शिक्षा र राजनीतिसंगै जोडेर बोले वा लेखे मन पराउनेहरु धेरै छन् । थोरैले मन पराउँदैनन् शिक्षामा राजनीति बढी भयो । त्यसो नभएको भए राम्रो हुन्थ्यो । यो सुधार्नु पर्छ । शिक्षा विग्रेको राजनीतिले नै हो भनेर ठोकुवा गर्नेहरु पनि नभएका होइनन् । शिक्षाबाट राजनीति अलग गर्ने हो भने नमूना हुन्छ हाम्रो शिक्षा । यस प्रकारका टिप्पणी, बहस र चर्चा प्रत्येक दिन सुन्न र देख्न पाइन्छ । धेरैलाई भ्रम पनि छ शिक्षासंग राजनीतिक कुरा गर्नेहरुसंग । तर, वास्तविकता चाहीं के हो त ? शिक्षा र राजनीति जोडेर बोल्न लेख्न नै नहुने हो त ? यी दुईको सम्बन्ध कस्तो हुनुपर्ने हो ? यसबारे विश्लेषण भने जरुरी छ । यो लेखमा यसै सेरोफेरोमा शिक्षासंग राजनीति गाँसेर केही चर्चा उठाउने प्रयत्न गरिएको छ ।
राजनीति आफैंमा गहिरो शब्द हो । नीतिहरु मध्येको श्रेष्ठतम् नीति राजनीति हो । राजनीति विधिसंग जोडिएको छ । यो त देशको शासन प्रणाालीसंग गाँसिएको छ । त्यसैले त राजनीति दर्शनबाट निर्देशित छ । राजनीतिसंग आस्था र विचारसंगै दृष्टिकोण जोडिएको हुन्छ । अर्कोतर्फ राजनीतिबाट दर्शन, विचार आस्था वा दृष्टिकोणलाई अलग गर्ने हो भने त्यो राजनीति हुनै सक्दैन । त्यसैले सिंगो राष्ट्रलाई अग्रगति प्रदान गर्ने मुलुक हाँक्ने भनेको राजनीतिले हो । कुनै पनि राष्ट्रको मस्तिष्क नै राजनीति हो । मस्तिष्क कमजोर हुनु भनेको व्यक्ति पालगपन तर्फ उन्मुख हुनु हो । राजनीति कमजोर भएमा, स्पष्ट चीत्र नभएको अपाड्ढ अवस्थामा रहेको अपूर्ण सोच, चिन्तन वा विचार नै गलत राजनीति हो । भ्रम हो जसले राष्ट्रलाई अधोगति तर्फ धकेलिदिन्छ ।
राजनीति जटिल विषय हो । विभिन्न विद्वानका भनाइ स्मरण गर्नु सान्दर्भिक हुन्छ तर यहाँ ती शब्दहरु उल्लेख गरि रहनुले अनावश्यक पट्यार बढ्न सक्छ । सतहमा कुनै कुरा देख्नु र बुझ्नु अनि त्यही कुरा गहिराईमा वा सम्मैमा पुग्दा पाइने अन्तर हामी हाम्रो राजनीतिबाट बुझ्न सक्छौं । राजनीति उत्तम नीति हो । यसमा कुनै शंका छैन । राजनीति आकाश हो भने आकाशका असंख्य ताराहरुलाई राजनीति भित्रका अनेकन विषयबस्तुसंग तुलना गर्न सकिन्छ ।
राजनीतिबाट शिक्षा अलग गर्नै सकिन्न । शिक्षा राजनीतिको अनेकौं विषयमध्ये एक विषय हो । तसर्थ राजनीति भित्र शिक्षा अटाएको छ । हामीले बुझ्ने यसरी हो । यदी शिक्षामा राजनीति अटाउन खोज्यौं भने घ्याम्पोको पानी लोटामा अटाउन खोजेजस्तो हुन्छ । जुन छताछुल्ला भै पोखिन्छ । हाम्रो सन्दर्भमा यसो भएको हुनसक्छ । हामीले राजनीतिको मर्म बुझेनौं वा बुझेर पनि हेप्न लाग्यौं । लोटाबाट खन्याउनु पर्नेमा घ्याम्पोबाट लोटामा सार्न खोज्दाको परिणाम हामी भोगिरहेका छौं । शिक्षा राजनीतिको अभिन्न विषय बन्नुपर्छ । समयानुकुल र राष्ट्र तथा जनताको आवश्यकता अनि माग बमोजिमको शिक्षालाई राजनीतिले बोक्नुपर्छ ।
म्याद गुज्रिएको औषधि जस्तो सोह्रौं शताब्दीको शिक्षा बोकेर राजनीति सफल हुँदैन । अनि राष्ट्र क्रमशः असफलता तर्फ जान्छ । सबैखाले विचार भित्र शिक्षा बहसको विषय बन्नुपर्छ । राजनीतिमा शिक्षामा विश्लेषण गर्नुपर्छ । आवश्यकता, माग र वर्तमान युगको विकसित प्रविधिसंगै शिक्षालाई हेर्ने, बुझ्ने र सोअनुरुपको नीतिलाई राजनीतिमा समावेश गर्नैपर्छ तबमात्र शिक्षा सही बन्न सक्छ साथै राजनीति पनि प्रष्ट र तिखारिने अवसर पाउँछ ।
भनाइ र तर्कहरु अनगिन्ती श्रृंखला सरह सुन्नमा आएका छन् । शिक्षा र राजनीति एकअर्काका पुरक हुन् । विना शिक्षाको राजनीति पूर्ण हुनै सक्दैन भन्ने भनाई राख्नेहरु पनि नभएका होइनन् । ती भनाइमा आफ्नै खाले तर्कहरु पनि देखिन्छन् । यी विषय बहस, चर्चा र विश्लेषण हुनै पर्ने घेरामा प्रारम्भदेखि नै पर्दछन् । त्यसो त एउटा मान्छेले मान्छेको पूर्णता प्राप्त गर्न कति कुराहरुको जरुरी पर्छ, त्यो हामी आँकलन गर्न सक्छौं । त्यस्तै राजनीतिले पूर्ण प्राप्त गर्न आवश्यक त्यसका अवयव मध्ये महतवपूर्ण र शिर्षस्थानमा पर्न सक्छ–शिक्षा । सही शिक्षाले नै राजनीतिको सफलता निर्धारण गर्दछ । गलत शिक्षा राजनीतिको असफल संकेत हो ।
हाम्रो मुलुकको सन्दर्भमा नजिकबाट मूल्याड्ढन गर्न सकिन्छ । हाम्रै शिक्षा सधैं अन्यौलमा नै हिडिरह्यो, भौतारिरह्यो । कहिले अरुको देखासिकी र कहिले अरुको भनाईमा चलिरह्यो भने कतिपयले आफ्नो स्वार्थ अनुरुप शिक्षालाई प्रयोग गरे । हाम्रो शैक्षिक अवस्था सधैं रुग्ण र आलोच्य बनेको मुख्य कारण पनि यही हो । हाम्रो शिक्षा नीति राजनीतिमा अटाएन । राजनीतिको विषय नेपालको शिक्षा भएन । शिक्षा नीति त जनताको भोटको विषय बन्यो । चन्दा र अन्य आर्थिक कारोवारहरुको विषय बन्यो । व्यक्तिको व्यवहार परिवर्तन तथा राष्ट्रिय स्वार्थ अनुकुलको विषय शिक्षा बनिनुपर्छ–राजनीतिमा । राजनीतिमा शिक्षाले अनि कार्य र सहज स्थान पाउनुपर्छ । यसको अर्थ शिक्षक र विद्यार्थीले राजनीतिको दुरुपयोग गर्ने भनेको होइन । अनि राजनीतिक दलहरुले शिक्षक र विद्यार्थीमार्फत् राजनीति गर्ने पनि होइन ।
निश्चय नै, शिक्षक, विद्यार्थी तथा अन्य पेशागत क्षेत्रबाट राजनीतिक क्रियाकलाप संचालन भएमा राजनीतिक काम नै गर्ने अभिप्रायका सम्बन्धित दलहरुका जिम्मेवार कमिटीका जिम्मेवार व्यक्तिले के गर्ने ? प्रश्न उठ्न सक्छ । यसरी शिक्षा र राजनीतिमा व्यक्ति व्यक्तिमा बहस र चर्चा गरिनुपर्छ । तब मात्रै राजनीतिमा चेतनाको स्तर देख्न सक्छ । अनि व्यक्तिले राजनीतिलाई दर्शनसंग जोडेर बुझ्ने दृष्टिकोणको विकास गर्न सकछ ।
वर्तमान नेपालको राजनीति र शिक्षा
राजनीति र शिक्षालाई हेर्ने बुझ्ने दृष्टिकोणमा ठोस र सत्य आधार पाइँदैन । राजनीति र शिक्षालाई सही अर्थमा बुझ्ने व्यक्ति अत्यन्त कम छन् र बुझेकाले पनि सतहबाट मात्र व्याख्या गरेको पाइन्छ । अल्मल्याउन खोजेस्तो मात्र देखिन्छ । राजनीति स्वभाविकरुपमा निश्चित दर्शनबाट निर्देशित हुनछ । भौतिकवादी दर्शन वा आध्यात्मवादी दर्शनले निर्देशित गरेका विचार र तर्कका पछाडिका विषय नै राजनीतिका विषय हुन् ।
शिक्षालाई राजनीतिको एउटा पक्षको रुपमा हेरिनु पर्नेमा शिक्षाभित्र राजनीतिक चलखेल नै अभिष्ट ठानिरहेका छन्–हाम्रा राजनीतिकर्मीहरु । राजनीतिक दर्शन अनुरुपको व्यवहार छैन–हाम्रा राजनीतिकर्मीहरु । राजनीतिमा त्यसैले त अन्यौल छ, पहिचानमा समस्या बनेको छ । काल्पनिक चित्रमा वास्तविकता खोज्नु मुर्खता बढिरहेको छ । आफ्नोपन अर्थात् मौलिकता र स्वभाव अनुरुपको राजनीति नहुनुले राजनीतिक दलहरुको परिचय अप्ठ्यारोमा परिरहेको छ ।
प्रजातन्त्रको गफ बढि व्यवहारमा फितलो र कमजोर बनिरहेको छ । अनि प्रजातन्त्रवादी भनिने राजनीतिक दलहरुको दशा दिन प्रतिदिन बिग्रदै गएको छ र अर्कै कुरुप बस्तु पो बन्ने स्थिति छ । त्यस्तै कम्युनिष्ट दर्शन अर्थात् माक्र्सवादी निर्देशनलाई मार्गदर्शक विचार बोक्ने भन्नेहरु आवरणमा नै रुमल्लिरहेको स्थिति छ । नाम एउटा र व्यवहार तथा स्वरुप अर्को हुनाले थप समस्या बनिरहेको छ । विचारमा स्पष्टता र व्यवहारमा कठोरता नहुने हो भने राजनीतिको सही अर्थ र पहिचान रहँदैन त्यो त मात्र रंग दलेको पशुजस्तो हुनेछ ।
त्यस्तै शिक्षाको गलत प्रयोग र व्याख्या भयो । शिक्षाले राम्रो संग राजनीतिमा स्थान पाएन । यो नै वर्तमान नोपलको राजनीति हो –ठूलो बन्न आतुर नयाँ दर्शन बनेको छ । असल बन्नुपर्ने वैज्ञानिक दर्शन छायाँमा परेको छ ।
अस्तु :
(लामिछाने बंशगोपाल उच्च माध्यमिक विद्यालय, चौघडा, मकवानपुरका प्राचार्य हुन् ।)
प्रतिक्रिया