Edukhabar
सोमबार, १० मंसिर २०८१
अन्तैवाट

पढाउने कसरी ?

बुधबार, १३ जेठ २०७२

schoolकाठमाडौं १३ जेठ / सात सय विद्यार्थी अध्ययनरत कोदारी उच्च मावि चौतारा, सिन्धुपाल्चोक,वरिपरि अहिले मुस्किलले १५–२० जना बालबालिका भेटिन्छन् । नत अभिभावक छन्, न उनीहरूका छोराछोरी । सातादेखि विद्यार्थीको अवस्था बुझ्दै हिँडेका प्रधानाध्यापक बद्री न्यौपाने छटपटिएका छन् ।

विद्यार्थी खोज्दै उनी राजधानीसम्म पुगेका छन् । भन्छन्, ‘स्कुल त खोल्ने, कसलाई पढाउने ?’ विकट बस्ती बरुवाको चण्डिका माविका ११ विद्यार्थीको मृत्यु भएको छ । बाँचेका बालबालिका पहिरोको डरले गाउँमै छैनन् । प्रधानाध्यापक ग्याल्मो साम्देनले भने, ‘कहाँ–कहाँ बसेका छन् खोज्दै छु ।’ उनलाई विद्यार्थीको मात्र चिन्ता छैन, अध्यापन सुरु गर्न पाल राख्ने जमिन चिरा परेको छ । ‘केही बालबालिका त गाउँमै छन्,’ उनले आशावादी हुँदै भने, ‘पाल राख्ने ठाउँ खोज्दै छु ।’

गुम्बाको तेम्बाथान मानव बस्तीविहीन छ । क्याङसिङ बस्ती माथिबाट पहिरो चलेको चल्यै छ । नेसम खोलाको झोलुंगे पुल चुँडिएपछि आवतजावत बन्द छ । ‘तेम्बाथानका अभिभावकहरू सायद सुरक्षित स्थानतिर गए होलान्,’ स्रोत व्यक्ति नरेश भण्डारीले भने, ‘त्यहाँ जान त सकिँदैन, विद्यालय चलाउने कुरै छाडौं ।’ उनका अनुसार गोल्चे, गुम्बा, पाङताङ र बराम्चीका कम्तीमा चार विद्यालय चलाउन सकिँदैन । गाउँमा पहिरो चलिरहेको छ । गोल्चेको नाम्फा, लिदी, ङेमलुङ र सञ्चगाउँका बासिन्दा सुरक्षित स्थानमा गएका छन् । नाम्फा बस्ती पहिरोको जोखिममा परेपछि त्यहाँ ५—७ घर मात्रै छन् । स्थानीय भ्युल निमाविका विद्यार्थी अधिकांश अन्यत्र गइसकेका छन् । यहाँका बासिन्दाले पशु फुकाएर छाडेका छन् । आफूहरू भने राजधानीलगायत सुरक्षित स्थान गएका छन् । यी त केही उदाहरण मात्र हुन् । जनजागृति उमाविका प्राचार्य पदम पराजुलीले भने, ‘सडकछेउका विद्यालयका बालबालिका पनि राजधानी गइसकेका छन् । साँगाचोक बजारका घरहरू भत्केपछि अभिभावकसँगै बालबालिका उता गए ।’

भूकम्पले बढी जोखिम बनाएको जिल्लाको उत्तरी भेकका सबैजसो विद्यालयका बालबालिका कहाँ छन् खोज्नुपर्ने अवस्था छ । पश्चिमी भेकको भोताङ, बरुवा, गुन्सा, थाङपालकोटका केही विद्यालय सञ्चालनमा कठिनाइ छ । भोताङको लार्के र बरुवाको रिपार, बोलगाउँ, सुनचौर, गाङखर्क, वाङदाङ, डाले र ब्राथो बस्ती अति जोखिममा छन् । लार्केबाट आइतबार २४ जनालाई सुरक्षित स्थानमा लगिएको छ । उनीहरूसँगै बालबालिका पनि गएका छन् ।

बरुवा, भोताङ, गुन्सा, थाङपालधा, थाङपालकोट र भोटेनाम्लाङ गाविसका २६ मध्ये तत्काल आठ विद्यालय सञ्चालन गर्न सकिँदैन । उक्त विद्यालयहरू रेखदेख गरिरहेका स्रोत व्यक्ति मनहरि सिग्देल भन्छन्, ‘कतै विद्यार्थी छैनन्, कतै पहिरो खसिरहेको छ ।’ उनका अनुसार याङखर्क, याङरिमा, सातकन्या देवीधनजला, सातकन्या, बालसुधार, सातकन्यादेवी तथा गणेश प्रावि तत्काल सञ्चालन गर्न सकिँदैन ।

पूर्वी भेकको तातोपानी, लिस्ती, फुलपिङकट्टी, घुमथाङ, मार्मिन, घोर्थली र कर्थलीको लेकाली भेकका विद्यालयका बालबालिका अभिभावकसँगै विस्थापित भएका छन् ।

तातोपानी गाविसका मात्र ११ विद्यालयका बालबालिका गाउँमा छैनन् । तातोपानी गाविसका पूर्वअध्यक्ष अमृतकुमार खड्का नौ सामुदायिक र दुई निजी विद्यालयका अधिकांश बालबालिका राजधानी गइसकेको बताउँछन् । तातोपानीका सचिव डम्बरबहादुर श्रेष्ठका अनुसार २५ प्रतिशत अभिभावक मात्र गाउँमा छन् । अरनिको राजमार्गको चाकु बजारदेखि तातोपानीसम्मको बजार आसपास सुनसान छ । राजमार्गसँग जोडिएको झिर्पु उच्च मावि व्यवस्थापन समितिका सल्लाहकार सभापति धु्रव पौडेल अध्ययन गर्ने बालबालिका नै गाउँमा नभएको बताउँछन् । ‘माथिबाट पहिरो आउँदै छ,’ उनले भने, ‘बस्ती रित्तेपछि शिक्षक बस्ने डेरासमेत छैन ।’

उनका अनुसार विद्यार्थी आउने त कुरै भएन, शिक्षक पनि विद्यालय जान सक्ने अवस्था छैन । उक्त विद्यालयमा माध्यमिक र उच्च मावि तहमा सात सय विद्यार्थी अध्ययन गर्दै आएका थिए । भोटेकोसी पावर कम्पनीले निर्माण गरेको उक्त विद्यालयको आधुनिक भवनमाथिबाट पहिरो आएको छ । घोर्थली–४ का बासिन्दा सबै सुरक्षित स्थानतिर लागेपछि स्थानीय सुन्दरीदेवी प्राविमा पढ्ने कुनै पनि बालबालिका छैनन् ।

‘कर्थलीको सेतीदेवी प्राविको माथिल्लो भागबाट पहिरो खसिरहेको छ,’ त्यहाँ पुगेर फर्केका स्रोतव्यक्ति रामकाजी पाण्डे भन्छन्, ‘तत्काल विद्यालय सञ्चालन गर्न सक्ने अवस्था छैन ।’ मध्य भेकको गोल्चे, गुम्बा, पाङताङ, हगाम र बराम्चीका विद्यालय बढी जोखिममा छन् । भण्डारीका अनुसार गोल्चे र गुम्बावासी को कहाँ बसिरहेका छन् पत्तै छैन ।

‘पहिरो चलिरहेको र गाउँले सुरक्षित स्थानतिर लागेकाले विद्यालय आसपास मानव बस्तीविहीन छ । जमिन फुटेर पाल राख्ने ठाउँ पनि छैन,’ थाङपालधाप उमाविका अभिभावक हर्क खत्री भन्छन्, ‘जेनतेन जुनसुकै उपाय लगाएर पनि पढाइ त सुरु गर्नुपर्‍यो ।’ जिल्लाका ५ सय ४६ विद्यालय भवन सबैजसो भत्केका छन् । शिक्षाका इन्जिनियर सन्तोष गुरागाईंका अनुुसार चार हजार नौ सय ६२ मध्ये नौ सय ५० कोठा मात्र सामान्य मर्मतपछि पुन: प्रयोग गर्न सकिनेछ । २ हजार नौ सय ६६ कोठा पूर्ण रूपमा ध्वस्त भएको प्रारम्भिक रिपोर्ट छ । चालू शैक्षिक सत्रमा सबै सामुदायिक विद्यालयमा ८५ हजार बालबालिका अध्ययन गर्दै आएका थिए । तीमध्ये कम्तीमा ३० विद्यालयका १० देखि १२ हजार बालबालिका तत्काल सम्पर्कमा नभएको प्रारम्भिक अनुमान शिक्षा कार्यालयको छ ।

अभिभावकसँगै धेरैजसो बालबालिका राजधानी गएका छन् । आर्थिक रूपमा कमजोर र राजधानीमा आफन्त नभएकाहरू गाउँकै सुरक्षित स्थानमा गएका छन् । भूकम्पले जिल्लाभर २४ शिक्षक र तीनजना विद्यालय कर्मचारीको मृत्यु भएको छ । विद्यालय भर्ना भएका बालबालिका कतिको ज्यान गयो यकिन विवरण संकलन भइसकेको छैन । शिक्षा अधिकारी दिलनाथ पुरी भने बहसबाहिरको अवस्थाबाहेक सबै विद्यालय सञ्चालनको प्रयास भइरहेको बताउँछन् ।

‘प्राविधिक गाउँ पठाइरहेका छौं,’ उनले भने, ‘भत्केका स्कुल मर्मतका लागि प्रतिकोठा २५ हजार उपलब्ध गराउँछौं ।’ जिल्ला दैवी प्रकोप उद्धार समितिले हरेक विद्यालयलाई पाल र टेन्ट उपलब्ध गराउने निर्णय गरेको छ । ‘विद्यालय छिटो सञ्चालन गर्न अस्थायी प्रबन्ध मिलाएका छौं,’ समितिका सदस्यसचिव तथा स्थानीय विकास अधिकारी महेश बरालले भने, ‘पढाइ नरोकियोस् भन्ने मनसाय हो ।’ सरकारले आगामी १७ गतेदेखि विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

निजी विद्यालय सबै भत्किए

जिल्लाभर सञ्चालित ३४ निजी विद्यालयका साबिकको कुनै पनि भवन अध्यापन सुरु गर्न सक्ने अवस्थामा छैनन् । आफ्नै स्वामित्वमा रहेका र भाडाका सबै भवन भत्केका छन् । पहिरो नरोकिएपछि तातोपानीका मानसरोवर र तातोपानी निर्माण एकेडेमी वर्षापछि मात्र सञ्चालन हुनेछन् । त्यहाँ पहिरोको खतरा भएपछि सबै राजधानी गएका छन् । सीमा क्षेत्र सुनसान छ ।

प्याब्सन जिल्ला सचिव ऋषि नेपालका अनुसार जिल्लाभरका निजी विद्यालयमा करिब १४ हजार बालबालिका अध्ययनरत छन् । तत्काल सञ्चालन गर्न नसकिने तातोपानीका दुई विद्यालयमा मात्र सात सय विद्यार्थी अध्ययनरत छन् । मार्मिनको चाकुमा सञ्चालन भइरहेको ब्लेस बोर्डिङ स्कुल कहाँ लैजाने अन्योल छ । नेपाल भन्छन्, ‘सुरक्षित स्थानमा लैजाने भने पनि सञ्चालकसँग सम्पर्क हुन सकेको छैन ।’ चाकुको नयाँ बजार पहिरोको जोखिममा छ । निजी विद्यालयमा अध्ययनरत ७१ जना बालबालिको भूकम्पमा परेर मृत्यु भएको प्रारम्भिक रिपोर्ट छ ।

वैकल्पिक व्यवस्था गरिने

शिक्षा कार्यालयले बस्ती छाडेकालाई यथासम्भव वैकल्पिक व्यवस्थाको तयारी गरेको छ । ‘बालबालिका जुन ठाउँमा बसेका छन् त्यही कक्षा सञ्चालन गर्न तयार छौं,’ शिक्षा अधिकारी दिलनाथ पुरीले भने, ‘छिमेकी स्कुलमा पढ्ने हो भने पनि प्रक्रिया मिलाउँछौं । आवश्यकताअनुसार विद्यालयहरू गाभेर पनि चलाउन सकिन्छ ।’ उनले धेरै बालबालिका एकै थलोमा बसेका पाइए त्यहीं कक्षा चलाउने जानकारी दिए ।

खोल्ने कि नखोल्ने ?

भूकम्पले क्षतिग्रस्त भएका विद्यालयका प्रअहरू अस्थायी वा स्थायी रूपले टहरा निर्माण नभएसम्म प्रतिकूल मौसमका अवस्थामा हुने क्षति र दुर्घटनाको जिम्मेवारी लिन नसक्ने भन्दै वर्षायामयता विद्यालय खुलाउने पक्षमा छैनन् ।

रसुवाको त्रिभुवन त्रिशूली उच्च माविका प्रध्यानाध्यापक महेन्द्र रावतले निर्देशन आयो भन्दैमा भूकम्पले भत्केका संरचना स्थायी वा अस्थायी रूपमा तयार नभएसम्म पढाइका नाममा विद्यालयले विद्यार्थीको जिम्मा लिन नसकिने बताए । ‘मौसम प्रतिकूल छ । कहिले हावाहुरी आउँछ, कहिले वर्षा नै हुन्छ,’ उनले भने, ‘बालबालिकालाई सुरक्षित स्थान चाहिने हुन्छ ।’

सदरमुकामको भीमसेन माविको अवस्था पनि उस्तै छ । भूकम्पले विद्यालयमा भएको कक्षाकोठा क्षतिग्रस्त भएपछि स्रोतको अभावमा जेठ १७ देखि विद्यालय चलाउन सक्ने अवस्थामा छैन । सदरमुकाम क्षेत्र भएका विद्यालयहरू तत्काल पुनर्निर्माणमा लाग्न नसकिरहेको अवस्थामा गाउँका विद्यालयहरूको अवस्था झनै विकराल देखिएको छ ।

‘भूकम्पले क्षतिग्रस्त भौतिक संरचना हटाउन सकिएको छैन । यस्तो अवस्थामा कसरी कक्षा चलाउन सकिन्छ ?’ थप्रेकको उदयजालपा माविका प्रध्यानाध्यापक केदारबहादुर थापाले भने, ‘सबै अभिभावकको अवस्था उस्तै छ । कतैबाट सहयोग माग्न सक्ने स्थिति छैन ।’

जिल्लाभित्र सामुदायिक ४ सय ८६ विद्यालयका ४ हजार दुई सय ५२ कोठामा भूकम्पबाट क्षति पुगेको छ । तीमध्ये २ हजार ६ सय २२ कोठामा पूर्ण रूपमा क्षति पुगेको छ । कम क्षति भएका विद्यालयको भौतिक संरचना हटाउने र मर्मत गर्ने अभियान स्थानीय र दलका स्वयंसेवकबाट सुरु भएका छन् ।

तोकिएको मितिमा जिल्लाभर ४० विद्यालय सञ्चालन हुने स्थितिमा रहेका जिल्ला शिक्षा अधिकारी चन्द्रबहादुर खड्काले बताए । जिलिङको जनसेवा निमाविका शिक्षक अभिभावक भने तोकिएकै मितिमा विद्यालय खोल्ने पक्षमा छन् । भूकम्पबाट विद्यालयका १४ कोठा पूर्ण क्षतिग्रस्त भए पनि शिक्षक, अभिभावक पुराना भवन हटाएर टहरा निर्माणमा लागेका छन् । प्रधानाध्यापक भरतप्रसाद नेपालले प्राविधिकले असुरक्षित भनेको चारवटा भवन हटाउन आफैं सक्रिय भएको बताए ।

गोरखामा गाह्रो

महाभूकम्पले गोरखाका झन्डै शतप्रतिशत विद्यालयमा क्षति पुगेको छ । जिल्ला शिक्षा कार्यालयले भने सोमबारदेखि विद्यालयको कार्यालय सञ्चालनमा ल्याएर आइतबारदेखि विद्यार्थीलाई पढ्न बोलाउने तयारी गरेको छ ।

विद्यालयहरूले पनि कार्यालयको निर्देशनअनुसार नै तयारी गरेका छन् । ‘शिक्षकहरूलाई ११ गतेबाटै विद्यालयमा हाजिर हुन भनेका छौं,’ जिल्ला शिक्षा अधिकारी हरि अर्यालले भने, ‘१७ गतेबाट विद्यार्थी डाकेर भूकम्पको डर भगाउने अभियान सुरु गर्छौं ।’ पहिरोको जोखिममा रहेका ११ गाविसका २२ बस्तीसहित उत्तरी गोरखाका सिर्दिबासभन्दा माथिका ७ गाविसबाहेकका विद्यालय खोल्ने तयारी गरिएको हो । असार १ गतेदेखि भूकम्प प्रभावित क्षेत्रका विद्यालयमा नियमित पठनपाठन सुचारु गराउने आन्तरिक तयारी जिशिकाको छ ।

४ सय ९५ विद्यालयमध्ये चार सयभन्दा बढीमा क्षति पुगेको छ । भवनहरू भत्किएका छन् । डेस्कबेन्च भवनले च्यापिएका छन् । ४ हजार ६ सय ५० कक्षाकोठामध्ये ३ हजार ५२ कक्षाकोठामा पूर्ण रूपमा क्षति पुगेको छ । बाँकी रहेका ४ सय ५० कक्षाकोठामा पढाइ सुरु गर्न चुनौती छ ।

सञ्चालन गर्ने दाबी

धादिङका ५ सय ८७ विद्यालयका ५ हजार ४ सय २६ कक्षाकोठामध्ये २ हजार ४८ वटा पूर्ण र ७ सय ३१ आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । ‘अस्थायी रूपमा भए पनि टहराहरू बनाएर पढाइ सुचारु गर्ने अवस्थामा छौं,’ जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद ढकालले भने ।

भूकम्पमा परेर जिल्लामा १८ वर्षमुनिका १ सय ३८ बालक र १ सय १६ जना बालिकाको मृत्यु भएको । १ सय २६ जना सख्त घाइते भएको जिल्ला बाल कल्याण समितिका अध्यक्ष एवं प्रजिअ वाशुदेव घिमिरेले बताए । उनका अनुसार जिल्लामा १२ बालबालिकाले दुवै अविभावक र ६८ जनाले एकजना अविभावक गुमाएका छन् ।

छटपटिँदै शिक्षक

काभ्रे काशीखण्ड–१४ स्थित दाप्चा माविका प्रधानाध्यापक दिनेशप्रसाद अधिकारीलाई जेठ १७ गतेदेखि कसरी विद्यालय सञ्चालन गर्ने भन्ने चिन्ता छ । विद्यालयका दुई भवन प्रयोग गर्न नमिल्ने भनेर प्राविधिकको टोलीले रातो स्टिकर लगाइदिएको छ । ‘बाँकी १ भवन पनि मर्मतपछि मात्रै बस्न भनेका छन्,’ उनले भने, ‘३ सय ५० विद्यार्थीको व्यवस्थापन कसरी गर्ने ?’

जिल्लाका कतिपय विद्यालयमा अझै प्राविधिक टोली पुगेका छैनन् । जिल्ला शिक्षा कार्यालयले २६ स्रोत केन्द्रमार्फत क्षतिको प्रारम्भिक तथ्यांक लिएको थियो । युनिसेफको सहयोगमा जिल्लाका विद्यालय निरीक्षक, स्रोत व्यक्ति र इन्जिनियरसहितको टोलीले विद्यालयको क्षति मूल्यांकन गरिरहेको छ ।

जिल्लामा रहेका ५ सय ९० सरकारी विद्यालयमध्ये ९६ विद्यालय पूर्ण रूपमा क्षति भएका छन् । अन्य निजी विद्यालयहरूमा पनि क्षति पुगेको छ । स्रोत व्यक्ति महेश्वर जंगमका अनुसार २६ स्रोत केन्द्रअन्तर्गतका विद्यालयका ८ सय ८२ कक्षाकोठा पूर्ण रूपमा क्षति भएका छन् । ९ सय ५० कक्षाकोठामा बढी क्षति र १ हजार ४ सय ९० कोठामा सामान्य क्षतिपुगेको छ । २५ जना विद्यालयमा अध्ययनरत विद्यार्थीको भूकम्पमा परी मृत्यु भएको जिल्लाको तथ्यांकमा छ ।

जिल्ला शिक्षा अधिकारी डा. दीपेन्द्र गुरुङले तत्काल पूर्ण सिकाइ गर्ने अवस्था नभए पनि विद्यालय आउने वातावरण तयार हुने बताए । ‘शिक्षक, विद्यार्थी, अभिभावक सबैलाई मनोपरार्श आवश्यक छ,’ उनले भने, ‘साथीभाइहरूसँग घुलमिल हुँदा पनि सबैले आफ्ना पीडा भुल्छन् र समस्या बुझ्ने हुन्छन् ।’

कान्तिपुर दैनिकमा ऋषिराम पौडेल, सुदीप कैनी, प्रकाश अधिकारी, हरिहरसिंह राठौर, नगेन्द्र अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया