वि.सं. २००६ सालमा जन्मेका कवि दुवाल कुनैबेला शिक्षक थिए । २७ वर्ष पढाए । काभ्रेको बनेपालाई साहित्यको राजधानी बनाउने सपना बोकेर सक्रिय उनकै सम्पादकत्वमा ‘जनमत’ साहित्यिक मासिक पत्रिका प्रकाशन हुँदै आएको छ । उनले ३३ वर्ष पत्रकारिता गरे । उनका अनुसार प्रस्तुत कविता २०३० को दशकमा लेखिएको हो । कक्षा ९ मा पढ्दा नेपालभाषामा ’चुलिजाः गु स्वाँ’ कविता संग्रह लेखेका दुवालका हालसम्म दुई दर्जन साहित्यिक पुस्तक प्रकाशित भइसेकेका छन् । शिक्षा साहित्य श्रृखला अन्तर्गत यो साता उनकै कविता :
चक, डस्टर, ब्ल्याकबोर्डमा आफूलाई सीमित राख्दै
केटाहरुको कचकच र फतफतमा आफूलाई हराउँदै
हस्याङ–फस्याङ र स्वाँ–फ्वामा आफूलाई चलाउँदै
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।
घन्टीको भरमा सधैँ आफूभित्रको स्वत्वलाई गुमाउँदै
कागजमा कोरिएको रुटिन–बोर्डमा आफूलाई नचाउँदै
केबल आफूभित्रको मान्छेलाई सकी–नसकी सम्हाल्दै
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।
घडी–घडीमा मनभित्रको कुरो मनमा नै राखी सल्किरहेछु
तातो चियाको बाफले सकी–नसकी आफै सेकिरहेछु
सुकेको ओठ, भोकोउको पेट थमथमाउँदै बाँचिरहेछु
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।
म स्कुलको मास्टर हुँ सरस्वती खोज्दै बाँचिरहेछु
शिक्षा दिनु धर्मको नाममा आफूलाई सुकाइरहेछु
तर साथी के गर्ने खोइ यहाँ पनि मत्स्य–न्याय भोगिरहेछु
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।
दुई छाक उसिना भातको भरमा ठूलो स्वरले चिच्याउँदै
जे गरे पनि यहाँ फटाहाहरुको अगाडि बेवकुफ बन्दै
सकी–नसकी आफूलाई आफै सम्हाल्दै–उठाउँदै
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।
बजारको भाउले हुत्तिहारा मास्टर भन्दै गिज्याएको भोगिरहेछु
यस्तै छ साथी, उकुसमुकुसभित्र जीवन साँच्दै हाँसिरहेछु
गधाले पनि सकेको मात्र भारी बोक्छ, ऊभन्दा हीन जीवन बाँचिरहेछु
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।
सरसफाई गर्नु स्वस्थ रहनु हो, कक्षामा आफू बकिरहेछु
तर आफूभित्र म मास्टरलाई साबुनले ब्यङ्ग्य गरेको सुनिरहेछु
सन्तुलित आहाराको पाठ पढाउँदै आफू कर्कलाको झोलमा डुबिरहेछु
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।
नक्कल गर्नु नेपालीहरुको स्वभाव हो यसैले त नक्कल हुन्छ
यहाँ बिरालालाई क्याट भन्नुपर्छ बिराला भने मुर्ख बन्नुपर्छ
म नेपालको मास्टर हुँ– विदेशी भई नेपालीको बन्धक राख्नुपर्छ
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।
फाटेको जुत्ता मलाई चियाइरहन्छ, म उसलाई थुमथुमाइदिन्छु
मेरा कोटका प्वालहरुले जिस्क्याइरहन्छन चुपचाप सोच्दै हेरिरहेछु
यस्तै हो म नेपालको मास्टरको जिन्दगी सकी–नसकी डो¥याइरहेछु
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।
सहनुको पनि सीमा हुन्छ, अन्यायभित्रैबाट न्यायको शंखनाद हुन्छ
अब म भित्रको मास्टर जवालमुखीझैं फुट्न फुट्न मात्र बाँकी छ
अब मजस्तै असंख्य निमुखा मास्टरहरु जुर्मुराएर उठ्न मात्र बाँकी छ
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।
प्रतिक्रिया