काठमाडौं ९ वैशाख / सेन्टजेभियर्स स्कुलका संस्थापक अमेरिकी नागरिक फादर थोमस ई ग्याफ्नेको १६ बर्ष अघि हत्या गर्ने व्यक्तिलाई प्रहरीलाई पक्राउ गरेको छ । ग्याफ्ने झम्सीखेलस्थित आफ्नै निवासमा मृत फेला परेका थिए ।
महानगरीय प्रहरी अपराध महाशाखाले हत्या अभियुक्त ४३ वर्षीय गोकुल भनिने ढालबहादुर खडालाई पक्राउ गरेको हो । दोलखा फस्कु घर भएका खडका ६५ वर्षीय ग्याफ्नेको हत्या गरी भारततर्फ पलायन भएका थिए ।
महाशाखाको टोलीले खडकालाई झापाको काँकडभिट्टाबाट पक्राउ गरेको हो । उनले २०५४ मंसिर २८ गते ग्याफ्नेलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
महाशाखा प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) पुष्कर कार्कीका अनुसार खडकाले मजदुरीको पैसा नदिएको झोंकमा ग्याफ्नेको हत्या गरेको बयान दिएका छन् । एक चिनारुमार्फत ग्याफ्नेलाई चिनेका उनी घरायसी काममा सघाउन झम्सीखेल निवासमा बरोबर आउजाउ गर्थे ।
हत्यामा खडकालाई अरु कसैले मद्दत गरे/नगरेको बिषयमा अनुसन्धान भईरहेको कार्कीले बताए ।
महाशाखाका अनुसार योजनाबद्ध रुपमा उक्त घटना भएका देखिन्छ । खडका घरबाटै दापसहितको खुकुरी लिएर राती ८ बजे ग्याफ्ने निवास पुगेका थिए । जहाँ उनलाई जुनसुकै बेला आउनजान खुल्ला थियो ।
घटनाको भोलिपल्ट बिहान घरायसी कामदार रञ्चन योञ्जन आइपुग्दा ग्याफ्नेलाई मृत फेला पारेका हुन् । त्यसपछि योन्जनले छिमेकमा बस्ने अर्का फादरलाई खबर गरेका थिए । 'ग्याफ्नेको सुत्ने कोठामा पुगेर खुकुरी टेबल मुनी लुकाएर राखेपछि दुवैले साथै राती साढे १० बजेसम्म कफी खाएका थिए' कार्कीले भने 'त्यहि बेला खडकाले पैसाको कुरा झिकेर बिबाद सुरु गरी गर्धनमा खुकुरीले हानेको पाइयो ।'
हत्यापछि उनले ग्याफ्नेको दराजमा रहेको २२ हजार रुपैंया चोरेर लगेको समेत प्रहरीले जनाएको छ । तर त्यो बेला घटनास्थलामा फेला परेको प्रमाण अनुसार ग्याफ्नेको घरमा घटना हुनु एकदिन अघि बैङकबाट झिकेर ल्याएको १ लाख ३६ हजार रुपैंया समेत हराएको थियो । घटनास्थलबाट प्रहरीले उनको आय र ब्यय बिबरण लेखिएको डायरीले उक्त पैसा भएको देखाएको थियो ।
संयूक्त राष्ट्रसंघ दिवसका दिन भएको घटनाको अनुसन्धानका लागि प्रहरीले दर्जनौं ब्यक्तिलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका लागि त्यो बेलाको उपत्यका अपराध अनुसन्धान शाखाका संयोजक हेमबहादुर गुरुङको संयोजनमा समिती नै बनाइएको थियो । उक्त समितीले केहि पत्तो लगाउन सकेन । अनुसन्धान पुरा नहुदैं गुरुङको सरुवा भयो र उनकेा स्थानमा भरत जिसी आए । त्यहाँ काम गर्ने योञ्जन र मालीलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको थियो ।
घटनास्थलबाट प्रहरीले खुट्टाको छाप फेला पारेको थियो । रगतमा टेकेर हिडदाका छापहरु फेला परेका थिए । यस्तै ग्याफ्नेको घरकै बाथरुममा रगत लागेको खुकुरी धोइएको थियो । खडकाले शरिरमा लागेको ललितपूरको कालोपुलमा पुगेर रगत लागेको कपडा फ्यालेर भागेका थिए । घटनाको अर्को दिन ग्याफनेको हत्याका बिषयमा हल्ला सुनेपछि पक्राउ पर्ने डरले खडका भागेको प्रहरीले जनाएको छ ।
उनी कलंकीबाट ईटहरी जाने बस चढेर काँकडभिट्टा हुदै भारत पुगी भरियाको काम गर्दै बसेका थिए । यो बिचमा ग्याफ्ने हत्याकाण्ड सुल्झाउन प्रहरीले धेरै मिहेनत गरेको थियो । तीन दर्जनभन्दा बढि ब्यक्तिलाई सोधपुछ गरिएको थियो । सोधपुछका क्रममा प्रहरीले ग्याफ्नेको घटनामा खडकाको संलग्नता रहेको आशंका गरेको थियो । 'नियमित आउने जाने गरेका ब्यक्ति अचानक हराए' एसएसपी कार्कीले भने 'सिनबाटै आउट भएपछि उनै माथी आशंका गरिएको थियो ।' त्यो बेला अनुसन्धान गर्ने टोली खडकाको घर दोलखा पुगेको थियो । घटनास्थलमा फेला परेको पैतलाको छापका आधार त्यसको डिएनए परिक्षणका लागि भारत पठाइएको थियो । बीचमा नयाँ घटना र द्धन्दका घटनाहरु बढदै गएपछि यो घटना छायाँमा परेका थियो ।
केहि समयअघि केन्दि्रय अनुसन्धान ब्युरोले समेत यो घटना अनुसन्धानको प्रयास गरेको थियो । ब्युरोको टोली दोलखास्थित खडकाको घरमा जादाँ घरका र छरछिमेकीले कहिल्यै नआएको बयान दिएका थिए । 'त्यो बेलादेखी सम्पर्क बिहीन भएको ब्यक्ति द्धन्दकालमा नै मारियो भन्ने शंका परिवारका सदस्यको थियो' अनुसन्धान गर्ने ति अधिकारीले भने 'बेवारिसे फेला परेका शबमध्ये कुनै खडकाको हुनसक्ने भान प्रहरीलाई समेत थियो ।'
को थिए ग्याफ्ने
घटना हुनुभन्दा ३५ बर्षअघि देखी नेपाल आएर बसेका ग्याफ्ने प्रसिद्ध समाजसेवी थिए । सेन्टजेभियर्स स्कुलका संस्थापक अध्यक्ष रहेका उनले महालक्ष्मी स्थान क्षेत्रमा लागू औषधमा लागेका युवाहरुको सुधारका लागि सुधारगृह समेत सञ्चालन गरेका थिए । समाजबाट उपेक्षित क्यान्सर पिडीत, नेत्रहिन लगायतहरुलाई उनले खुलेर सहयोग गर्ने गरेकै कारण घटना हुनु १२ बर्षअघि सरकारले उनलाई नेपाली नागरिकता प्रदान गरेको थियो । उनी लागु औषध बिरुद्धको अभियानका अगुवा समेत थिए । अमेरिकाको ओहायमा जन्मिएपनि कर्मभुमी नेपाललाई बनाएका ग्याफ्नेको अन्तिम संस्कार हिन्दु परम्परा अनुसार भएको थियो ।
प्रतिमा बास्कोटा : http://www.ekantipur.com/np/2072/1/8/full-story/407681.html
प्रतिक्रिया