस्तिया ५ का १७ बर्षिय प्रदीप माझी मुसहर अंग्रेजी नजानेका कारण काठमाडौँबाट पढाइ छोडेर घर फर्किएका छन् ।

काठमाडौँ स्थित फ्लोरिडा कलेजले उनलाई निशुल्क पढ्ने व्यवस्था गरेको भएपनि एक महिनामै उनी पढाइ छाडेर घर फर्किएका हुन्  । गत बर्षको एसएलसीमा सी प्लस ल्याएर पास भएका प्रदीपको ‘अकाउन्ट’ पढ्ने इच्छाले थियो । उनको इच्छा अनुसार राष्ट्रिय मुसहर उत्थान समाज रौतहटको पहलमा उनी फ्लोरिडा कलेजमा भर्ना भएका थिए । काठमाडौँमा बस्न र खानको व्यवस्था समाजले नै गरेको थियो ।

रौतहट र जनकपुर बाट एक÷एक जनालाई निशुल्क पढाइदिने कलेजले व्यवस्था गरेको थियो । जनकपुरबाट एक जना पनि मुसहर विधार्थी  गएनन् । रौतहट बाट गएका प्रदीप पनि अंग्रेजीदेखि डराएर फर्किएका हुन् ।

प्रदीप अहिले जिल्ला चन्द्रनिगापुर स्थित जनज्योती उमाविमा कक्षा ११ मा पढ्दै छन् । गाउँ नजिकै रहेको कनकपुर माविबाट एसएलसी पास गरेका प्रदीपलाई अग्रेजी नजानेकोमा पछुतो छ । ‘पूरै अंग्रेजी माध्यम बाट पढाइ हुने रहेछ, अलिअलि पनि बुझिएन त्यसैले फर्किएँ,’ प्रदीपले भने ।

रौतहटमा सरकारी विद्यालयमा प्राथमिक तह पास गर्दासम्म अधिकांश विधार्थीले अग्रेजी अक्षर चिन्दैनन्  उनीहरुलाई नेपाली अक्षर समेत पढ्न आउदैन । निमावि तहमा पढ्दै गरेका करिब ३० प्रतिशत विद्यार्थीलाई अक्षर चिन्न समस्या छ ।

जिल्लामा जम्मा ५२ जना मुसहरले एसएलसी पास गरेका छन् । गत बर्ष १३ जनाले एसएलसी पास गरेका  भएपनि ५ जनाले मात्रै पढाइलाई निरन्तरता दिएका छन् । जिल्लाका चार जना मुसहरले मात्रै स्नातक गरेका छन् । दुईजना मुसहर महिलाले एसएलसी गरेका छन् ।

विद्यालय तहमा गुणस्तरीय शिक्षा नपाउदा उच्च शिक्षाका लागि आफ्नो क्षमताले नभ्याउने भन्दै उनीहरुले पढाइलाई अगाडी बढाउन सकेका छैनन् ।

जिल्लाका ६५  मुसहर बस्तीमा  ३० हजार बढी जनसंख्या रहेको भएपनि धेरै बालबालिकाहरु विद्यालय बाहिर छन् ।  राष्ट्रिय मुसहर उत्थान समाज शिक्षाको सुधारका लागि सक्रिय भए पनि उपलब्धि देखिदैन ।

फणि महतले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।

प्रतिक्रिया