Edukhabar
मंगलबार, ११ मंसिर २०८१
खबर/फिचर

गाउँका प्लस टु : विद्यालय छ, विद्यार्थी छैनन् !

बुधबार, २० साउन २०७२

- छवि अनित्य / परमेश्वर बर्तौला / मकवानपुर २० साउन / कुनै समय च्याउसरी खुलेका मकवानपुरको ग्रामीण भेगका सामुदायिक उच्च माध्यामिक विद्यालयहरुमा विद्यार्थी नहुँदा समस्या भएको छ । उच्च माविको सम्बन्धन लिए पनि विद्यार्थी नै नआउँदा सञ्चालन खर्च धान्न नै हम्मे हम्मे परेको छ । 'विद्यार्थि संख्या कम छन् । दक्ष शिक्षक राख्दा खर्चपनि उत्तिकै हुन्छ । कसरी प्लस टु सञ्चालन गर्न सकिन्छ र !' चण्डीका उच्च माध्याम्मिक विद्यालय शिखरकटेरीका प्राचार्य दाशरथी उपाध्यायले दुखेसो पोखे ।

उनी भन्छन्, ‘यो वर्ष वैशाख देखिकै तलब खुवाउन सकिएको छैन । धन्न शिक्षकहरुले पढाइरहेका छन् ।’

शुरुशुरुमा त गाउँगाउँमा प्लस टु सञ्चालन गर्न होडबाजी नै चल्यो । कहीँ चन्दा उठाएर त कहीँ महायज्ञ लगाएर प्लस टु खोलियो । अहिले सञ्चालन गर्न सकस हुनुमा स्थानीयस्तरमा हुने राजनितिक खिचातानी पनि हो भन्छन् प्राचार्य उपाध्याय ।

‘पहिले प्लस टु खोल्न पाए के के न होला भन्ने लाग्यो ।’ उपाध्यायले भने, ‘अब अहिले राजनीतिक खिचातानीले पनि एक अर्कालाई असहयोग गर्नेहरु बढेका छन् । यसले पनि गाउँघरका उच्चमाविहरु सुक्न थालेका हुन् ।’

यो समस्या सामुदायिक उच्च माविमा मात्रै छैन । निजि क्षेत्रमा खुलेका उच्च माविको पनि उस्तै हालत छ । भनेजस्तो संख्यामा विद्यार्थी नपाउँदा जिल्लाका दुई नीजि विद्यालय, हेटौँडा एकेडेमी र ज्ञानदीप शिक्षा निकेतनको उच्चमाविको सम्बन्धन नै खारेज भयो । सम्बन्धन लिएर पनि विद्यार्थि नहुँदा चारबर्ष सम्म प्लस टु पढाउन नसकेपछि उच्चमाध्यामिक शिक्षा परिषद्ले खारेजिको प्रक्रिया अघि बढाएको थियो । उनिहरुसँगै परिषद्ले स्पष्टिकरण सोधेका हेटौंडा क्याम्पस * र सोडिड्यारिटि उच्च मावि भने खारेजीबाट मुस्किलले जोगिए ।

सोलीड्यारीटी उच्चमाविले सीमित विद्यार्थी भर्ना गरेर भएपनि प्लस टु सञ्चालन गर्छु भनेपछि यस वर्ष खारेजीबाट जोगिएको हो । प्राचार्य रिना आचार्यलाई नीजि  विद्यालयमा प्लस टु पढ्दा विद्यार्थीलाई स्वतन्त्र महसुस नहुने हुँदा भर्ना गर्नै नमान्ने परिस्थित बनेको हो की ? भन्ने लागेको छ ।

‘दश वर्षसम्म स्कुलमै पढेका हुन्छन् । एसएलसी पछि पनि फेरि स्कुलकै प्लस टुमा भर्ना हुँदा ‘फेरि स्कुलमै आएँ !’ भन्ने हुन्छ । प्रिन्सिपल आचार्यले विद्यार्थी ठूला क्याम्पसहरुमा आकर्षित हुनुको कारण खोतल्दै भनिन्, ‘हामीसँग थोरै विद्यार्थी हुन्छ । सबैलाई व्यक्तिगत ध्यान दिन्छौं । तर उनिहरु स्वतन्त्रता चाहने रहेछन् ।’

सरकारी अनुदान कोटाको राहत

सरकारले विद्यार्थी कम हुँदा पनि जेनतेन चलिरहेका प्लस टु सञ्चालन सहज होस् भनेर जिल्लाका विभिन्न उच्चमाबिहरुलाई ५५ जनाको दरबन्दी दिएको छ । जिल्लामा प्राप्त ५६ मध्ये ५५ वटा दरबन्दी वितरण भयो । तर न्यूनतम विद्यार्थी संख्या पनि पु¥याउन नसकेपछि फाखेलको महाचुली उच्चमाविले भने यही दरबन्दी पनि पाउन सकेन ।

‘त्यस विद्यालयको दरबन्दी सुरक्षित छ ।’ जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद पौडेलले भने, ‘तर आवश्यक न्यूनतम विद्यार्थी पनि पूरा नभएको उच्चमाविलाई अनुदान कोटाको शिक्षक दरबन्दी दिन मिल्दैन ।’

शिक्षकलाई तलब खुवाउनै नसकेर समस्या झेलिरहेका उच्चमाविहरुलाई यसले ठूलो राहत दिने जिशिअ पौडेलेका भनाई छ । उनका अनुसार यसरी गएको दरबन्दीको शिक्षकले मावि दोस्रो श्रेणी बराबरको तलब सुविधा पाउँछ र त्यो पूर्णकालिन शिक्षक हुन्छ । यसरी गएको शिक्षक अर्को विद्यालयमा चाहारिरहन पाउँदैन ।

मकवानपुरमा यसै वर्ष सम्बन्धन लिएको राष्ट्रिय रोटरी उच्चमावि मनहरी बाहेक विद्यार्थी संख्या पुर्याएका सबै विद्यालयले यस्तो कोटा पाएका छन् । जिशिअ पौडेलका अनुसार उच्चमावि सञ्चालन गर्न विद्यार्थी मात्र नभै शिक्षकको उपलव्धता पनि प्रमुख चुनौती हो ।

समस्यै समस्याबाट गुज्रीएको प्लस टु सञ्चालनका लागि सरकारले दिएको दरबन्दीले केही हदसम्म भरथेग त गर्ला । तर, गुणस्तरीय शिक्षा भन्दै शहर ताक्ने विद्यार्थीलाई घरकै छाक खाएर उनिहरुले खोजेजस्तो शिक्षा दिन गाउँले प्लस टुको लागि चुनौति हो ।  सरकारले दिएको दुईवटा दरबन्दी मात्रै यसका लागि पर्याप्त हुने अवस्था छैन । यसका लागि त दक्ष शिक्षकहरुलाई शहर छाडेर गाउँमै बस्न प्रेरित गर्ने खालको शैक्षिक नीति निर्माण तर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्छ ।

तस्विर : ईन्टरनेट

* हेटौंडा क्याम्पस हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ - सं.

प्रतिक्रिया