Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

त्रिवि केन्द्रीय क्याम्पसमा दिनभर तनाव

मंगलबार, ०८ बैशाख २०७२

त्रिवि केन्द्रीय क्याम्पसमा दिनभर तनावआन्दोलित समाजशास्त्रका विद्यार्थीले गरे तोडफोड, विभागीय प्रमुख ओम गुरुङको राजीनामा माग

काठमाडौं ८ वैशाख / त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका विद्यार्थीले केन्द्रीय क्याम्पस कीर्तिपुरस्थित विभागको कार्यालयमा तोडफोड गरेका छन् ।

विभिन्न माग राखी समाजशास्त्रअन्तर्गतका विद्यार्थीले तालाबन्दी गरेका थिए । तर, आन्दोलनरत विद्यार्थीलाई विभागीय प्रमुखले अपमान गरेको भन्दै उनीहरू तोडफोडमा उत्रिएका हुन् ।

समाजशास्त्र विषयका तेस्रो सेमेस्टरका विद्यार्थी हरिप्रसाद आचार्यले समाजशास्त्र/मानवशास्त्रका विभागीय प्रमुखले समाजशास्त्रका विद्यार्थीलाई अपमान गरेपछि आक्रोशित विद्यार्थीले झ्याल तोडफोड गरेको बताए । आचार्यले भने, ‘विभागीय प्रमुखजस्तो जिम्मेवार व्यक्तिले सार्वजनिक ठाउँमा विद्यार्थी आन्दोलनले मेरो रौँ पनि हल्लिन्न भनेपछि विद्यार्थी आक्रोशित भएर तोडफोड गरेका हुन् ।’

पहिलो र दोस्रो सेमेस्टरमा दुई सेक्सनमा राखेर पढाइएका विद्यार्थीलाई तेस्रो सेमेस्टरमा एकै सेक्सनमा गाभिएपछि विद्यार्थी असन्तुष्ट भएका थिए । त्रिविको मानवशास्त्र तथा समाजशास्त्र विभागले विद्यार्थी संख्या घटेको र शिक्षक अपर्याप्त रहेको भन्दै दुई सेक्सनलाई गाभ्ने निर्णय लिएको थियो । विद्यार्थीले भने मानवशास्त्र र समाजशास्त्रका विद्यार्थीलाई काखा र पाखाको व्यवहार गरिएको भन्दै आन्दोलन गरिरहेका छन् ।

आइतबार एमए र एमफिलका विद्यार्थीले आन्दोलन अघि बढाउन हरिप्रसाद आचार्यको संयोजकत्वमा समिति बनाएका छन् ।

समितिले समाजशास्त्र विषयको छुट्टै केन्द्रीय विभाग बनाउनुपर्ने र अहिलेको समाजशास्त्र/मानवशास्त्रका विभागीय प्रमुख ओम गुरुङले राजीनाम दिनुपर्ने माग राखेका छन् । विभागीय प्रमुख गुरुङ मानवशास्त्रका प्राध्यापक भएकाले समाजशास्त्रलाई सिध्याउन खोजेको विद्यार्थीको आरोप छ ।

मानवशास्त्रमा जम्मा ३६ जना विद्यार्थीका लागि २० प्राध्यापक छन् । समाजशास्त्रमा पहिलो र तेस्रो सेमेस्टरमा गरी करिब सय विद्यार्थीका लागि केवल १० प्राध्यापक छन् । शिक्षक अभावकै कारण ऐच्छिक विषय छनोट गर्ने अवसरबाट वञ्चित भएको विद्यार्थीको गुनासो छ ।

नयाँ पत्रिका : http://www.enayapatrika.com/2015/04/3020

प्रतिक्रिया