Edukhabar
सोमबार, १० मंसिर २०८१
अन्तैवाट

शैक्षिक विकृति चरम विन्दुमा

विहीबार, १० बैशाख २०७२

- एचके श्रेष्ठ / चरम नाफामुखी बन्दै गएको शिक्षा नेपालमा औद्योगिकीकरणको मार्ग अवलम्वन गर्दे अघि बढ्दै छ। शैक्षिक उद्देश्य हासिल गर्न दक्ष जनशक्तिलगायत समाज र राष्ट्रलाई आवश्यक शैक्षिक सरोकारका हरेक पक्षहरू उत्पादन गर्ने उद्योग नभएर बजारमुखी, अर्थमुखी, किफायत केन्द्रित पुँजीवाद तथा बुर्जुवा औद्योगिकीकरणमा परिणत भएको छ।

शिक्षामा औद्योगिकीकरणको मतलब लगानी, उत्पादन, बजार, डिस्ट्रिब्युटर, डिलर, सब–डिलर, होलसेल, खुद्रा हँुदै ग्राहकका प्रक्रियामा बानी परिसकेको छ। जबकि हरेक मानिसको नैसर्गिक तथा मानवअधिकारको कुरा शिक्षा त्यो ढंगको औद्योगिकीकरणमा परिणत हुँदा कतिसम्म व्यापारीकरण भएको रहेछ भन्ने कुरा लाटोले पनि अड्कल पाउन सक्छ।

यही औद्योगिकीकरणको सञ्जालको कब्जामा रहेको शिक्षाविद्, विशेषज्ञ, शिक्षक वा प्राज्ञिक तथा बौद्घिक जगत्बाट अपहृत भएको छ। शिक्षाको ठेक्का पत्रकारिता, उद्योगपति, साहुमहाजन, दलाल, प्रकाशनगृह, वैदेशिक नेपाली यात्रु र राजनीतिक दलहरूले लिएका छन्। शिक्षामा सबैको पहुँच नीतिलाई खिज्याउँदै र व्यङ्ग्य गर्दे संख्याको हिसाबले मुठीभर र भूगोलको हिसाबले लगभग ५ प्रतिशतको कब्जामा कैद हुन पुगेको छ शिक्षा।

विदेशी स्ट्यान्डर र शैलीका टाई–सुटमा सजिएका विदेश पढेका एकाध शहरका आकर्षक कलरका फोटा र युरोप, अमेरिकाका उत्कृष्ट कलेज, स्कुलका जिब्रो बटारेर उच्चारण गर्न पर्ने लोकतान्त्रिक नामसहितका हाइफाइ डिजाइनका नगन्य संख्याका भवनहरूका फुल पन्नाका विज्ञापन छाक टार्न नसक्ने नेपाली जनताले शिक्षा भनेर पढ्न बाध्य छन्। यी मुठीभर वर्गका जय, विजय गराउने काम पत्रकारिता वा आमसञ्चारमाध्यमले पनि गरेको छ।

काठमाडौं, पोखरालगायतका नगन्य प्रतिशत शहरी भूगोलमा फस्टाएको शिक्षा तिनै मिडिया स्रोतमार्फत मुलुकभर भ्रम छर्न सफल छ र सबै वर्गको मनोविज्ञान कब्जा गरी शिक्षा बिक्री गर्न सफल छ। दश रुपियाँ तिरेर विभिन्न सूचना लिन किनेको अखबारैभरि शहरकेन्द्रित शिक्षाको विज्ञापन जबर्जस्त लादेर अन्य सूचनाको हक अपहरण गर्ने मिडिया हाउसहरू उनीहरूको सहयोगी बन्दै आएका छन्। उद्योगपतिहरूका राम्रो कम्पनी शिक्षा भएको छ। जो न त राज्यको नीति नियमभित्र चल्छ न त कम्पनी ऐन नै लागु हुन्छ ? जसले गर्दा उक्त क्षेत्रको लगानीमा मनपर्दी गर्न मिल्छ र आयस्रोतको गतिलो स्रोत बन्छ।

त्यसो त दलाल फस्टाउन गतिलो स्रोतसमेत बन्यो शिक्षा। आज कलेज, स्कुलको प्रचारप्रसार गरिदिएबापत, सम्पर्क गराएबापत, विद्यार्थी–अभिभावक पट्याइदिएबापत र पर्चा–पम्प्लेट छरिदिएबापत राम्रो कमाइ गर्ने गैरप्राज्ञिक दलालहरूको कमाइको स्थायी स्रोतमा परिणत भएको छ शिक्षा। उता प्राज्ञिक जगत्ले विषय विशेषज्ञता वा दक्षताको नाममा एकमुष्ट मोटो रकमको भरमा जाँदै नजाने र कार्यरत नभएको स्कुल कलेजमा नामको बोर्ड झुन्ड्याउन दिएर दलालको भूमिका निभाउन लाज मानेका छैनन्। ‘शिक्षा’ सबै उपरिसंरचना र विकासका पूर्वाधारहरूका सेतु बन्नुपर्ने हो। राजनीतिको पनि असल नीतिभित्र पर्नुपर्ने हो। तर चीज त्यसो नभएर राजनीतिक संक्रमणकाल नै शैक्षिक विकृतिको मलजल बनेको छ। पँुजीवादको चपेटामा परेको बुर्जुवा शिक्षाको चरम विकासजस्तो ठानिएको छ।

राजनीतिक दल शिक्षाको प्रखर निर्देशक बनेको छ। निजी शैक्षिक संस्थाहरू राजनीतिक दलहरूलाई मोटो रकम लेबी बुझाएको भरमा मनपर्दो गर्ने लाइसेन्सप्राप्त छन् भने सरकारी संस्थाहरूमा शैक्षिक नियुक्तिमा पुस्तकको ज्ञान समाउनेभन्दा दलको झन्डा समाउने र झोला बोक्नेको नाम सर्टलिस्टमा पर्दछ। यस प्रक्रियामा नियुक्ति पाएका तथाकथित राजनीतिक शिक्षकहरू विद्यालय, कलेज, क्याम्पस, कक्षाकोठा, विद्यार्थी, शिक्षण सिकाइ प्रक्रियातर्फ भन्दा आ–आफ्नो पार्टीतर्फ बढी जिम्मेवार र लगनशील हुन्छन्। यदि सत्यतथ्य पत्ता लगाउन अनुगमन गर्ने हो भने प्रायः शैक्षिक संस्थाहरू कि त परिवार, हाडनाताको समूहको कब्जामा छ, या त एउटा विषय अध्यायन गरेको यक्ति अर्कै विषय शिक्षक भई पढाइरहेको अवस्था थुप्रै छन्। जसको परिणाम नेता–शिक्षकहरूकै विद्यालयको एसएलसी नतिजा जिरो वा नगन्य छ।

लोकतन्त्रको मन्त्र जपेर बसेको राज्य अमुक साक्षी मात्रै होइन प्रष्ट नीतिविहीन छ। शिक्षाको आधार हुन्छन्, जसअनुरूप सिंगो शिक्षा नीति तयार हुन्छ। सोही अनुरूप शिक्षा सञ्चालन हुन्छ तर यो मुलुकमा मानौं शिक्षाको आधार नै छैन। सरकारी नतिजा आधा प्रतिशतभन्दा पनि कम र निजी क्षेत्रको नतिजा केही बढी प्रतिशत हुने गरेको एसएलसी परिणामभित्र पनि निजी स्कुलहरूमा परीक्षामुखी सिकाइ जो मात्र ‘जब प¥यो राति तब बूढी ताती’ झैँ गरी १२ महिनामा दुई महिना लाठा लिएर पुरानो प्रश्न घोकाएर नतिजा राम्रो देखाउने परिपाटी आफैंमा घातक छ।

सामन्ती नोकरशाही प्रवृत्तिसहित अगाडि बढेको शिक्षाले समाजवादी भन्दा व्यक्तिवादी चिन्तन बोकेको पाइन्छ। राज्यसत्ता, राजनीतिक दल, विज्ञापन एजेन्सी, मिडिया हाउस, कन्सेसन पार्टी, बौद्घिक दास, शैक्षिक दलाल आदि सबैको सहयोगमा फस्टाएको मुठीभर हुनेखाने वर्गकेन्द्रित शिक्षा मालिकप्रति बफादार बनाउन व्यस्त देखिन्छ। शिक्षक विद्यार्थी, अभिभावक नै पनि उद्देश्य, नीति, सिद्घान्त, आवश्यकता आदिप्रति होइन, शैक्षिक मालिकप्रति इमानदार र बफादार बनाइने वातावरण हाबी छ।

शैक्षिक क्यालेन्डर चाडबाड, भोज, मनोरञ्जन, बन्द–हडताल, विभिन्न आन्दोलनहरूले भरिभराउ छ। पाठ्यभार राजनीतिक गतिविधिमा परिणत छ। शिक्षण–सिकाइ, परीक्षा, मूल्यांकनले परम्परा धानेको छ। सिकाइ तरिका, प्रविधि, सामग्रीहरू तालिमकेन्द्रहरूमा सिर्फ भत्ताको रूपमा सीमित छ। पाठ्यक्रम धन कमाउने स्रोतको भूमिकामा थन्किएको छ। काठमाडौंका सम्भ्रान्त वर्गलाई कम्प्युटर पढाएर डढेलधुरा, हुम्ला, मुगुलगायत मुलुकभरिका विकट क्षेत्रको कुरो गरिन्छ। शैक्षिक समाजलाई समाज सेवा होइन पैसा कमाउन प्रेरित गरिन्छ। सिक्न र ज्ञान आर्जन गर्न होइन उच्च डिभिजनको प्रमाणपत्र प्राप्त गर्ने ढंगले घोकन्ते विद्यामा जोड गरिन्छ।

सहकार्य–सहयोगी होइन दमनकारी र स्वार्थी हुन अभिप्रेरित गरिन्छ विद्यार्थीलाई। अमेरिकी शिक्षाविद् तथा समीक्षक जोहन हल्टले ‘स्कुल इज ब्यान्ड फर चिल्ड्रेन’ भनेर आलोचना गरेजस्तै भइसके शैक्षिक थलोहरू।

साभार : http://www.newsofnepal.com/new/bichar/2015/04/87958

प्रतिक्रिया