Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

माझीले ठड्याए ढलेको विद्यालय

बुधबार, १३ जेठ २०७२

माझीले ठड्याए ढलेको विद्यालयकाठमाडौं १३ जेठ / सिन्धुपाल्चोक–वैशाख १२ को महाभूकम्पले साँगाचोक–९ पोखरे माझीगाउँकी सुनमती माझीको घर भत्कायो । त्यही घरघँडेरी बाहेक सम्पत्तिको नाममा उनको केही थिएन । राहतमा पाएको त्रिपालमूनि छोरीसहित घुस्रिरहेकी एकल महिला सुनमतीसँग लडेको घर उठाउने सामथ्र्य छैन।

सामान्य अवस्थामै बिहान खाए बेलुका के खाने भन्ने अवस्थाकी उनी कोदालो, कोदालीले बजार्दै दुई दिनदेखि अस्थायी विद्यालय बनाउन तल्लिन छिन् ।'विद्यालय चलाउन पाए केटाकेटीले पढ्न पाउँथे,' तीन कोठे टहरो तयार भएपछि जमिन सम्याउँदै गरेकी उनले नागरिकन्यूजसँग भनिन् । महाभूकम्पले इन्द्रावती नदी किनारमा अवस्थित स्थानीय पोखरे प्रावि ध्वस्त बनायो । सुनमतीकी छोरी यसै विद्यालयमा अध्ययनरत छिन् । पिछडिएको वर्गकी उनको बुझाइ छ, 'घर बनाए व्यक्ति बस्छ । विद्यालय बनाए गाउँका सबै केटाकेटीले पढ्न पाउँछन् ।'

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन शिक्षा विभागले विद्यालय बनाउन पहलकदमी गरेपछि माझी समुदाय यसरी जागेकी दुई दिनमै तीन कोठे टहरो तयार भयो । ध्वस्त विद्यालय पन्छाउँदै काठपात र जस्ता संकलन गर्नेदेखि टहरो हाल्ने, बार्ने र छाउने र सम्याउनेसम्मको सबै काम यहीबीचमा सकियो ।

पुरुषले गर्ने खण्डहर पन्छाउने, काठपात र जस्ता जोहो गर्ने, फलामे गल मच्चाएर खाडल खन्ने जस्ता सबै काममा महिलाले अग्रसरता देखाए । नौजनाको परिवार पालमूनि छोडेर बृद्धा चिनमाया माझी पनि टहरो बनाउन खटिइन् । मंगलबार मध्यान्हको टन्टलापुर घाममा उनी पसिना झार्दै कोदाली मच्चाएर जमिन सम्याउँदै थिइन् । 'आफ्ना केटाकेटी पढ्ने स्कुल आफैँले बनाउने हो,' चिउँडोबाट खस्नै लागेको पसिनाको धारो पुच्दै उनले भनिन् ।

विद्यालयमा ५३ माझी बालबालिका पढ्छन् । माझी समुदायले श्रम गरेर ६ कोठे विद्यालय भवन बनाएका थिए । आफू बस्ने घर ध्वस्त भएको भन्दा गाँस काटेर बनाएको विद्यालय ढल्दा उनीहरु बढी चिन्तित देखिए । इन्द्रावती नदीमा माछा मारेर गुजारा चलाउने यहाँका माझीको सम्पत्तिमा घर, घँडेरी बाहेक केही छैन । टहरो बनाउन राजधानीदेखि आएको संगठनको टोली माझी समुदायको जागरुकता देखेर छक्कै परेको छ ।

'डकर्मीसम्मको काम उनीहरुले नै गरे,' विभागका सचिव बीरेन्द्र बस्नेतले भने । उनका अनुसार संगठनले कक्षा चलाउन मिल्ने दुईटा टेन्टको व्यवस्था गरेको छ । दुई कक्षा टेन्टामा र तीनवटा कक्षा नयाँ टहरोमा पढाउने विद्यालयका प्रधानाध्यापक विवेक गिरीले बताए । 'पाँच कक्षा चलेपनि दुई मात्र शिक्षक छौं । बिगतमा झैं बहुकक्षा शिक्षण विधिद्धारा पढाउँछौं,' उनले भने ।

एक स्थायी र एक अस्थायी शिक्षकले एक पटकमा तीनवटासम्म कक्षा चलाउँछन् । कमजोर आर्थिक अवस्थाका माझी समुदायसँग निजी स्रोतमा थप शिक्षक व्यवस्था गर्ने सामथ्र्य छैन । माझी समुदाय जेठ १७ बाटै विद्यालय चलाउने तयारीमा जुटेपछि कर्मचारी संगठनले बालबालिकालाई दुई महिनालाई पुग्ने खाजा र शैक्षिक सामग्री दिएका छन् । महाभूकम्पबाट ध्वस्त जिल्लाका ५ सय ५७ विद्यालयमध्ये पोखरे प्रावि सबैभन्दा पहिला ठडिएपछि जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले गाउँमै पुगेर माझी समुदायलाई बधाइ दिए ।

नागरिक दैनिकमा ध्रुव दंगालले लेखेका छन् ।

प्रतिक्रिया