भक्तपुर – बाल दिवसको उपलक्ष्यमा विद्यालय हातामा बालबालिका नाचिरहेको यो त्यही विद्यालय हो जुन झण्डै बन्द भईसकेको थियो ।
‘शिक्षा कार्यालयले मारेको विद्यालयलाई हामीले बचाएका छौं’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णगोविन्द लाखा फूर्ति साथ भन्छन्, निक्कै दुःखले बनाएको विद्यालय मर्ज गर्ने निर्णय भएदेखि चिन्ता लागेको थियो, तर स्थानीयहरुको सकृयतामा हामीले जिल्ला शिक्षाको उक्तः निर्णय उल्ट्याईदिएका छौं ।
जिल्ला शिक्षा कार्यालय भक्तपुुरले २०७१ साल पुसमा ‘विद्यार्थी कम भएको’ भन्दै सिद्धिशारदा प्राथमिक विद्यालयलाई वागीश्वरी उच्च माध्यमिक विद्यालयसँग मर्ज गर्ने निर्णय गरेको थियो । तत्कालिन जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले वागीश्वरी उमाविको नाममा काटेको पत्रमा ‘सिद्धि शारदा प्राविमा विद्यार्थी कम भएकोले उक्त विद्यालयलाई सघाउनका लागि अनुरोध छ ’ भन्ने व्यहोरा उल्लेख थियो ।
‘पत्रमा सहयोग गर्न भने पनि विद्यालयको खाता बन्द गरिएको थियोे, त्यहाँका शिक्षकहरुलाई यहाँ काजमा पठाएको थियो, कार्यालयले मर्ज शब्द नराखीकन स्कुल मर्ज गरेको थियो’ विद्यालय मर्ज गनुहुन्न भन्ने आवाज दह्रो भएपछि जिल्ला शिक्षाले घुमाउरो भाषामा पत्र पठाएको सम्झँदै वागीश्वरीका सहप्राचार्य ज्ञानसागर प्रजापति भन्छन् ‘अहिले स्कूलले पुर्नजीवन पाएको छ ।’
त्यसैको परिणाम अहिले विद्यालयमा १ सय १० जना विद्यार्थी पढिरहेका छन् ।
शैक्षिक सत्र २०७२ मै पनि विद्यालय व्युँताउन प्रयास नभएको हैन । तर बैशाखको भूकम्पले त्यो अभियानमा असर पुग्यो ।
भूकम्पको पीडा विर्सदैं गएसंगै विद्यालय ब्युताउने प्रयास जारी भयो, यसमा सकृय भए विद्यालयमै कार्यरत शिक्षकहरु समेत ।
सबैको प्रयासले विद्यालयमा शैक्षिक सत्र २०७३ मा विद्यार्थी संख्या बढ्यो, जिल्ला शिक्षा कार्यालयले रोक्का गरेको खाता पुनः खुलाउन बाध्य भयो । यति मात्र हैन काजमा अन्तै पठाएका शिक्षकहरुको पनि काज फिर्ता भईसकेको छ ।
विभिन्न कारणले विद्यार्थी कम भएका विद्यालयहरुलाई मर्ज गर्ने सरकारी नीति भए पनि भक्तपुरको उक्त विद्यालयले भने मर्जको नीतिलाई नै चुनौति दिएको शिक्षा कार्यालयकै कर्मचारी स्विकार्छन् । भक्तपुरमा भएको उक्त कामबाट शिक्षा विभागका अधिकारीहरु समेत छक्क भएका छन् । शिक्षा मन्त्रालयले ‘विद्यालय समायोजन कार्यान्वयन निर्दशिका ०७०’ ल्याएपछि मर्ज हुने र बन्द हुने क्रम बढेको छ तर भक्तपुरमा भएको उक्त अभ्यास भने देशभर नै नौलो र नयाँ प्रयोग हो’, शिक्षा विभागका उपनिर्देशक योगेन्द्रप्रसाद बरालले भने ।
विद्यालयले पुनर्जिवन पाएपछि विद्यालयका शिक्षकहरु निक्कै खुसी भएका छन् । प्रअ धनेशराज राजोपाध्याय र शिक्षक हरिकृष्ण भेलेले विद्यालय मर्जको पत्र र काज सरुवाको पत्र एकै पटक पाएका थिए । विद्यालयले पुनर्जिवन पाउला भन्ने कल्पनासम्म नगरेको स्मरण गर्दै उतिखेरको निराशा खुसीमा बदलिएको उनीहरु बताउँछन् ।
प्रतिक्रिया