काठमाडौं २८ भदौ / त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले आगामी वर्षका लागि मातहतका क्याम्पसले एमबिबिएस र बिडिएसमा भर्ना लिने विद्यार्थी सिट संख्या सिफारिस गर्ने निर्णय गरेको छ । आइओएमले गरेको सो निर्णय नेपाल मेडिकल काउन्सिलको बोर्डले छलफल गरी स्वीकृत गरेपछि लागू हुनेछ ।
फ्याकल्टी बोर्डको सोमबारको बैठकले एमबिबिएसतर्फ अधिकतम एक सय १५ सिट दिने गरी सिफारिस गर्ने निर्णय गरेको हो । आइओएम स्रोतका अनुसार अघिल्लो वर्ष एक सय ३५ सिट पाएका कलेजको सिट संख्या घटाएर यस वर्ष अधिकतम एक सय १५ मा झारिएको छ ।
यसैगरी, बिडिएस (दन्त चिकित्सा)तर्फ अधिकतम ७० सिट संख्या सिफारिस गर्ने निर्णय गरिएको छ । सिफारिस भएका मेडिकल कलेजको मेडिकल काउन्सिलले पुन: अनुगमन गर्नेछ ।
मेडिकल काउन्सिलले आइओएमले सिफारिस गरेको सिट संख्यामा आफूले अनुगमन गरेको आधारमा केही सामान्य हेरफेर गर्न सक्नेछ । आइओएमले सिफारिस गरेको सिट संख्या प्राय: काउन्सिलले परिर्वतन गर्ने चलन छैन । ‘सामान्य एक–दुई सिट घटबढ हुन सक्छ,’ बोर्डका एक सदस्यले नयाँ पत्रिकासँग भने, ‘फ्याकल्टी बोर्डले पास गरेको कुरा काउन्सिलले सामान्य मात्र हेरफेर गर्ने गरेको छ ।’
जानकी मेडिकल कलेजलाई ८० सिट
व्यवस्थापन राम्रो हुन नसकेको भन्दै दुई वर्षसम्म सिट नै नछुट्याइएको जनकपुरस्थित जानकी मेडिकल कलेजलाई यसपटक ८० सिट दिने आइओएम फ्याकल्टी बोर्डले निर्णय गरेको छ । आन्तरिक व्यवस्थापनमा झगडा पर्दा जानकी मेडिकल कलेज पटक–पटक बन्द भएको थियो ।
कलेज राम्ररी सञ्चालन हुन नसकेपछि बन्द गर्न आइओएममा दबाब परेको थियो । तर, व्यवस्थापन परिवर्तन गरी सञ्चालन गरिएको सो कलेजलाई एकैपटक ८० सिट दिने निर्णयको फ्याकल्टी बोर्डका केही सदस्यले विरोध जनाएका थिए ।
महाराजगन्जको यथावत्
दुई वर्ष बन्दजस्तै भएर सुरु भएको जानकी मेडिकल कलेजले ८० सिट पाउँदा देशकै सबैभन्दा राम्रो कलेज मानिएको महाराजगन्ज क्याम्पसले भने अघिल्ला वर्षझौ ७६ सिटमै चित्त बुझाउनुपरेको छ । अन्य निजी मेडिकल कलेजभन्दा राम्रो व्यवस्थापन, उच्चस्तरको प्रविधि, प्रशस्त फ्याकल्टी र धेरै बिरामीको चाप हुने शिक्षण अस्पताल हुँदाहुँदै पनि आफ्नै कलेजमा सिट संख्या बढाउन फ्याकल्टी बोर्डले कुनै निर्णय गर्न सकेन । फ्याकल्टीका केही प्राध्यापकले सिट संख्या बढाउन प्रस्ताव गरे पनि विद्यार्थी आन्दोलनको भयले निर्णय गरिएन।
केही बढे केही घटे
अघिल्लो वर्ष एक सय ३० सिट पाएका नेसनल मेडिकल कलेज र आर्मी मेडिकल कलेजका लागि आइओएमले यस वर्ष एक सय १५ सिट सिफारिस गरेको छ । अघिल्लो वर्ष एक सय २५ सिट पढाएको चितवन मेडिकल कलेजको पनि सोही हाराहारीमा सिट सिफारिस गरिएको आइओएम स्रोतको दाबी छ । एक सय २५ सिट नै पाएको किस्ट मेडिकल कलेजलाई यस वर्ष एक सय १० सिट सिफारिस भएको छ । यसपटक सिट थप भई सिफारिस हुने कलेजमा गण्डकी र युनिभर्सल रहेका छन् । दुवै कलेजमा अघिल्लो वर्ष ९० सिट थियो । यस वर्ष युनिभर्सलले एक सय १५ र गण्डकीले एक सय १० सिट पाएका छन् ।
बिडिएसमा पनि घटबढ
बिडिएसतर्फ यस वर्ष सबैभन्दा बढी युनिभर्सल कलेजका लागि सिफारिस गर्ने निर्णय भएको छ । अघिल्लो वर्ष ३० सिट पाएको सो कलेजले यस वर्ष ७० सिट पाएको छ । यस्तै, पिपुल्स डेन्टललाई ६५, केडिया डेन्टल कलेजलाई ३५, चितवन मेडिकल कलेजलाई ४०, किस्ट मेडिकल कलेजलाई ४५ सिट र गण्डकी मेडिकल कलेजलाई २५ सिट सिफारिस गरिएको छ ।
केसीसँगको सम्झौताअनुसार घटाइयो सिट
सरकारले आइओएमका प्राध्यापक डा. गोविन्द केसीसँग गरेको सम्झौताअनुसार यस वर्ष पनि एमबिबिएस पढाउने कलेजको विद्यार्थी सिट संख्या घटाएको छ । केसीसँगको सम्झौताअनुसार यस वर्ष कुनै पनि कलेजले एक सय १५ भन्दा बढी विद्यार्थी पढाउन पाउँदैनन् । सोही सम्झौताअनुसार नै फ्याकल्टी बोर्डले सिट संख्या सिफारिस गरेको आइओएम सहायक डिन प्रा.डा. सरोज वन्तले जानकारी दिए । ‘सरकारले गरेको निर्णयअनुसार नै हामीले सिफारिस गरेका छौ,’ उनले नयाँ पत्रिकासँग भने । डा. केसीसँगको सम्झौताअनुसार अघिल्लो वर्ष अधिकतम एक सय ३५ विद्यार्थी पढाउने अनुमति दिइएको थियो । यस वर्ष एक सय १५ र आगामी वर्ष एक सयमा झार्ने सहमति भएको छ ।
सरकारी कोटा घटे
कलेजको सिट संख्या घटेसँगै मेडिकल कलेजले अनिवार्य पढाउनुपर्ने सरकारी विद्यार्थीको कोटा पनि घटेको छ । कलेजले कुल विद्यार्थीको संख्याको कम्तीमा १० प्रतिशत सरकारले सिफारिस गरेका जेहेनदार विद्यार्थी पढाउनुपर्ने हुन्छ । कलेजको सिट संख्या घटेसँगै त्यो संख्या पनि घटेको हो ।
भिषा काफ्लेले नयाँ पत्रिकामा लेखेको खबर ।
प्रतिक्रिया