Edukhabar
सोमबार, ०८ पुस २०८१
राम्रा कसरी राम्रा

शिक्षकले आफैंलाई पत्याउँदा

बुधबार, १० मंसिर २०७१

भक्तपुर १० मंसिर / आम अभिभावकलाई जस्तै कृष्णप्रसाद धन्छालाई पनि लाग्यो, मेरो छोरोले राम्रो शिक्षा पाउनु पर्छ । जुन दिन उनलाई यस्तो लाग्यो उनले आफ्नो जेठो छोरो सौगातलाई भक्तपुर च्यामासिंहको वागेश्वरी उच्च माध्यमिक विद्यलायमा भर्ना गरे । जहाँ उनी आफै प्रधानाध्यापक थिए/छन् । शहरी र विशेषगरी निजी स्कुलको प्रभाव रहेको ठाउँमा सामुदायिक विद्यालयको एउटा प्रधानाध्यपकले छोरालाई आफ्नै स्कुलमा पढाउनु देख्नेहरुका लागि चाहिँ एउटा मुख्र्याइँ हुन सक्थ्यो । किन भने आम मनिसको बुझाइ थियोरछ, सामुदायिक विद्यालयमा राम्रो पढाइ हुदैन छोराछोरी किन सामुदायिकमै पढाउनु ?

‘आफूले काम गर्ने विद्यालयको पढाईलाई शिक्षक प्रधानाध्यापक आफूले विश्वास नगरेसम्म आम मानिसको मनमा सामुदायिक विद्यालयप्रति बसेको अविश्वास उस्तै रहन्छ,’ धन्छाले भित्री मनको कुरा सुनाए, ‘आफूलाई आफैले विश्वास गरे पो अरुले पनि विश्वास गर्छन् । आफ्नो पढाइको विश्वास आफैलाई छैन भने त्यस्ता शिक्षक प्रधानाध्यापकलाई अरुका छोराछोरीको भविष्य बर्बाद गर्ने अधिकार छैन । उनीहरुले कुन विश्वासले अरुका छोराछोरी पढाउने ?’

गत वर्ष एसएलसी सकेका सौगातले ८४ प्रतिशत अंक ल्याए र सामुदायिक विद्यालयको खस्किदो साख जोगाउने उदाहरण बने । धन्छाको कान्छो छोरो पनि यही विद्यालयमै कक्षा २ पढ्दै छन् ।

प्रधानाध्यापक धन्छामात्रै होइन बागेश्वरीका अरु शिक्षक पनि आफूप्रति विश्वास गर्छन् र आफ्ना छोराछोरीलाई आफूले पढाउने विद्यालयमै भर्ना गरेका छन् । त्यसको केही उदाहरण हुन्, विज्ञान शिक्षक उकेश सुवाल । उनकी छोरी आयुषा यही विद्यालयबाट यस बर्ष एसएलसी दिदँैछिन् । स्रोतव्यक्ति कृष्णप्रसाद कर्माचार्यका छोरा पनि यही विद्यालयबाट एसएलसी सकेर अहिले कक्षा ११ पढदै छन् । र, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेका कान्छा छोरा सुवान बिजुक्छेले पनि यही विद्यालय अध्ययन गरेका हुन् । जो अहिले स्नातक तह अध्ययनरत छन् ।
र त वागेश्वरी उच्च मावि, भक्तपुरको शान भएको छ । देशका थोरै उत्कृष्टमध्ये आफूलाई उभ्याएर सामुदायिक शिक्षाको विकासको नारा लाउँदै आफ्ना छोराछोरी निजीमा भर्ना गर्ने नीति निर्माता देखि शिक्षक सम्मका लागि इष्र्याको विषय बनेको छ ।

विद्यार्थी ल्याउन नसकेर राजधानीका ५० भन्दा बढी सामुदायिक विद्यलायले मूल ढोका बन्द गरेका छन् । पछिल्लो ५ वर्ष यताको नतिजामा वागेश्वरी उमाविले चाहि ८० प्रतिशत उत्तीर्ण गराएर आफूलाई अब्बल सावित गर्दै आम अभिभावकको मन जित्दैछ । भर्नाका लागि विद्यार्थी चाप थाम्न प्रवेश परीक्षाको व्यवस्था गरेको छ । नर्सरीदेखि १० कक्षासम्म १ हजार ४ सय ८३ विद्यार्थीलाई आफ्ना कक्षा कोठामा ज्ञान सिकाइ रहेको छ । कक्षा १ देखि ५ सम्मको प्राथमिक तहमा अध्ययनरत ६ सय ९८ जनाको विद्यार्थी संख्याले त्यही देखाउँछ ।

भक्तपुर नगरको पूर्वक्षेत्रमा रहेको विद्यालय बि सं २०१५ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको हो । बि सं २०३० मा निमाविमा कक्षोन्नती भयो र २०३७ मा माध्यमिक तह अध्यापनको स्वीकृति पायो । २०६१ देखि विद्यालयले उच्च मावि (कक्षा ११ र १२ ) पनि सञ्चालन गरिरहेको छ । विश्वविद्यालयहरुको सम्बन्धनमा स्नातकोत्तर तहसम्मको कक्षा पनि चलाएको छ ।

वागेश्वरी उमाविका वरिपरि करिब १० वटा बोर्डिङ सञ्चालनमा छन् । ‘हामीले प्रवेश परीक्षा नलिई धमाधम भर्ना गर्ने हो भने वरीपरीको बोर्डिङको व्यापार बन्द हुन्छ,’ धन्छा गर्वसाथ भन्छन,‘हामीसित स्रोत साधान भौतिक पूर्वाधार पर्याप्त छैन, त्यसैले आउने जति सबैलाई पढाउन मुस्किल हुन्छ भनेर आफ्नो क्षमता अनुसार विद्यार्थी भर्ना लिन्छौं र निजीले व्यापरको मौका पाएका छन् ।’
विद्यार्थीकोे सुविधाका लागि स्कूल बसको समेत व्यवस्था छ । भक्तपुरको छालिङ, चागुनारायण, झौखेल दुवाकोटका विद्यार्थी त्यही बस चढेर बागेश्वरी उमावि आउँछन् ।

विद्यालयमा विद्यार्थीको चाप बढनुको अर्को कारण अंग्रेजी माध्यमबाट पढाई हुनु पनि हो । नर्सरीदेखि १० कक्षासम्म अंग्रेजी माध्यमबाट पढाई हुन्छ । पढाउने शिक्षक सरकारी दरबन्दीकै हुन् । अपुग शिक्षक नीजि स्रोतबाट राखिएको छ । शिक्षक अनुपस्थिति, उपस्थित भएर पनि कक्षा नजाने प्रवृत्ति यो विद्यालयमा छैन । अनिवार्य अंग्रेजी माध्यमको पढाइलाई सबै शिक्षकले पालना गरेका छन् ।

सुरुको केही बर्ष शिक्षकहरुलाई पनि गाह्रो भयो,’धन्छाले सम्झिए,‘अहिले त सबै बानी भइसक्नु भयो । तर हामीले सुधार गर्र्नु पर्ने अझ धेरै छ ।’
धन्छाको शब्दमा विद्यालयको सुधार र आकर्षण बढ्नुमा शिक्षकको लगनशिलता र मेहनत प्रमुख कारण हो । नेमकिपाका अध्यक्ष बिजुक्छेकी श्रीमती शोभा प्रधान (बिजुक्छे) पनि यही विद्यालयकी नेपाली बिषय शिक्षिका हुन । उनी बिरामी हुदाँ बाहेक नियमित विद्यालय आउँछिन । ‘नेताको श्रीमती भन्दैमा विद्यालय नआउने, नपढाउने छुट हुदैन,’ धन्छाले आफ्नो प्रशासनिक नियम कडा मिजासमा बताए,‘विद्यालय बाहिर कोही नेता होला, कोही नेताको पारिवारिक आफन्त । विद्यालय भित्र छिरेपछि ऊ शिक्षक हो । मात्रै शिक्षक । उसको भूमिका कक्षामा विद्यार्थीलाई सिकाउने हो । विद्यार्थीसित सिक्ने हो । यो आचार संहिता मेरो विद्यालयमा पूर्ण रुपमा लागू भएको छ ।
नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रय अध्यक्ष ज्ञानसागर प्रजापति पनि यही विद्यालयका नेपाली बिषय शिक्षक हुन । उनी बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म विद्यालयमा हुन्छन् । संगठनको काम छ भने विदा लिएर जान्छन् । ‘यस बर्ष त पाँच दिन मात्रै विदा लिएँ,’प्रजापति भन्छन,‘विद्यार्थीको भविष्य भन्दा राजनीति ठूलो होइन । पहिले म शिक्षक हुँ । अनिमात्रै शिक्षक राजनीतिको नेतृत्वकर्ता ।’

गुणस्तरीय शिक्षा दिन नीजि स्रोतबाट २५ जना शिक्षक राखिएको छ ।  पूर्व प्राथमिक कक्षामा दुई जना शिक्षिका छन् । २० जना बराबर एक जना शिक्षक राखे मात्रै नतिजा राम्रो हुने विद्यालयको अनुभव छ । नीजि स्रोतका शिक्षकलाई  तलब दिन विद्यार्थीसंग शुल्क लिने गरिएको छैन । विद्यालय स्वामित्वको च्यामासिंह चोकको ६ वटा सटर भाडाबाट बार्षिक ६ लाख रुपैया उठाउने गरिएको छ । यसलाई शिक्षक तलब र अन्य व्यवस्थापमा खर्च गर्ने गरिएको उनले जनाए । त्यसबाहेक प्लस टुका विद्यार्थीसंग लिएको शुल्कको बचतले पनि विद्यालय व्यवस्थापनमा खर्च गर्ने गरेको धन्छाले जानकारी दिए ।
विद्यालयको अर्को आकर्षण छ, नर्सरीदेखि १ कक्षासम्म विद्यार्थीलाई विद्यालयलेनै खाजा खुवाउँछ । यस बापत अविभावकसंग मासिक ३ सय रुपैया लिने गरेको छ । अभिभावक आफैले व्यवस्थापन गर्दा त्यो रकम कम्तीमा ४ सय रुपैया हुने हिसाब धन्छाले देखाए । १ सय कममा विद्यालयले खाजा खुवाउने भएपछि अभिभावक पनि दंग छन् ।

नीजि विद्यालयका विद्यार्थीसंग प्रतिष्पर्धी बनाउन १ देखि १० कक्षासम्म  विद्यालयले कम्प्युटर शिक्षा समेत अध्यापन गराउने गरेको छ । यस बापत निमावि तहसम्म एक र मावि तहका विद्यार्थीले मासिक २ सय रुपैंया   शुल्क तिर्नु पर्छ । 

विद्यालयले एक दिन पनि गयल नहुने शिक्षकलाई बोनस समेत दिने गरेको छ । ‘सार्वजनिक बिदा बाहेक अन्य दिन उपस्थित हुने शिक्षकलाई एक महिनाको तलब दिने गरिएको छ,’ प्रधानाध्यापक धन्छा भन्छन् । विद्यार्थीलाई छात्रबृति उपलब्ध गराउन शिक्षक कर्मचारीले बर्षको एक दिनको तलब विद्यालयको छात्रबृति कोषमा जम्मा गर्ने गरेका छन् । कोषमा २ लाख रुपैया जम्मा भइसकेको छ । एसएलसीमा राम्रो नतिजा ल्याए बापत जिल्ला शिक्षा कार्यालयले दिने पुरस्कार पनि यही कोषमा जम्मा गरिएको छ ।  यतिसम्म कि कुनै शिक्षकले तालिममा जाँदा पाएको भत्ता समेत यही कोषमा जम्मा गर्ने नियम छ । ‘विद्यालयबाट प्रतिनिधित्व गरेर कुनै कार्यक्रममा जाँदा भत्ता दियो भने त्यो भत्ता अनिवार्य विद्यालयको कोषमा जम्मा गर्नु पर्ने नियम बनाइएको छ,’प्रधानाध्यापक धन्छाले भने । 

शिक्षक अनुपस्थित भएर अहिलेसम्म कुनै कक्षा खाली भएको छैन । कुनै बिषय शिक्षक काम विशेषले अनुपस्थित भए कक्षा नभएका शिक्षकलाई उक्त कक्षामा पठाउने गरिएको छ । यसरी पढाउँदा शिक्षकले अतिरिक्त काम गरे वापतको पैसा (ओटी) पाउने गरेका छन् । यसो हुँदा कोही शिक्षक म किन पढाउन जाउँ भन्ने मानसिकतामा हुन्नन्, खुसी साथ जान्छन् , धन्छाको तर्क छ । विद्यालयका अनुसार प्राविमा कक्षा खाली हुँदा अर्को शिक्षकले कक्षा लिएमा प्रति कक्षा २० रुपैया, निमाविमा ३०, माविमा ४० र उच्च माविमा एक सय रुपैंया पाउँछन् ।

अंग्रेजी शिक्षक राजन लाखाले विद्यालयको शैक्षिक वातावरणले शिक्षकलाई काम प्रति जिम्मेवार र दायित्व बोध गराएको बताए । ‘यो विद्यालयमा कहिल्यै कक्षा खाली भएको देखेको छैन,’उनी भन्छन्,‘शिक्षकहरु बीच कोर्डिनेशन गरेर पढाउँदा विद्यार्थीमा उत्साह बढेको छ ।’ र विद्यार्थीले कक्षा छल्ने सम्भावना पनि यहाँ एकदम कम छ, किन भने प्रअ धन्छा आफै कुन विद्यार्थि किन आएन अभिभावकलाई फोन गरेर सोधि हाल्छन् ।
विद्यालयको आर्थिक व्यवस्थापन पारदर्शी बनाउन वेभसाइट चलाइएको छ । बागेश्वरी साप्ताहिक बुलेटिन समेत प्रकाशन गर्ने गरिएको छ । यसमा विद्यालय र कलेजको गतिविधि छापिन्छन् ।
नतिजा राम्रो बनाउन कमजोर विद्यार्थीको तहगत क्षमता अनुसार सिकाइ क्रियाकलापमा जोड दिइएको छ । कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था छ । त्यसका लागि विद्यार्थीले शुल्क तिर्नु  पर्छ, प्रावि तहकाले ५० रुपैया, निमावि तहकाले १ सय र मावि तहकाले २ सय रुपैया । ‘अन्य विद्यालयबाट आएका विद्यार्थी कमजोर हुन्छन् । अंग्रेजी माध्यमबाट पढाउँदा बुझदैनन्,‘ त्यसको कारणबारे धन्छाले भने, ‘यस्ता विद्यार्थीलाई एक्सट्रा कक्षामा राख्नु पर्ने हुन्छ । त्यसरी पढाउने शिक्षकलाई थप पैसा दिनु पर्ने भएकाले त्यो विद्यार्थीबाट नै लिने गरिएको हो ।’

यस विद्यालयमा विद्यार्थीमात्रै निजी छाडेर आएका छैनन्, नीजि विद्यालयमा  शिक्षण पेशा छाडेर बागेश्वरीमा पढाउन आउने शिक्षक पनि छन् । त्यसै मध्येकी हुन् श्रीया पहिजु, जो दश वर्ष एउटा निजी विद्यालयमा शिक्षक थिइन् । ‘नीजि विद्यालय कसरी नाफा हुन्छ भन्नेमा केन्द्रीत हुन्छन्,’उनी भन्छिन,‘सामुदायिक भएकाले होला यहाँ त्यस्तो छैन । शिक्षक साथीहरु सबै मेहनति छन् । नियमित कक्षा, विद्यार्थीलाई  होम ओर्क दिने र परीक्षण गर्ने काम मैले पढाएको निजीमा भन्दा मलाई यहाँ राम्रो लाग्यो ।’

विद्यायल व्यवस्थापन समितिका अध्यक्ष काशिलाल प्रजापतिले राजनीतिक हस्तक्षेप मुक्त बनाएकाले विद्यालय यो अवस्थामा आएको बताए । ‘विद्यालयलाई कुनै पनि हस्तक्षेप गर्नु हुदैन । सल्लाह मात्रै दिने हो,’ उनी भन्छन, ‘एकाडेमिक क्षेत्रको काम शिक्षक, कर्मचारी र हेडमास्टरलाई जिम्मा दिनुपर्छ । विद्यालयमा पूर्वाधार कमी कमजोरी के छ त्यो मात्रै व्यवस्थापन समितिले हेर्नुपर्छ ।’

विद्यालयले पूर्व प्राथमिक तहका बालबालिकालाई रमाइलो गरेर पढाउन बाल उद्यान बनाउने योजना बनाएको छ । तर, बजेट अभावले सकेको छैन । त्यस्तै कम्प्यूटरको कक्षा लिइरहेको बेला लोडसेडिङले समस्या पारेपछि ल्यापटप मार्फत सिकाउने योजना अघि सारेको छ । ‘कतैबाट सहयोग पायौँ भने यो ब्यवस्था गर्छौ,’ प्रधानाध्यापक धन्छाले भने ।

विद्यालयबाट कति विद्यार्थीले एसएलसी, प्लस टु उतिर्ण ग¥यो भन्ने अभिलेख नै यो विद्यालयको सफलताको प्रमाणपत्र हो । यस विद्यायललाई ०६३ र ०६४ मा उच्च माध्यमिक शिक्षा परिषद्बाट मध्यमाञ्चल उत्कृष्ठ उच्च माविको रुपमा पुरस्कृत गरेको थियो । त्यस्तै शिक्षा कार्यालयले एसएलसीमा विद्यार्थी उतिर्ण गराएको आधारमा प्रत्येक बर्ष जिल्लाको उत्कृष्ठ विद्यालय ‘क’ श्रेणी घोषित गरेको छ । जिविस भक्तपुरले उत्कृष्ठ विद्यालय घोषणा गरिरहेको छ । विद्यालयको योगदानलाई सम्मान गर्दै उच्च माध्यमिक शिक्षा परिषद्ले ५२ सिटको एउटा बस पनि प्रदान गरेको छ ।
‘विद्यालयको प्रगतिमा शिक्षक, कर्मचारीको मेहनत र विद्यार्थीको लगनसिलता हो,’धन्छाले भने । समुदायको निरन्तर सहयोग र छिमेकी विद्यालय तथा संघ संस्था सितको सम्बन्ध पनि सफलताको अर्को कडी भएको उनको ठम्याई छ ।

विद्यालयको यत्रो सफलतापछि प्रधानाध्यापकको कुर्सीमा बस्दा धन्छालाई के लाग्दो हो ? ‘क्यै लाग्दैन’, उनले सामान्य उत्तर दिए, ‘शिक्षक हो शिक्षकले पढाउनै पर्यो । विद्यार्थी हो विद्यार्थीले पढ्नु पर्यो । आफ्नो जिम्मृेवारी अनुसार जिम्मेवारी पुरा गरे सफलता पछि पछि आउँछ ।’
त्यसो भए अब बागेश्वरी सामुदायिक शिक्षामा अब्बल भइसकेको हो ? ‘होइन, हामीले गर्नु पर्ने, सुधार्नु पर्ने र विद्यालयलाई अब्बल बनाउन चाल्नु पर्ने कदम धेरै छ । भएका सामुदायिक मध्ये हामीले केही राम्रो गरेको पक्का हो । अहिले नै र यो नै उत्कृष्ट हो भनेर सन्तुष्टि लिने बेला भएको छैन ।’
र धन्छा कुरै पिच्छे भन्छन्, ‘सामुदायिकका शिक्षक, प्रधानाध्यापकले कम्तीमा आफूलाई विश्वास गर्नु पर्यो । आफू सामुदायिक विद्यलाय पढाएर आफ्ना छोराछोरी निजीमा पठाउनु भएन । आफूलाई विश्वास गरेर आफ्ना छोराछोरी पनि आफैले पढाउने सामुदायिकमा भर्ना गर्नु पर्यो । आफ्नो क्षमतालाई पहिले आफैले विश्वास गर्नु पर्यो ।’

जुन कुरा भक्तपुर च्यामासिंहको वागेश्वरी उच्च माविका प्रधानाध्यापक धन्छा र उनका शिक्षकले गरिरहेका छन् ।

प्रतिक्रिया