काठमाडौँ - नेपालका बालबालिकामा कुपोषणका कारण हुुने पुड्कोपन आउँदो ९६ बर्ष सम्म पनि निवारण नहुने एक अध्ययनले देखाएको छ । सेभ द चिल्ड्रेनले शुक्रबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा सन् २११२ सम्म पनि नेपालका बालबालिकामा कुपोषणका कारण हुने पुड्कोपन निवारण गर्न नसकिने उल्लेख छ ।
जबकी दिगो विकास लक्ष्यले सन् २०३० सम्ममा सबै किसिमका कुपोषण निवारण गर्ने प्रतिबद्धता जनाएको छ । यो प्रतिवद्धतामा नेपालले पनि हस्ताक्षर गरेको छ ।
यद्यपी प्रतिवेदनले नेपालले कुपोषण विरुद्धको लडाइँमा राम्रो प्रगति गरिरहेको उल्लेख भने गरेको छ । नेपालले राष्ट्रिय कुपोषणको दर ५७.१ प्रतिशतबाट ३७.४ प्रतिशतमा घटाएको उल्ल्ेख छ । तर प्रतिवेदनले बताए अनुसार यो प्रगति समावेशी छैन । असमान भागहरु शीर्षक गरेको उक्त प्रतिवेदनले नेपालका बालबालिकामा व्याप्त कुपोषणका कारणहरु गरिबी र जातजाति र धार्मिक समुदायहरुको सामाजिक बहिष्करण समेत रहेको उल्लेख छ ।
सबैभन्दा आवश्यकतामा रहेका समुदायका सदस्यलाई उचित सहयोग पु¥याउन सके मात्र परिवर्तन ल्याउन सकिने सेभ द चिल्ड्रेनकी राष्ट्रिय निर्देशक डेलाइला बोर्जाले बताईन् । 'हाम्रा बालबालिकाहरुले पर्याप्त र सन्तुलित पोषणको अभावमा शारिरिक र मानसिक विकासबाट वञ्चित भइरहेका छन्' उनले भनिन् 'यसले उनीहरुको शिक्षा र सिकाइ लगायत हरेक किसिमको वृद्धिमा असर पार्छ ।'
नेपालमा पुड्कोपन सबैभन्दा बढी ६२ प्रतिशत अन्य वर्गीकरण गरिएको समुदायमा पाईएको उक्त अध्ययनले देखाएको छ । त्यसपछि पुड्कोपन हुने बालबालिकामा पहाडी दलित पर्दछन् । सबैभन्दा कम १३ प्रतिशत पुड्कोपन तराईका बाहुन र क्षत्रीमा भेटिएको छ । त्यसैगरी नपालको पूर्वी भूभागमा ३७ प्रतिशत बालबालिकामा पुड्कोपन पाइएको प्रतिवेदनमा उल्लेख छ । पश्चिमी क्षेत्रमा ५० प्रतिशतमा पुड्कोपन छ । अनुसन्धानका अनुसार सबैभन्दा विपन्न घरधुरीका बालबालिकाको पुड्को हुने अवस्था सबैभन्दा सम्पन्न परिवार भन्दा दोब्बर बढी छ । अर्थात् विपन्न परिवारमा ५६ प्रतिशत छ भने सम्पन्नमा २६ प्रतिशत छ ।
प्रत्येक बालबालिकालाई शिक्षा, स्वास्थ्य र संरक्षणको अधिकार दिलाउने अभियानका रुपमा सेभ द चिल्ड्र्ेनले केही समय अघि एभ्री लास्ट चाइल्ड अभियान शुरु गरेको छ ।
सन् १९९० यता विश्वभर कुपोषणबाट प्रभावित बालबालिकाको संख्या एक तिहाइले घटेको छ । हरेक वर्ष ३१ लाख बालबालिकाको कुपोषणकै कारण मृत्यु हुने गरेको छ । विश्वमा पाँच वर्ष मुनिका कुल बालबालिकामध्ये झण्डै एकचौथाइ –अर्थात् १५ करोड ९० लाख – बालबालिका कुपोषणबाट प्रभावित छन् । खानाको अभाव र कमजोर स्वास्थ्य वा दूषित वातावरणका कारण यी बालबालिकाले उनीहरूलाई आवश्यक पर्ने पौष्टिक खानेकुराको लाभ पाउन सकेका छैनन्, जुन कुरा उनीहरूको पूर्ण शारीरिक विकासको सम्भावनाका लागि अत्यावश्यक छ ।
प्रतिक्रिया