Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

पुनर्निर्माण गर्दै विद्यालय भवन

आइतबार, १० जेठ २०७२

काठमाडौं १० जेठ / एकीकृत नेकपा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेतृत्वको माओवादी नेता तथा कार्यकर्ता टोलीले दोलखाको सर्व मावि जिलुको भवन पुनर्निर्माण सुरु गरी अभियान सञ्चालन गरेको छ ।

सदरमुकाम चरिकोटमा शुक्रबार आएका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता प्रभु साह, उर्मिला अर्याल, देवी खड्का, गणेशमान पुनलगायतका नेता तथा कार्यकर्ता शनिबारदेखि पुनर्निर्माणमा जुटेका हुन् । भीमेश्वर नगरपालिका–५ जिलुस्थित सर्व माविको कार्यालय र पुस्तकालय रहेको दुईतले भवनको भग्नावशेष हटाएर अभियान सुरु गरिएको छ । उपाध्यक्ष श्रेष्ठले जीर्ण बनेको दुईतले भवनको माथिल्लो तलामा गई अलपत्र रहेका कार्यालय सामान तथा झर्ने अवस्थामा पुगेको झ्यालको खापा भुइँमा उतारी अभियान उद्घाटन गरेका थिए ।

अभियान उद्घाटनपछि पत्रकारसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले तत्कालीन राहत र पुनस्र्थापनाका लागि एकीकृत माओवादीले श्रम अभियान सञ्चालन गरेको जानकारी दिए । उनले महाभूकम्पपछि गाउँघरमा न्यूनतम राहत पुगे पनि व्यवस्थित र प्रभावकारी हुन नसकेको भन्दै त्यसमा ध्यान दिन सरकारलाई आग्रह गरे ।

वर्षा नजिकिएको हुँदा सरकारले स्थायी आवास बनाउन सहयोग गर्नुपर्ने श्रेष्ठको भनाइ छ । प्रतिपरिवार १५ हजारका दरले दिने भनिएको तत्कालीन राहत अस्थायी आवास निर्माणका लागि अपर्याप्त भएको उनले बताए । अभियानमा सहभागी एमाओवादी नेता प्रभु साहका अनुसार सर्व माविको जीर्ण भवन व्यवस्थापन गरी पुनर्निर्माण गर्न केही दिन अभियान टोली जिलुमै बस्नेछ । केन्द्रीय नेता, चारजना इन्जिनियर, चिकित्सकसहित चार स्वास्थ्यकर्मी युवा, विद्यार्थी र मजदुर नेता तथा कार्यकर्ता सहभागी ६० जनाको टोलीमा आइतबार डेढ सयभन्दा बढीको जनशक्ति थपिने वाइसिएल केन्द्रीय अध्यक्ष गणेशमान पुनले जानकारी दिए ।

सर्व माविका ६ वटा भवनमध्ये तीनवटा पूरै ध्वस्त भएका छन् । ध्वस्त भवन श्रम अभियानमा खटिएको टोलीले अस्थायी रूपमा निर्माण गर्नेछ । अभियान टोलीमा भोजपुराअन्तर्गत विभिन्न जिल्लाका नेता, कार्यकर्ता तथा विद्यार्थी, युवा र मजदुर सहभागी छन् । उपाध्यक्ष श्रेष्ठले भूकम्पबाट ध्वस्त जिल्लाको उत्तरी सिंगटी बजार पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् ।

नयाँ पत्रिकामा लक्ष्मण खड्काले लेखेका छन् ।

प्रतिक्रिया