Edukhabar
सोमबार, २९ पुस २०८१
विचार / विमर्श

एक शिक्षकको बकपत्र : यस्ता छौं हामी

शुक्रबार, २४ भदौ २०७३

शिक्षण पेशा माझीको पेशा हो भनेर मलाई पढाउने शिक्षकहरुले नभनेका होइनन् । शिक्षक भएर सबैलाई नदी टार्नुपर्छ, माझी भने नदीको नदीमै हुन्छ, आफूले टारेको यात्री कहाँ पुगिसक्छ भनेर भन्नुहुन्थ्यो । एक हिसाबले हो पनि तर त्यो माझीको भूमिका कोही न कोहीले त पूरा गर्नैप¥यो । नत्र त यात्री त वारि नै थन्किरहन्छ यसैले कोही न कोहीले त पारि पु¥याउनै प¥यो । त्यही सोचले म शिक्षण पेशा राम्रो हो भन्ने विश्वासले उद्धेलित भएर म २०४६ सालको मंसिरबाट शिक्षण पेशामा प्रवेश गरेँ ।

त्यतिमात्र सानो बेलादेखि नै समाजको लागि केही न केही त गर्नुपर्छ भन्ने मान्यता राख्थेँ । स्कुल पढ्दाताका विभिन्न व्यक्तित्वहरुका जीवनी पढ्दाको छाप ममा परेको थियो । शिक्षण नै गरेको खण्डमा आफूसँग भएको ज्ञान एकैपटक धेरै विद्यार्थीलाई दिन सकिन्छ भन्ने लाग्थ्यो । राम्रो काम विद्यार्थीलाई सिकाउन पाए, भन्न पाए त त्यो काम उनीहरुमार्फत धेरैमा जान्छ, त्यो कामको लागि प्रभावकारी हुने देखेँ । र, शिक्षक भएँ  ।
२०४६ सालमै सिन्धुपाल्चोकको तालामाराङमा बोर्डिङ स्कुल खोल्ने कुरा चलिरहँदा चौकोटको एक साथीले क्यूल भन्ने ठाउँमा लगे । त्यहाँ मैले १ वर्ष पढाएँ । त्यहाँ एकवर्ष पढाएपछि निजीमा खासै भविष्य हुँदैन भन्ने सोच आयो र सरकारी स्कुलमा लाग्नुपर्छ भन्ने लाग्यो । मैले जिल्ला शिक्षा कार्यालय काभ्रेमा निवेदन दिएको थिएँ । कार्यालयले अस्थायी शिक्षकका लागि पनि निवेदन लिएर शिक्षक छनोट गरेको थियो । त्यो क्रममा म तेस्रो नम्बरमा परेँ र, सरकारी शिक्षण पेशामा छिरेँ ।

मैले तारामाङको बालविकास बोर्डिङ स्कुलबाट आफ्नो शिक्षण यात्रा सुरु गरेँ । त्यसपछि काभ्रेको रोशिपारीको ग्रामोत्थान प्रावि, त्यसपछि चण्डीगाउँ, त्यसपछि उमा सहशिक्षालय (तत्कालिन निमावि) मा र त्यहाँबाट म गंगादेवी उमाविमा सरेँ ।

२०५२ सालमा प्राविमा स्थायी नियुक्ति भएँ, त्यो भन्दा अघि मैले निमाविमा अस्थायी नियुक्ति लिएको थिएँ तर प्रावि तहमा स्थायी भएपछि स्थायी नै हुनुपर्छ भनेर मैले निमाविमा अस्थायी नियुक्ति छोडेँ ।  मैले प्रावि तहकै नियुक्ति लिए पनि अध्यापन भने प्राविदेखि मावि तहसम्मकै गर्नुपर्छ, गरिरहेको पनि छु । माविमा म लेखा विषय अध्यापन गर्छु । त्यसबाहेक म सोही विद्यालयको सहयाक प्रअको जिम्मेवारी पनि निभाइरहेको छु ।

नकारात्मक सोचको भारी बोक्दै शिक्षक

नेपालको सन्दर्भमा शिक्षकलाई हेर्ने दृष्टिकोणमा पनि चेतनास्तरले फरक पारेको छ । राजनीतिक दलमा आस्थामात्र नराखी राजनीतिक दलको कार्यकर्ता नै बन्ने स्वभावका कारण शिक्षकलाई मात्र नभएर शिक्षण पेशालाई नै नकारात्मक रुपले हेर्ने गरिएको छ । राजनीति गरे पढाउन पनि नपर्ने भन्ने स्वभाव शिक्षकमा हावी हुँदा स्कुलहरुमा बढी नै राजनीति हुन थालेको छ । स्कुलमा शिक्षक अर्को खेमाका हुनासाथ त्यसको असर अभिभावकसम्म पनि पुग्दो रहेछ । अभिभावकहरु पनि कुन दल निकटका शिक्षक आए भन्ने हेरेर शिक्षकलाई व्यवहार गर्दा रहेछन् । शिक्षकहरुबीच पनि आफ्नो दल निकट भयो भने मित्र ठान्ने र अन्य दलका भए शत्रु नै ठान्ने स्वभाव बढेको छ । शिक्षकहरुले मेरो दायित्व, कर्तव्य के हो ?, म किन शिक्षक भएँ ? असल शिक्षकका गुणहरु के के हुन् ? भन्ने कुरामा ध्यान नदिइकन मनपरी ढंगले हिँड्दा, बच्चाहरु नपढाएर जुलुसमा हिँड्दा शिक्षकहरुप्रति नकारात्मक भएका हुन् ।

शिक्षकहरुमा पनि मेरो तलब पाकिहाल्छ, किन पढाउनुप¥यो र? भन्ने भावना छ । राजनीतिक आस्थाको भरमा नपढाए पनि, नगए पनि संरक्षण भैहाल्छ भन्ने संस्कार विकास भएको छ ।

यस्ता छन् हाम्रा शिक्षकहरु

शिक्षकहरु कोही ढिला आउने, कोही चाँडै जाने, कोही विभिन्न तौरतरिकाले आउने गरेका छन् । म एक सहायक प्रशासक पनि भएकोले त्यो समस्यालाई झेलिरहेको छु । शिक्षकहरु स्वार्थबाट मुक्त छैनन् । त्यो स्वार्थ पूरा गर्न शिक्षकहरु कसरी सकिएला भन्नेतर्फ केन्द्रीत छन् । तर शिक्षक भइसकेपछि आफ्नो जिम्मेवारी त पूरा गर्नैपर्छ । शिक्षकहरु काम प¥यो भनेर छिट्टै हिँड्ने, ढिला आउने, सकेसम्म विद्यालयमा बिदा होओस्, कुनै पनि बहानामा बिदा गर्न पाए हुन्थ्यो भन्ने मानसिकता लुकेको देखिन्छ । युनिफर्म लगाएपछि अलिकति जिम्मेवारी बोध हुन्छ भन्ने सम्म चेत नभएका शिक्षकहरु छन् ।

विद्यालय नै टुहुरो

एउटा ओदान हुनका लागि तीनवटा खुट्टा चाहिन्छ । स्कुलका लागि विद्यार्थी, शिक्षक र अभिभावक ओदानका तीन खुट्टाजस्तै हुन् । एउटा खुट्टा मात्र पनि कमजोर भयो भने पनि कमजोर हुन्छ । स्रोतव्यक्ति, विनि र शिक्षा कार्यालयले त निरीक्षण, नियन्त्रण र निर्देशन गर्ने हो । दैनिक त्यहाँ हुने भनेको समुदायले नै हो, समुदायले नै वास्ता नगरे पछि विद्यालय त टुहुरो हुने नै भयो । बिदामा बस्ने स्वभावबाट शिक्षकलाई निरुत्साहित गर्न निक्कै चुनौति छ । सरकारी स्कुलमा सन्तान पढाउने अभिभावकहरु निमुखाजस्तै छन् । उनीहरु एकदमै न्यून आयस्तरका भएका कारण बोल्नै सक्तैनन् । त्यसैको फाइदा शिक्षकहरुले लिइरहेका छन् । विद्यालय व्यवस्थापन समिति पनि नाम मात्रको छ । स्कुलको लागि खासै केही काम गर्न सक्तैनन् । त्यो भएकोले विद्यालय टुहुरो जस्तै भएको छ । त्यो अवस्थामा अझ जटिल अवस्था हुँदो रहेछ । त्यो अवस्थामा अभिभावकहरु, विव्यसका पदाधिकारी आएर केही चासो मात्र राखिदिए पनि हुने थियो तर त्यो अवस्था भने बनेको छैन । त्यस्तो अवस्थामा हामीलाई अभिभावक र विव्यसको साथ नहुँदा अन्य शिक्षकहरुले प्रशासनलाई तारो नै ठान्ने रहेछ । शिक्षकहरु बढी सुविधा नै खोज्ने खालका छन् । अभिभावकहरुलाई बोलाउँदा पनि स्कुलमा आउँदैनन् । स्कुल किन आउनुपर्यो भनेर भन्छन् । सरकारकै कमजोरी, जिल्ला शिक्षा कार्यालय, स्रोतकेन्द्र समुदाय, शिक्षक, अभिभावक सबैको केही न केही कमजोरी रहेकोले सरकारी स्कुलको अवस्था नाजुक बनेको हो ।

अब गर्ने के त ?

सरकारी विद्यालय सुधार्न के के उपायहरु अपनाउने भनेर योजना बनाउने, शिक्षाविद्हरुको राष्ट्रिय, क्षेत्रीय भेला गरेर सुझाव संकलन गर्ने र सरकारी विद्यालयमात्र हेर्ने छुट्टै संरचनाको विकास गर्नुपर्छ । त्यसमा हाम्रो भन्दा पनि राम्रो व्यक्तिलाई ल्याएर राम्रो गर्नेलाई पुरस्कार र गल्ती गर्नेलाई दण्डको व्यवस्था गर्नुपर्छ । सरकारले सरकारी स्कुल राम्रो गर्न हरियो, पँहेलो नभनीकन एक अर्जुनदृष्टि सहितको कार्ययोजना बनाउनुपर्छ ।
बलियो खालको निकाय र शिक्षामा केही गर्छु भन्ने सरकार आवश्यक छ ।  शिक्षामा केही गर्छु भन्ने प्रतिवद्धता भएको एउटा संयन्त्र भए शिक्षामा  केही होला नत्र शिक्षामा परिवर्तन आउन अझै धेरै कुर्नुपर्छ । यहाँको अस्थिर राजनीतिले सबै क्षेत्रलाई असर गरेको छ ।

यसो गरे सुधार होला कि ?

शिक्षकहरु निराश भइरहेका छन् तर निराशाले अघि बढाउँदैन, बादलमा चाँदीको घेरा रहेसम्म केही गर्न सकिन्छ भन्ने पाठबाट शिक्षकहरुले काम गर्नुपर्छ । निराशै भएर अब केही गर्न सकिन्न भन्नु त आत्मसपर्मण नै गर्नुसरह हुन्छ । आशावादी त हुनैपर्छ । यो कुरा हामीले अन्य देशहरुबाट पनि सिक्नुपर्छ । हामीकहाँका शिक्षकहरु निराश हुनुको कारण शिक्षकमैत्री नीति, सेवा र सुविधाको अभाव हो । जापानको प्रावि तहका प्रअलाई सचिवसरहको सुविधा दिइने गरेको एक तालिममा मैले जानकारी पाएको थिएँ । तर हामीकहाँ भने त्यो छैन । शिक्षकलाई काममा लगाउने, उसको प्रतिभा दोहन गर्ने तर त्यो शिक्षकलाई कस्तो वातावरण चाहिन्छ, जसले गर्दा ऊ विद्यार्थीको पढाइबारे चिन्तन गर्न सकोस् । घरमा जाँदा पनि दिमागमा विद्यार्थी लिएर जान सकोस् । त्यो चिन्तन ल्याउनका लागि आवश्यकताहरु पूरा हुने खालको आर्थिक व्यवस्थापन गरिनदिनुपर्छ ।

थोरै ग्रेड ल्याएका विद्यार्थीहरुको रोजाइमा शिक्षा संकाय नै परेको छ , त्यसलाई सुधार नगरी हुन्न । कमजोर नतिजा ल्याएको व्यक्तिले शिक्षा संकाय पढेपछि भोलिको शिक्षक त उही नै हुने हो, यसैले जगैदेखि पो सुधार गर्नुपर्छ कि ? सक्षम खालको शिक्षक बनाउनका लागि राज्यले पनि आफ्नो नीतिमा फेरबदल गर्न सक्नुपर्छ । शिक्षक पेशा गरिमामय पेशा हो भन्ने बोध गराउन र अन्त कहिँ र केही नभएपछि शिक्षक बन्ने प्रवृत्तिलाई निषेध गर्नुपर्छ । गौरवबोध नभएका, मर्यादा नभएका शिक्षकहरुलाई सरकारले पहिचान गरेर त्यस्ता शिक्षकलाई नियन्त्रण गर्नुपर्छ ।

शिक्षा ऐनको संसोधनले पनि के फेर्ला र ?

शिक्षा ऐनमा भएको संसोधनले विद्यालयमा जादुको छडी चलाए जसरी परिवर्तन त आउँदैन । विद्यालय समाजभित्रैको एक संस्था भएकोले त्यही समाजभित्र रहने शिक्षक र विद्यार्थी नै जागरुक भएर कम्मर नकसिकन लेखिएको ऐनलेमात्र केही गर्छ जस्तो लाग्दैन । हुन त सरकारले पछिल्लो ऐनलाई राम्रो भनेर दाबी गरेको छ तर मुहानै धमिलो भएसम्म मुहानमुनिको पानी सफा र कञ्चन हुन सक्तैन । जबसम्म नेपाल सरकारको तलब खानेहरुमा सरकारी स्कुलमै सन्तान पढाउनुपर्छ भन्ने कुरालाई अनिवार्य गरिँदैन तबसम्म सरकारी स्कुल सुध्रिएला भन्न सकिन्न । शिक्षकहरुले पनि आफू भने सरकारीमा अध्यापन गर्ने, अनि आफ्ना छोरा भने निजीमा पढाउँदा अभिभावकले पनि ‘शिक्षकहरु त यहाँ जागिर मात्र खान आउने हो, हामीले मात्र यहाँ किन पठाउने ?’ भनेर प्रतिप्रश्न गर्छन् । त्यस्तो अवस्थामा ऐनले के नै पो फरकपन ल्याउला र ?

(गंगादेवी उमावि, रविओपी काभ्रेका सहायक प्रअ देउजासँग हरिसुन्दर छुकांले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया