काठमाडौं– ‘आज म स्कुलै जान्न, आज म खाना पनि खान्न !’ जहिल्यै स्कुल जाने बेला भो कक्षा ३ मा पढ्ने छोरा सुमितले भन्ने यस्तै हो !
स्कुल जाने बेला भयो कि छोराको यस्तो गुनासो सुन्ने र अनेक उपाय निकालेर फकाउने काममै वित्छ आमा सुमित्राको बिहानको समय । गौशाला बस्दै आएकी उनलाई छोरालाई स्कुल पठाउने बेला भयो कि भाउन्न भएर आउँछ । ‘कहिले के, कहिले के भनेर स्कुलका सर मिसहरुले यस्तो गरे, उस्तो गरे भन्छ, मलाई त दिक्क लागि सक्यो कहिले सम्म के के मात्रै भनेर फकाउने ?’ उनले थपिन् ।
उनले सो विषयमा आफ्नै सन्तानसँग बुझ्नका लागि अनेकौं प्रयास नगरेकी पनि होइनन्, ‘मिसले गाली गर्नुभयो, सरले पिट्नुभयो भन्ने कुराहरु भने पछि तिमीले होमवर्क गरेनौ कि वा सर मिसहरुले भनेको पो मानेनौ कि ? भनेर सोध्दा होमवर्क पनि गरेको भनेको पनि मानेको भन्छ । त्यसो भए म सर मिसहरुसँग कुरा गर्छु नी त भन्दा पर्दैन की पर्दैन भन्छ । किन त भनेर सोधेको कुरा लाइदियो भनेर सबैका अघिल्तिर पिट्नुहुन्छ पो भन्छ !'
विद्यार्थीलाई उनीहरुका शिक्षकबाट हुने यस्ता ब्यवहार भोग्नेमा सुमित एक प्रतिनिधि पात्र हुन् । यस्ता समस्याबाट देशभरका विद्यार्थी र अभिभावक पीडित छन् । अधिकांश विद्यालयमा सन्तान पढ्न पठाउने अभिभावकहरुका यो साझा समस्या हुनुमा विद्यालय र शिक्षकमा विद्यार्थी प्रति गर्ने व्यवहार उचित नभएको निष्कर्ष छ शिक्षाविद् विद्यानाथ कोइरालाको ।
शिक्षकलाई शिक्षक जस्तो बनाउन नसक्नु नै मुख्य समस्या ठान्छन् उनी । ‘शिक्षा व्यवसायिक हुनुपर्छ, वैज्ञानिक हुनुपर्छ, जनवादी, हुनुपर्छ, समाजवादी हुनुपर्छ भन्ने गीत गाउन हाम्रा शिक्षकहरु निक्कै जान्ने भए' उनले भने 'तर दायित्व निभाउन भने सकेनन्, त्यसकै कारण विद्यालय जाने बेला भयो कि विद्यार्थी मनै गर्दैनन् ।’
विद्यालयहरु बालमैत्री हुनु पर्छ भन्ने नारा बनाउने खर्च पनि गर्ने तर त्यस अनुसार विद्यालय पनि नहुने र शिक्षकको ब्यवहार पनि नहुँदा समस्या भएको बताउँछन्, अभिभावक संघ नेपालका केन्द्रीय सदस्य रामकृष्ण प्रजापतिले ।
विद्यार्थीको लागि उपयुक्त वातावरण बनाउनका लागि शिक्षकको भूमिका नै महत्वपूर्ण हुने भए पनि सोही काममा शिक्षकहरु चुकिरहँदा समस्या बढिरहेको उनको भनाई छ ।
'शिक्षकहरुले बालबालिकाहरुलाई चासो नै दिदैंनन्, उनीहरु शिक्षणलाई जागिर ठान्छन् त्यसैले समस्या भयो' उनले भने 'विद्यार्थीको भावना अनुसारको पढाइ नहुनु नै समस्याको मुख्य पाटो हो ।’
शिक्षण भन्ने कुरा जागरि मात्रै हैन, यो एउटा निष्ठासंग जोडिएको पेशा हो । तर अधिकाँश शिक्षक आफ्नो पेशालाई ज्ञानको प्रवाह गर्ने भन्दा पनि जागिर, दलका कार्यकर्ता बनेर अरुनै स्वार्थमा केन्द्रित हुँदा समस्या बढेको ठान्ने अभिभावक थपिदैं छन् ।
अभिभावक मात्रै हैन सरकारी निकायका जिम्मेवार ब्यक्ति पनि यही निष्कर्षमा पुगेका छन् । पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी टुकराज अधिकारी शिक्षकहरुकै कारण विद्यालयहरुमा विद्यार्थी मैत्री वातावरणको सिर्जना हुन नसकेको स्वीकार्छन् ।
‘शिक्षकहरुलाई विद्यार्थीमैत्री बनाउनका लागि विभिन्न तालिमहरु दिइन्छ तर ती तालिमहरु व्यवहारमा प्रयोगमा ल्याउँदैनन् शिक्षकहरु’ उनले भने । उनका अनुसार शिक्षकहरुमा हुनुपर्ने गुण नै नभएका शिक्षकहरु विद्यालयमा नियुक्त हुँदा विद्यालयलाई नै समस्या भएको छ । ‘बच्चालाई कसरी पढाउने, कसरी व्यवहार गर्ने ? कसरी मनोभावना बुझ्ने त्यो नभएको अवस्था छ ।’ उनले थपे ।
अधिकाँश विद्यालयहरु नाम मात्रको बालमैत्री वातावरणको भएको र व्यवहारमा नभएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रकै अधिकारीहरु बताउँछन् ।
‘विद्यार्थी आफ्ना शिक्षकहरुबाटै प्रताडित छन्, यही कारण विद्यालयहरु विद्यार्थीमैत्री बन्न सकेका छैनन् ।’ केन्द्रका प्रमुख लेखनाथ पौडेलले भने ।
उनले विद्यार्थीलाई भित्री मनदेखि नै विद्यालय आउँ आउँ बनाउन नसकेसम्म सिकाइ उपलब्धि नबढ्ने बताउँदै विद्यार्थीलाई नै केन्द्रमा राखेर अध्यापन गर्न अनुरोध गरे ।
उनले शैक्षिक संस्थामा सहज रुपमा गुणस्तरीय शिक्षा हासिल गर्न पाउनु आम विद्यार्थीको नैसर्गिक अधिकार भए पनि उनीहरुले सौहार्दपूर्ण वातावरणमा शिक्षा हासिल गर्न नपाएको बताए ।
सैद्धान्तिक तथा घोकन्ते शिक्षालाई मात्र केन्द्रीत गरेको आरोप खेपिरहेको सरकारले शैक्षिक संस्थाहरुमा पनि विद्यार्थी मैत्री वातावरणको सिर्जना गर्न सकेको छैन । आफूहरुको मनोभावनाअनुसार विद्यालयहरुमा सिकाइ नभएको विद्यार्थी तथा अभिभावकको गुनासो छ ।
सरकार तथा विभिन्न गैह्रसरकारी संस्थाहरुले बालमैत्री सिकाइका नाममा करोडौं खर्च गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएकै छ । तर, कार्यान्वयनको पाटो भने निक्कै नै फितलो भएको निश्कर्ष छ, राष्ट्रिय बाल क्लब सञ्जालका अध्यक्ष दिपेश विसुंखेको ।
सरकारले विद्यालयको अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा यस्तो अवस्था आएको उनले बताए । ‘विद्यार्थीका लािग शौचालय निर्माण देखि कम्प्युटर वितरण सम्मका कार्यक्रमहरु बर्सेनी भए पनि ती कार्यक्रमहरु विद्यार्थी मैत्री नभएर शिक्षक, विव्यसका पदाधिकारीहरुको स्वार्थ सिद्धिको लागि मात्र भएका छन् ।’ उनको आरोप छ ।
प्रतिक्रिया