Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

कागजमै सीमित विज्ञान अध्ययन केन्द्र

बुधबार, २९ भदौ २०७३

काठमाडौं २९ भदौ / नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) हाताभित्र विद्यार्थीलाई लक्षित गर्दै निर्माण गर्ने भनिएको ‘नेपाल–भारत मैत्री साइन्स लर्निङ सेन्टर’ एक दशकदेखि कागजमै सीमित छ। भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा केन्द्र निर्माणका लागि दुवै पक्षद्वारा विभिन्न प्रक्रिया थालिए पनि हालसम्मका सबै प्रयासहरूले सरकारी फाइलबाट निस्केर मूर्तरूप लिन सकेका छैनन्।

तत्कालीन भारतीय विदेश मन्त्री एसएम कृष्णा नेपाल आएको समयमा २०१० जनवरी १५ मा भारतीय विदेश सचिव निरूपमा राव, अर्थ सचिव कृष्णहरि बाँस्कोटा र नास्टका उपकुलपति प्रा.डा.होमनाथ भट्टराईले भारतीय सहयोगमा तीन वर्षभित्रै साइन्स लर्निङ सेन्टर बनाउने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। नास्टका प्रविधि संकाय प्रमुख डा. सुरेशकुमार ढुंगेलका अनुसार उक्त सहमतिपत्रमा भारत सरकारको आर्थिक सहयोग र नेसनल काउन्सिल अफ साइन्स म्युजियम, कोलकाताको प्राविधिक सहयोगमा केन्द्र खोल्ने उल्लेख छ।

त्यसअघि नै २००२ मा नास्ट र नेसनल काउन्सिल अफ साइन्स म्युजियम, कोलकाताबीच साइन्स लर्निङ सेन्टर खोल्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो। नास्ट हाताभित्र २०६४ मंसिर २० गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले यो केन्द्रको शिलान्यास गरेका थिए। केन्द्रको प्रारूप, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत निर्माण गरियो। केन्द्र निर्माण गर्न टेन्डर आहवान गर्न भारतीय प्राविधिकहरू नास्ट आउने भएपछि उनीहरूका लागि छुट्टै कोठासमेत तयार गरिएको थियो। तर यसपछि यो केन्द्र निर्माणका लागि भारतबाट न त कोही आयो न कुनै प्रक्रिया अघि बढ्यो। नास्टका उपकुलपतिले भारतीय राजदूत तथा नास्टका कुलपति रहने गरेका प्रधानमन्त्रीलाई पटक–पटक ध्यानाकर्षण गराए पनि हालसम्म कुनै सकारात्मक प्रक्रिया अघि बढेको छैन।

गत भदौ २० गते प्राज्ञ सभामा कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई नास्टका उपकुलपति प्रा.डा.जीवराज पोखरेलले साइन्स लर्निङ सेन्टरबारे भारत भ्रमणमा पहल गरिदिन आग्रहसमेत गरे। उक्त सभामा नास्टका प्राज्ञहरूले समेत प्रधानमन्त्रीलाई यस विषयमा पहल गरिदिन अनुरोध गरे। ‘प्रधानमन्त्रीज्यूलाई भारत भ्रमणमा यसबारे कुरा उठाउन आधिकारिक रूपमै आग्रह गरिसकेका छौं,’ नास्टका उपकुलपति पोखरेलले कान्तिपुरसँग भने, ‘त्यतिबेला यो करिब २४ करोड रुपैयाँको परियोजना थियो।’

भारतीय दूतावासले बर्सेनि स्वतन्त्रता दिवस अर्थात् १५ अगस्तमा विभिन्न पत्रपत्रिकामा प्रकाशित गर्ने गरेको विज्ञापनहरूमा नेपालमा जारी परियोजनाअन्तर्गत साइन्स लर्निङ सेन्टरको उल्लेख दुई वर्षअघिसम्म गर्दै आएको उल्लेख गर्दै डा. ढुंगेल भन्छन्, ‘तर २०१५ देखि यसको उल्लेख गर्न छाडेको छ।’ नास्टले यो केन्द्र निर्माण गर्न खुमलटारस्थित आफ्नो कार्यालय परिसरमा जग्गासमेत छुट्टयाइसकेको छ। भारतसँग भएको सम्झौताअनुसार उक्त केन्द्रअन्तर्गत सभाकक्ष, प्रदर्शनी कक्ष, साइन्स पार्क, साइन्स म्युजियम लगायतका लागि स्थान छुट्टयाइएको छ।

नास्टले साइन्स लर्निङ सेन्टरलाई केन्द्र मान्दै मुलुकका अन्य ठाउँमा समेत विज्ञान केन्द्र खोल्ने तयारी गरेको थियो। सेन्टरले स्कुले विद्यार्थी, युवाहरूमा वैज्ञानिक सोच उत्पन्न गर्ने काम गर्छ। यसले अनुसन्धानको इच्छा जागृत गर्ने, रचनात्मक प्रतिभालाई सहयोग गर्ने तथा विज्ञान प्रविधिको क्षेत्रमा विद्यार्थीलाई अनुभवमा आधारित शिक्षाका लागि प्रेरित गर्ने काम गर्छ।

अतुल मिश्रले कान्तिपुरमा लेखेको खबर ।
 

प्रतिक्रिया