Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

६ सय ८० शिक्षकलाई ३७ करोड

आइतबार, २६ भदौ २०७३

काठमाडौं गएको तीन महिनामा सेवा निवृत्त भएका देशभरका शिक्षकलाई सञ्चित विरामी विदा र औषधोपचार खर्च वापतको रकम निकासा भएको छ । शिक्षक किताबखानाले ७५ वटै जिल्ला शिक्षा कार्यालयलाई उक्त रकमको अख्तियारी दिएसंगै जेठ २५ गते देखि भदौ २५ गते सम्म निवृत्त भएका ६ सय ८० शिक्षकहरुले रकम पाउने भएका हुन् । उनीहरुका लागि ३७ करोड ११ लाख ९० हजार ६ सय २१ रुपैंया निकासाको अख्तियारी दिएको किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाले जानकारी दिए ।

यसरी रकम पाउने शिक्षक मध्ये केही अस्थायी समेत रहेका उनले बताए । अस्थायी शिक्षकले औषधोपचार खर्च मात्रै पाउँछ । नेपालीको महान चार्ड दशैं नजिकिदैं गरेको समयमा किताबखानाले निकासाको अख्तियारी दिएसंगै निवृत्त शिक्षकहरुलाई चार्ड मान्न भरथेग हुने आशा गरेको ढुङ्गानाले बताए ।

यो विचमा सबै भन्दा धेरै ३० जना शिक्षक सुनसरीबाट मात्रै निवृत्त भएका छन् । यसैगरी सप्तरीबाट २४, काठमाडौं र झापाका २३ शिक्षक निवृत्त भएका छन् । सबै भन्दा धेरै शिक्षक निवृत्त भएको सुनसरीका लागि मात्रै १ करोड ८१ लाख ३८ हजार ९ सय १९ रुपैंया निकासा भएको छ । सबै भन्दा कम दैलेखमा ७१ हजार ५ सय ७३ रुपैंया निकासा भएको किताबखानाले जनाएको छ । सबै भन्दा कम शिक्षक निवृत्त भएको जिल्ला जुम्ला र दैलेखमा १–१ जना, हुम्ला, डोल्पा र सोलुमा २ –२ जना, म्याग्दीमा, ३, तेह्रथुममा ४ र संखुवासभामा ८ जना शिक्षक रहेका छन् ।  

शिक्षक निवृत्त भएपछि किताबखानाबाट पेन्सन पट्टा बनाई आफूले चाहेकै बैंकबाट मासिक पेन्सन बुझ्न सक्ने ब्यवस्था छ । निवृत्त हुने शिक्षकले किताबखानाबाट पेन्सन पट्टा बनाए पछि निवृत्तिभरण ब्यवस्थापन कार्यालयमा पुगेर आफूलाई पायक पर्ने बैंक चयन गर्छ । उसले त्यही बैंकबाट पेन्सन बुझ्न सक्छ ।  

तर उनीहरुको सञ्चित विदा र उपचार खर्चलाई एक एक शिक्षकको लगत तयार गर्दा अब्यवहारिक भएको भन्दै किताबखानाले २ महिनामा एक पटक अख्तियारी दिने गर्छ ।

'शिक्षक त दिन दिनै रिटायर्ड हुन सक्छन्, उनीहरुको सञ्चित विदा र उपचार खर्च  दिन दिनै निकासाको अख्तियारी दिन असुविधा हुने भएकोले हामीले २ महिनामा एक पटक निकासा दिदैं आएका हौं' ढुङ्गानाले भने, 'सोही अनुसार जिल्लागत रुपमा जिल्ला शिक्षा कार्यालयहरुलाई अख्तियारी दिएका हौं ।'

प्रतिक्रिया