अरु साथीसँगी कापीकलम लिएर स्कूल गएको हेर्दै उनी टोलाउँछन् । छिनछिनमा उनले एउटै प्रश्न गर्छन्, म स्कूल जान किन नपाउने ? पाँच वर्षअघि देखि सोध्न लागेको यो प्रश्नको उत्तर अझै पाएका छैनन्। सिन्धुलीको भुवनेश्वरी गाविस–९, ग्वाल्टारमा बस्ने दस वर्षे बालक सन्तोष आछामीलाई जन्मदर्ता भएन भन्दै स्कूले भर्ना
लिएको छैन।
जब भर्नाको समय आउँछ, उनी स्कूल जान्छन्। तर वर्षेनी तिम्रो जन्मदर्ता छैन भन्दै वर्षेनी स्कूलले फिर्ता पठाउँछ । पाँच वर्षदेखि एउटा दलित बालक स्कूल भर्ना हुन नपाउँदा पनि स्थानीय नागरिक तथा अधिकारी कसैले पनि उनको जन्मदर्ताका लागि पहल गरेका छैनन् ।
सरकारको पाँच वर्ष उमेर पुरा भएका बालबालिकालाई विद्यालय भर्ना गराउँन घरघर पुगे पनि यी दलित बालक छुटेका छन् । पाँच वर्षदेखि विद्यालयमा पढ्न नपाएका आछामीको जन्मदर्ता बनाइदिने कोही नभएपछि उनको शैक्ष्कि भविष्य नै अन्योलमा परेको छ ।
विद्यालय भर्नाका लागि जन्म दर्तालाई अनिवार्य बनाइएको छ। स्कूल जान नपाएका सन्तोष विद्यालय जाने र फर्किने साथीहरुलाई केहीबेर रोकेर रमाउन खोज्छन् ।‘पढ्न मन त छ नी,’ आछामीले अन्नपूर्ण पोष्टसंग भने, ‘स्कुलमा भर्ना नै गरिदिदैनन् ।’ उनलाई यस वर्षको विद्यालय भर्ना अभियानले कतैबाट छोएको छैन् ।
दलितलाई विद्यालय तहको कक्षा निशुल्क पठनपाठन गराईदिने सरकारी नीति भएपनि जन्म दर्ता नहुँदा नजीकैका विद्यालयले आछामीलाई भर्ना लिन मानेका छैनन् । भर्ना हुन पाए अझै अरु साथीहरुसरह पढ्ने उनको इच्छा छ ।
सरकारले नयाँ विद्यार्थी भर्ना गर्दा अनिवार्य जन्म दर्ताको व्यवस्था गरेकाले नियम बाहीर गएर आफुहरुले भर्ना गर्न नसकिएको कौशीका उमावीका प्रध्यानध्यापक जयबहादुर कार्कीको भनाइ छ ।
‘भर्ना अभियान सुरु भएको छ तर, आछामी बालकका विषयमा बुझ्नु पर्छ,’ प्रअ कार्कीले भने, ‘जन्म दर्ता विना भर्ना गर्न सकिदै सकिन्न । बालकको जन्मदर्ताका लागि सबैबाट पहल हुनु पर्छ ।’ जन्मदर्ता लिएर आए उनलाई विद्यालयले निशुल्क अध्यापनको व्यवस्थापन गर्ने उनको भनाई छ ।
यस विषयमा जिल्ला शिक्षा कार्यालय सिन्धुलीका विद्यालय निरिक्षक नवराज बरालले पनि जन्म दर्ता विना विद्यार्थी भर्ना गर्ने कानुनी आधार नभएको बताए ।उनले भने, ‘तत्कालै बालकको भर्ना हुन पाउने अधिकार बन्चित नहुने गरी केही समय भित्रमा जन्मदर्ता बनाएर विद्यालयमा पेश गर्ने गरी कोही जिम्वेवार व्यक्तीले कबुलियत नामा गरे विद्यालयमा भर्ना गराउन सकिने छ ।’ अन्यथा प्रक्रिया विना त भर्ना गराउनै नसकिने बरालको तर्क छ ।
उता भुवनेश्वरी गाविसका सचिव मात्रीका पहाडीले भने, प्रक्रिया पुरा गरेर आए जन्मदर्ता गराईदिने बताए । उनको जन्म स्थानकहाँ भन्ने पनि छैन् । उनको बुबाको घर पनि कहा भन्ने जानकारी छैनन् । माओलमा बसेका भन्ने सुनिन्छ । बुबा नभएपनि अर्कैसंग गएको भएपनि आमा भएकाले जन्मदर्ता बनाउन कठिन भएको हो,’ सचिव पहाडीले भने ।
आमाको नागरीकता लिएर आए जन्म दर्ता गराई दिन सकिने उनको भनाइ छ । आफुल नियम भन्दा बाहीर गएर केही गर्न नसक्ने भन्दै यसका लागि स्थानीय सबैले पहल गरिदिनु पर्ने उनले बताए ।
आफ्नै बुबा कहाँछन भन्ने थाहा नभएको बताउँने आछामी, आफुलाई छाडेर अर्कै बुृबासंग गएकी आमाको सरणमा जाँदा आमा र बुबाले मार्छु, सुनकोसीमा बगाइदिन्छु भन्दै कुटपीट गरेपछि आफु फर्केर बृद्ध माओली हजुरबा आमासंग बसेको गुनासो गरे ।
जन्म दिने आमाले छाडेर अर्कैसंग गएकी र बुबा करीब दश वर्षदेखी वेपत्ता भएपछि उनको जन्मदर्ताका लागि सिफारीस गरिदिने समेत नभएका हुन् । उनका बाबुपटीका आफन्त तथा नातेदार पनि भए नभएको जानकारी छैन् ।
उनी दश वर्षदेखी दुबै आँखाका ज्योति गुमाएका वृद्ध डम्बरबहादुर रम्तेलसंग र थलामा परेकी हजुरआमासंग बस्दै आएका छन् । स्थानीयले दिएको दुईचार रुपैयाँ र मकै कोदोको भरमा उनीहरुको जिवन यापन भइरहेको छ ।
सम्पतीको नाममा एकटुक्रा घडेरीसम्म छैन् । पहराको छेमा सानो पालटाँगेर उनिहरु झुप्रोमा बस्दै आएका छन् । स्थानीय उनिहरुलाई सुकुम्बारी भन्ने गरेका छन्।
http://www.annapurnapost.com/News.aspx/story/10876#sthash.As4BcPDx.dpuf
प्रतिक्रिया