Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

मकवानपुर साक्षर जिल्ला घोषणा

विहीबार, ३० भदौ २०७३

मकवानपुर - चालु आर्थिक बर्षमा मकवानपुर जिल्ला पहिलो साक्षर जिल्ला घोषणा भएको छ । बिहीबार एक कार्यक्रमका विच मकवानपुरलाई ३० औं साक्षर जिल्लाका रुपमा शिक्षा मन्त्री धनीराम पौडेलले घोषणा गरे ।

१५ देखि ६० वर्ष उमेर समुहका कूल जनसंख्याको ९५ प्रतिशत भन्दा माथि साक्षर भएमा घोषणा गर्न सकिने यूनेस्कोको प्रावधान अनुसार मकवानपुरलाई साक्षर घोषणा गरिएको हो । मकवानपुरमा ९८ दशमलव ९७ प्रतिशत साक्षर भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

साक्षर घोषणा गर्न आयोजित समारोह अघि विभिन्न झाँकीले नगर परिक्रमा गरेको थियो । साक्षर घोषणा समारोहमा बोल्दै शिक्षा मन्त्री पौडेलले साक्षरता जीवन उपयोगी हुनु पर्ने बताए । सीप र क्षमतासंग साक्षरतालाई जोड्न आवश्यक रहेको बताउँदै उनले शिक्षा ऐन आएको सन्दर्भमा मन्त्रालय नियमावली निर्माणको काममा सकृय रहेको बताए ।

कार्यक्रममा शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले पनि साक्षरता र शिक्षाका बारेमा बोलेका थिए ।

साक्षरताको कार्यक्रम सञ्चालन गर्दै आएको अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दिवाकर ढुङ्गेलले नयाँ रुपमा साक्षरताके परिभाषा गर्नु पर्ने बताउँदै साक्षरतालाई जीवन सञ्चालनको आवश्यकतासँग जोड्नु पर्ने बताए ।

जिल्ला शिक्षा कार्यालयले विगत ६ वर्षदेखि सघन साक्षरता अभियान संचालन गर्दै आएकोले साक्षरता घोषणा सम्भव भएको शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्यले बताए ।
शिक्षा कार्यालयले ०६७ सालदेखि सञ्चालन गरेको साक्षरता अभियान अन्तर्गत ६० वर्ष माथिका १८ हजार नौ सय ९३ जना साक्षर भएका छन् । साक्षर अभियानका लागि विद्यार्थी र स्वयमसेवक परिचालन गरिएको थियो ।

कक्षा ९ र १० मा अध्ययन गर्ने ५० विद्यालयका २ हजार एक सय ६२ जना विद्यार्थीले ६ हजार दुई सय ५६ जना निरक्षरलाई साक्षर बनाएका थिए ।

२०६८ सालको जनगणना अनुसार मकवानपुरको १५ देखि  ६० वर्ष उमेर समुहको जनसंख्या २ लाख ३८ हजार ४ सय ९७ रहेकोमा तीमध्ये २ लाख ३६ हजार ५० जना साक्षर भएका छन् ।
चालु आर्थिक बर्षमा थप ३० वटा जिल्ला साक्षर घोषणा गर्ने शिक्षा मन्त्रालयको योजना छ । यसका लागि बजेट तथा कार्यक्रम स्विकृत भईसकेको ढुङ्गेलले बताए । अव असोज ५ गते रामेछाप जिल्ला साक्षर घोषणा हुने छ भने त्यसपछि सुनसरी धनकुटा पाईपलाईनमा रहेको उनले बताए ।

सरकारले साक्षरता नेपाल अभियान अन्र्तगत यो वर्ष देशभर १६ लाख ९३ हजार १ सय ६५ जनालाई साक्षर  बनाउने लक्ष्य लिएको छ ।

फोटो जिल्ला शिक्षा कार्यालय मकवानपुरको फेसबुकबाट

प्रतिक्रिया