Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

टहरा र टेन्टमा विद्यालय सञ्चालन हुने

शुक्रबार, १५ जेठ २०७२

टहरा र टेन्टमा विद्यालय सञ्चालन हुनेकाठमाडौं १५ जेठ / विनाशकारी भूकम्पपछि एक महिनाभन्दा बढी बन्द विद्यालय आइतबारदेखि खोल्ने तयारी भएको छ । भवन क्षतिग्रस्त भएका विद्यालय टहरा र टेन्टबाटै भए पनि सञ्चालन गर्न लागिएको हो ।

परकम्प भइरहेको र शिक्षक तथा विद्यार्थीमा त्रास कायमै रहेकाले विद्यालय खुले पनि पठनपाठनको वातावरण भने बनिसकेको छैन । सुरुमा कोर्सअनुसार कक्षा सञ्चालन सम्भव नभए पनि विद्यार्थीलाई परामर्श र अतिरिक्त क्रियाकलापमा संलग्न गराउने तयारी छ ।
भूकम्पबाट प्रभावित जिल्लाका धेरैजसो विद्यालयका कक्षाकोठा पूर्ण रूपमा ध्वस्त भएका छन् । अधिकांश विद्यालयले पाल र अस्थायी टहरा बनाएर सञ्चालन गर्न लागेको शिक्षा विभागले जनाएको छ । विभागका निर्देशक खगेन्द्र नेपालले आइतबारदेखि विद्यालय खोल्न शिक्षक, अभिभावक र विद्यार्थी सकारात्मक भएको बताए ।

‘विद्यालय खोल्न शिक्षक, अभिभावक, विद्यार्थी सबै उत्साहित देखिएका छन्,’ नेपालले भने, ‘१७ जेठदेखि विद्यालय खुल्छन् । तर, कोर्सको पढाइ हुन भने केही दिन लाग्छ ।’

नेपालका अनुसार सुरुमा विद्यार्थीलाई मनोवैज्ञानिक परामर्श र भूकम्पको त्रास हटाउने क्रियाकलाप गर्ने गरी विद्यालय सञ्चालन गर्न शिक्षक तथा अभिभावक तयार भएका हुन् । विद्यालय सुचारु गराउन राजनीतिक दल, विद्यार्थी संगठन पनि सक्रिय भएकाले सहज वातावरण बनेको नेपालको भनाइ छ । शिक्षक पुगेपछि पाल हाल्ने ठाउँसम्म नभएका विद्यालयमा पनि विकल्प निस्कने उनले बताए ।

भूकम्पबाट अति प्रभावित गोरखा, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछापका अधिकांश विद्यालय ध्वस्त भएका छन् । केही विद्यालयको पाल राखेर कक्षा सञ्चालन गर्ने ठाउँसमेत नभएको ती जिल्लाका शिक्षा कार्यालयले जनाएका छन् ।
‘शिक्षकहरू विद्यालय जान तयार हुनुभएको छ, कतिपय विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन्,’ रसुवाका जिल्ला शिक्षा अधिकारी रामशरण सापकोटाले भने, ‘पाल हाल्ने जग्गासमेत नहुँदा कसरी कक्षा सञ्चालन गर्ने भन्ने समस्या छ ।’ रसुवाका एक सय सात विद्यालयमा ११ सय १७ कक्षाकोठा रहेकोमा ६ सय ४९ कक्षाकोठा पूर्ण रूपले ध्वस्त भएका छन् । एक सय पाँच कक्षाकोठामा सामान्य क्षति भएको छ ।
भक्तपुरका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले १७ जेठबाट विद्यालय खोल्ने वातावरण बनेको बताए । तर, पढाइ हुने वातावरण भने बनिनसकेको उनको भनाइ छ । उनका अनुसार भक्तपुरका १२ विद्यालयका भवन पूर्ण रूपमा ध्वस्त भएका छन् ।

‘स्रोतव्यक्ति, प्रधानाध्यापक तथा शिक्षकसँग छलफलपछि शिक्षक गएर जेठ १७ बाट विद्यालय खोल्ने वातावरण बनेको छ,’ जिशिअ शर्माले भने, ‘तर, त्यही दिनबाट पढाइ हुने वातावरण भने बनेको छैन ।’

संरचना ध्वस्त भएका विद्यालयमा सकेसम्म अस्थायी टहराबाट र सम्भव नभएका ठाउँमा पाल टाँगेर विद्यालय सञ्चालन गरिने शर्माले बताए । भक्तपुरका एक सय ३० सामुदायिक विद्यालयका एक सय ५६ वटा कक्षाकोठा पूर्ण रूपमा ध्वस्त भएका छन् भने एक सय ६५ कक्षाकोठामा आंशिक क्षति पुगेको छ । तीन सय ३४ कक्षाकोठामा सामान्य क्षति पुगेको छ ।

नुवाकोटका जिल्ला शिक्षा अधिकारी चन्द्रबहादुर भण्डारीले विद्यार्थी र शिक्षकमा भूकम्पको त्रास कायमै रहेको बताए । त्रास हटाउन शिक्षकलाई मनोपरामर्श दिइएको र शिक्षकले विद्यार्थीलाई परामर्श दिने उनको भनाइ छ । भवन भत्केका विद्यालय सञ्चालन गर्न भत्किएका संरचनाका सामग्री प्रयोग गरेर टिनका टहरा बनाउने, स्याउलाको टहरा बनाउन आग्रह गरिएको उनले बताए ।

नुवाकोटमा सामुदायिकतर्फ चार सय ८६ र संस्थागततर्फ ७५ गरी पाँच सय ६१ विद्यालय छन् । दुई हजार ६ सय २२ कक्षाकोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । आठ सय २३ कक्षाकोठामा धेरै क्षति र आठ सय सात कक्षाकोठामा सामान्य क्षति भएको छ ।

भूकम्पप्रभावित जिल्लाका केही विद्यार्थीसँग पाठ्यपुस्तकसमेत छैनन् । घर भत्केर पुस्तकविहीन भएका विद्यार्थीलाई कसरी पुस्तक व्यवस्थापन गर्ने भन्ने अन्योल छ । जिल्ला शिक्षा अधिकारीहरूले पुस्तक व्यवस्थापनका विषयमा छलफल भइरहेको बताएका छन् ।

बन्द समयको शुल्क लिने निर्णयको विरोध

भूकम्पपछि एक महिना विद्यालय बन्द भए पनि मासिक शिक्षण शुल्क लिने प्याब्सनको निर्णयको विद्यार्थी संगठनहरूले विरोध गरेका छन् । एमाओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी)ले शुल्क लिने निर्णय फिर्ता गर्न प्याब्सनलाई आग्रह गरेको छ ।

क्रान्तिकारीले बिहीबार पत्रकार सम्मेलन गरी विपत्तिको वेला अभिभावकलाई राहत दिनुपर्नेमा आहत हुने गरी पढाइ नभएको समयको पनि शुल्क लिन खोजिएको आरोप लगाएको छ । ‘देश तथा विदेशबाट भुकम्प पिडितका लागि सहयोगी हात जुटिरहेका बेला प्याब्सन जस्तो जिम्मेवार संस्थाले गरेको गैरजिम्मेवार निर्णय तुरुन्त सच्चाउँदै नपढाएको महिनाको शिक्षण शुल्क नलिन र हामीले उठाएका न्यायपूर्ण मुद्धालाई सम्बोधन गर्न नेपाल सरकार र सम्बन्धीत पक्षको गंभिर ध्यानाकर्षण गराउँछौं,’ पत्रकार सम्मेलनमा संयोजक रमेश मल्लले भने, ‘प्याब्सनको यो निर्णय असामाजिक, अनैतिक र नाफाखोर प्रबृत्तिको धरातलमा उभिएको हाम्रो ठहर छ ।’

क्रान्तिकारीले ध्वस्त भौतिक संरचना र त्रस्त मनोबिज्ञानलाई सामान्य जीवनमा फर्काएपछि मात्र विद्यार्थीलाई पठनपाठनमा सहभागि गराउन पनि आग्रह गरेको छ । ध्वस्त भौतीक संरचना निर्माण पनि दु्रत गतिमा गर्नुपर्नेमा पनि क्रान्तिकारीले ध्यानाकर्षण गराएको छ ।
पढाइ नभएको महिनाको शुल्क नलिन अभिभावक संघ तथा अन्य विद्यार्थी संगठनले समेत माग गरेका छन् । विपत्तिका बेला अभिभावकलाई राहत दिनुपर्ने उनीहरूको भनाइ छ ।

नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन् ।

प्रतिक्रिया