Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

शिक्षा मन्त्रीलाई भ्याई नभ्याई, दुई दिनमा ३० कार्यक्रम चार दर्जन ज्ञापन पत्र

आइतबार, २६ भदौ २०७३

चितवन - मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला पुगेका शिक्षा मन्त्री धनीराम पौडेलले, दुई दिनमा ३० वटा भन्दा धेरै औपचारिक कार्यक्रममा सहभागि हुनाका साथै चार दर्जन धेरै विद्यालयको ज्ञापन पत्र बुझेका छन् ।

त्यस क्रममा प्रायः सबैजसो विद्यालयका शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीहरुले मन्त्री पौडेलसँग विषयगत शिक्षक दरबन्दी, विद्यालय भवन, कम्पाउण्ड वाल, गेट, पुस्तकालय, विज्ञान प्रयोगशाला जस्ता शैक्षिक पूर्वाधारको अभाव हुँदा पठनपाठनमा समस्या भएको गुनासो गरेका थिए ।  

सबै जसो कार्यक्रममा मन्त्री पौडेलले विगतमा सरकार र मन्त्री फेरिंदा शैक्षिक नीति पनि फेरिने गरेकाले नेपालको सार्वजनिक शिक्षाको गुणस्तर कमजोर बनेको बताउँदै आफ्नो पहिलो ध्यान गुणस्तरीय शिक्षाका लागि आवश्यक नीति निर्माणमा केन्द्रीत भएको बताए ।

शिक्षा ऐनको आठौं संशोधनले शैक्षिक प्रणालीलाई गुणात्मक परिवर्तन गर्ने उद्देश्य बोकेको भन्दै उनले त्यसै अनुसारको शिक्षा नियमावली बनाउने काम अन्तिम चरणमा पुगेको बताए ।

'नयाँ संविधानले शिक्षालाई नागरिकको मौलिक अधिकारको रुपमा स्वीकारेको अबस्थामा त्यहि अनुसारको शैक्षिक नीति र नियमाबली बनाउन मन्त्रालय लागि परेको छ' उनले भने, 'ठूलो संघर्षपछि मुलुकमा व्यवस्था परिवर्तन भएकोले बदलिएको राज्य प्रणालीको बिम्ब शिक्षामा पनि देखिने गरी काम हुने छ ।'

स्थानीयवासीले मन्त्री पौडेलसँग गुणस्तरीय शिक्षा र स्वास्थ्यका अलावा बाटोघाटो, सिंचाई, बिजुली, नदी नियन्त्रण जस्ता विकास निर्माणको माग समेत गरेका थिए ।

माडी नगरपालिका ५ बसन्तपुरका वासिन्दा रहेका मन्त्री पौडेललाई माडीका स्थानीयवासीले भव्य स्वागत गरेका थिए । माडी चितवन जिल्लाको पिछडिएको ठाउँको रुपमा चिनिन्छ । दुई बर्ष अघि नगरपालिका घोषित भएर पनि माडी नगरपालिकामा अझै बिजुली बत्ति बल्न सकेको छैन । माडीबासीले मन्त्रीसँग राष्ट्रिय निकुञ्जका जनावरको आक्रमणबाट आफूहरुलाई जोगाउन पनि माग गरे ।

शुक्रबार सदरमुकाम भरतपुर, चित्रबन र नारायणी नगरपालिकाका विभिन्न विद्यालय र क्याम्पसहरुमा आयोजित एक दर्जन भन्दा धेरै कार्यक्रममा सहभागि भएका मन्त्री पौडेल शनिबार पनि विहानै देखि  साँझ सम्मै व्यस्त रहे ।

शनिबार मन्त्री पौडेल माडी नगरपालिका, माडी क्याम्पस, माडी मावि, खैरहनी मावि, सोमेश्वर मावि, गर्दी सामुदायिक पुस्तकालय, जनकल्याण मावि, कृष्णनगर मावि, जनजीवन मावि, प्रावि सिम्रेनी, राप्रावि गर्दी लगायतका विद्यालयले आयोजना गरेको कार्यक्रममा सहभागि भए ।

मन्त्री पौडेलले कक्षा १० सम्म अध्ययन गरेको माडी माविमा उनको भव्य स्वागत गरियो । बाल्यकालका सहपाठी, विद्यालयका शिक्षक, अभिभावक र स्थानीयबासीले मन्त्री पौडेललाई अबिर, मालाका साथै दोसल्ला ओढाएर स्वागत गरेका थिए ।

माडी नगरपालिकामा आयोजित कार्यक्रममा उनले नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद सापकोटालाई दमकलको साँचो हस्तान्तरण गरे । उक्त दमकल केही दिन अघि मात्र भारत सरकारले सहयोग स्वरुप प्रदान गरेको १७ वटा दमकल मध्ये एक हो ।

प्रतिक्रिया