Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

एसएलसी दिने भूकम्पपीडित विद्यार्थीले स्थानान्तरण गर्न पाउने

शनिबार, ०९ जेठ २०७२

एसएलसी दिने भूकम्पपीडित विद्यार्थीले स्थानान्तरण गर्न पाउनेकाठमाडौं ९ जेठ / एसएलसीको रजिस्ट्रेसन भरेका १० कक्षामा अध्ययनरत भूकम्पपीडित विद्यार्थीले विद्यालय स्थानान्तरणको मौका पाउने भएका छन् । एसएलसी परीक्षा बोर्डले काठमाडौंमा अध्ययनरत विद्यार्थीलाई एकपटकका लागि अन्य जिल्लामा स्थानान्तरण गर्न पाउने निर्णय गरेको छ ।

काठमाडौंमा पढिरहेका विद्यार्थीले दार्चुलाका विद्यालयमा भर्नाका लागि समेत अनुमति मागेका छन् । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले त्रासमा रहेका विद्यार्थीलाई अरू जिल्लामा भर्ना हुन पाउने व्यवस्थाका लागि एसएलसी बोर्डले मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको बताए ।

‘काठमाडौंमा विद्यार्थी मानसिक तनावमा छन्, कक्षा १० मा पढिरहेकालाई एकपटकका लागि विद्यालय स्थानान्तरणको मौका दिने निर्णय भएको हो,’ नियन्त्रक द्वारेले भने, ‘यसअघि कर्मचारीको सरुवा भएमा उनका छोराछोरी, विवाह भई अन्यत्र गएमा र बसाइँसराइ भएमा मात्र विद्यालय स्थानान्तरण गर्न पाइन्थ्यो, भूकम्पपीडितका लागि नयाँ व्यवस्था गर्दै छौँ ।’ अरू कक्षामा भने भर्नामा कुनै समस्या रहेको छैन ।
विद्यार्थीको स्थानान्तरणका लागि सिफारिस आवश्यक पर्ने द्वारेले बताए । काठमाडौंमा पढिरहेको विद्यार्थीले यहाँको जिल्ला शिक्षा कार्यालय र स्थानीय प्रशासनबाट पीडित भएको सिफारिस गराउनुपर्नेछ । १२ वैशाखको भूकम्प र त्यसपछि लगातार पराकम्पन गइरहेकाले अभिभावकले पनि स्थानान्तरणका लागि दबाब दिइरहेका छन् । परीक्षा नियन्त्रक द्वारेलाई उपत्यकाबाहिरका जिल्ला शिक्षा कार्यालयबाट समेत १० कक्षामा भर्ना लिने वा नलिने भनेर दिनहुँ फोन आउने गरेका छन् ।

काठमाडौंमा पढिरहेका विद्यार्थी दार्चुलामा पढ्नका लागि समेत फोन आइरहेको द्वारेले बताए । ‘दार्चुलाका शिक्षा अधिकारीले पनि दुई विद्यार्थी आएका छन्, भर्ना के गर्ने भनेर सोध्नुभएको थियो,’ उनले भने ।

काठमाडौंका निजीमा विद्यार्थी घट्दै, बाहिर बढ्दै

भूकम्पका कारण काठमाडौंका निजी विद्यालयमा ठूलो संख्यामा विद्यार्थी घट्ने सञ्चालकहरूले बताएका छन् । एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले २० प्रतिशतसम्म विद्यार्थी घट्ने बताए ।

उपत्यकाबाहिरका निजी विद्यालयमा चाप बढ्न सुरु भएको सदस्यहरूले रिपोर्टिङ गरेको अध्यक्ष शाहीले बताए । ‘विद्यार्थी–अभिभावक सबैमा त्रासको वातावरण छ, यस्तो विपत्को वेला काठमाडौंका निजी विद्यालयमा विद्यार्थी घट्नु स्वाभाविक हो,’ उनले भने, ‘काठमाडौंमा २० प्रतिशतसम्म विद्यार्थी घट्छन्, भूकम्पको असर प्लस टु र माथिल्लो तहमा समेत पर्छ ।’ उनका अनुसार उपत्यकाका निजी विद्यालयमा एक लाखको हाराहारीमा विद्यार्थी अध्ययनरत थिए ।

उमाविको परीक्षा सर्दैन : परिषद्

केही समूहले दबाब दिए पनि उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को परीक्षा नसार्ने जनाएको छ । परीक्षा नियन्त्रक सन्तोष अर्यालले २० जेठबाटै परीक्षा सञ्चालन हुने बताए ।

‘परीक्षा सारेर सम्भव नै छैन,’ उनले भने, ‘अब पनि सार्न खोजिए शैक्षिक वर्ष नै जान्छ, बढी समस्या रहेका सात जिल्लामा परीक्षाको सूचना सार्वजनिक गरिएको छैन ।’ काठमाडौं उपत्यकाको समेत केही दिनमा परीक्षा केन्द्र सार्वजनिक गर्ने अर्यालले बताए ।

नयाँ पत्रिकामा भवानीश्वर गौतम लेख्छन् ।

प्रतिक्रिया