Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

विद्यालयहरू खुल्दै सुरक्षाको चिन्ता

शुक्रबार, १५ जेठ २०७२

school_studentकाठमाडौं १५ जेठ / जावलाखेलस्थित सेन्ट मेरिज स्कुलको पुस्तकालय रहेको भवनको कक्षाकोठाबाट सबै डेक्सबेन्च बाहिर निकालिएको छ। कोठाको दायाँ–बायाँ, अगाडि–पछाडि र सिलिङ जताततै चर्किएको छ।

यी कोठाका चिरा आइतबारदेखि कक्षामा आउने विद्यार्थीले नदेखून् भनेर बिहीबार कामदारहरू खटिएका थिए। कोही पुटिङ दलिरहेका थिए भने कोही सेतो र पहेंलो रङ लगाइरहेका थिए। केही कामदार चिरा परेका ठाउँमा सिमेन्टको घोल पोतिरहेका थिए।

प्रिन्सिपल जेसिका आफ्नो विद्यालय सुरक्षित रहेको भन्दै अभिभावकलाई प्राथमिक तहको भवनमा लगेर देखाइरहेकी थिइन्। ठाउँठाउँमा चर्किए पनि शिक्षा कार्यालयबाट खटिएका प्राविधिकले भवनैपिच्छे हरियो स्टिकर टाँसिदिएका छन्।

ललितपुरका प्रमुख जिल्ला अधिकारी र इन्जिनियर मनोज श्रेष्ठ आएर निरीक्षण गरेपछि जोखिम नरहेको बताएर गएको प्रिन्सिपल जेसिकाले बताइन्। ‘जहाँ वायरिङ तार छ त्यहाँ र दुईवटा भवन जोडिएको ठाउँमा समस्या देखिएको छ,’ उनले भनिन्, ‘त्यहाँ मर्मत गराइरहेका छौं।’ चर्किएका ठाउँमा मर्मत गरेर आइतबारदेखि नियमित कक्षा सञ्चालन गर्ने उनले बताइन्। शिक्षा कार्यालयका इन्जिनियर इन्द्र महर्जनले मर्मत गरेर प्रयोग गर्न मिल्ने भएकाले हरियो स्टिकर लगाइएको बताए।

योसँगैको सेन्ट जेभियर्समा अभिभावकलाई प्रवेश रोक लगाएर धमाधम मर्मत भइरहेको छ। विद्यालयको मूल भवनसँगैको अर्को भवन पुरै चर्किएको छ। उक्त भवनलाई शिक्षा कार्यालयले रातो स्टिकर लगाएको छ। विद्यालयले भने यसैलाई पनि समान्य मर्मत सम्भार गरेर प्रयोगमा ल्याउने तयारी गरेको छ।

‘भूकम्पको धक्काले चर्केको भवन बनाउने काम भइरहेको छ, कसैलाई पनि भित्र जान नदिनु भन्ने आदेश छ,’ सुरक्षा गार्डले भने। विद्यालयको अवस्था बुझ्न आएका अभिभावक भने बिहीबार त्यत्तिकै फर्किएका थिए। ‘त्यो स्कुल पढ्दिन माथिको तलामा छ भनेर बच्चाले सुनाएपछि कक्षा कोठा हेर्न आएको थिएँ तर भित्र पस्नै दिएनन्,’ शिक्षण अस्पतालकी आँखा रोग विशेषज्ञ समेत रहेकी डा.रञ्जु खरेलले भनिन्, ‘भित्र छिर्नै नदिएपछि थप शंका उब्जायो।’

सकुन्तला शाही पनि ५ कक्षामा अध्ययनरत अभिन्द्रलाई लिएर विद्यालय पुगेकी थिइन्। उनलाई पनि विद्यालयले प्रवेश दिएन। ‘मेरो कक्षा चार तलामाथि छ त्यहाँ पढायो भने त नपढ्ने,’ सँगै आएका अभिन्द्रले भने। छोराछोरीले मात्रै नभई अभिभावक पनि चर्किएको भवनमा पढाउने मनस्थितिमा छैनन्। ‘चर्केको देख्दादेख्दै कसरी पढाउने?’ सकुन्तलाले भनिन्।

अभिभावक र विद्यार्थीले चर्केको भवन देख्लान् भनेर नाम कमाएकै विद्यालयहरूले पनि रातारात सिमेन्ट लगाएर चिरा टालिरहेका छन्। हात्तीवनस्थित लिटिल एन्जेल्समा विद्यालयको भवनको अवस्था बुझ्न पुग्दा प्रवेश दिइएन। सुरक्षा गार्डका अनुसार विद्यालयको एउटा भवनको चार तल्ला मध्ये दुई तला चर्किएको छ। तैपनि शिक्षा कार्यालयले भने हरियो स्टिकर लगाइदिएको छ। ‘मर्मत भइरहेकाले कसैलाई भित्र छिर्न नदिनु भन्ने आदेश छ,’ ती गार्डले भने।

ललितपुरस्थित डीएभीको पनि स्कुल र कलेजका दुवै भवन चर्किएका छन्। माथिल्लो तला भत्किएर पछि कामदारहरू बिहिबार जोखिम मोलेरै मर्मत गरिरहेका थिए। ‘विद्यालय लाग्नुअघि नै लिपपोत गरेर नदेख्ने बनाउन खोजेको, भ्याइला जस्तो छैन,’ एक कर्मचारीले भने, ‘हतपतको काम झन् लतपत भयो।’ विद्यालयको सबैजसो चर्किएको ठाउँ नदेख्ने गरी सबै ठाउँमा सुरुमा सिमेन्टले प्लास्टर गरिएको छ। सिमेन्ट सुक्न नपाई अर्को समूहले पुटिङ दल्ने गरेका थिए। शिक्षा कार्यालयबाट खटिएका प्राविधिक त्यसपछि अपराह्न पुगेर हरियो स्टिकर टाँसिदिएका थिए। ‘हाम्रो पुरै टिमले गएर हेर्‍यौं,’ उनले भने, ‘पुरानो एउटा भवनबाहेक अरूलाई हरियो स्टिकर टाँसेका छौं।’ यस्तै समस्या अन्य विद्यालयमा पनि रहेको अभिभावकको गुनासो छ। कतिपय विद्यालयले जबरजस्ती निर्माण गरेपछि अभिभावकले भत्काइदिने भन्दै प्रहरी, प्रशासन, नगरपालिकामा समेत उजुरी गरेका छन्।

अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले क्षतिको विवरण निजीले लुकाए भने सार्वजनिक विद्यालयले बढाएको आरोप लगाए। ‘निजीले विद्यार्थी नआउने डरले चर्केका भवन पुटिङ दलेर लुकाइरहेका छन्,’ उनले भने, ‘यो विद्यार्थीको जीवनमाथिको खेलवाड हो।’

चर्किएको भवन भत्काउँदा बनाउन धेरै खर्च लाग्ने भएपछि समान्य टालटुल गर्ने गरिएको छ। ‘विद्यालय सञ्चालकले अरूले देख्लान् कि भनेझैं गरी टालटुल गरिरहेका छन्,’ अनुगमन टोलीमा खटिएका एक प्राविधिकले भने। सहरी विकास मन्त्रालयका सहसचिव प्रवक्ता पदम मैनालीले प्राविधिकले स्वीकृति नदिएसम्म मर्मत सम्भार गर्न नमिल्ने बताए। ‘भित्री कक्षाकोठा असुरक्षित हुँदाहुदै बाहिर सुरक्षितको हरियो स्टिकर टासेको रहेछ भने त्यो पनि अनुगमन गर्छौं,’ उनले भने, ‘गलत काम गर्ने प्राविधिकलाई कारबाही हुन्छ।’ सार्वजनिक महत्त्वको स्थानमा प्राविधिकले परीक्षण नगरी मर्मत गर्न नहुने उनले बताए।

भक्तपुरका निजी विद्यालयहरूमध्ये २५ विद्यालयमा रातो स्टिकर लगाइएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताए। ‘यी विद्यालय पूर्णरूपमा असुरक्षित हो,’ शर्माले भने, ‘यस्ता विद्यालयले अर्को व्यवस्था गनुपर्छ।’ ललितपुर र काठमाडौंमा अझै स्टिकर लगाइसकिएको छैन।

काठमाडौं शिक्षा कार्यालयका इन्जिनियर गिरिधर मिश्रका अनुसार जिल्लाका ७ सय निजी विद्यालयको अनुगमन सकिएको छ। पाँच सय विद्यालय अझै हेर्न बाँकी रहेको उनले बताए। अनुगमन गरेकामध्ये ४० प्रतिशत असुरक्षित पाइएको पनि उनले बताए। शिक्षा मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले विद्यालयको प्राविधिक जाँचमा शंका लागे उजुरी गर्न अभिभावकलाई आग्रह गरे।

आफ्ना छोराछोरी पढाउने विद्यालयमा प्राविधिक जाँच भए/नभएको हेर्नुपर्ने उनले बताए। ‘प्राविधिक परीक्षण नभए छिर्दै नछिरौं। हरियो स्टिकर भएका ठाउँमा पनि विश्वसनीयतामा प्रश्न उठाउन सकिन्छ,’ उनले भने, ‘शंका लागे शिक्षा कार्यालय, विभाग र मन्त्रालयमा जानकारी गराऔं।’

ललितपुरका शिक्षा अधिकारी शिव कुमार सापकोटाले अनुगमन जारी रहेको उल्लेख गर्दै रातो स्टिकर लगाइएकामा पस्दै नपस्न आग्रह गरे। ‘हरियो स्टिकर लगाइएकामा पनि आफ्ना बालबालिकालाई पठाउनुअघि गएर हेर्नु आवश्यक छ,’ उनले भने।

प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले बारम्बार पराकम्पन आइरहेकाले समान्य लिपपोत गरेर अभिभावक र विद्यार्थीको आँखा छल्ने काम नगर्न विद्यालय सञ्चालकलाई आग्रह गरे।

‘केही ढिलो होस् तर, सुरक्षित गरौं,’ उनले भने, ‘आँखा छल्ने काम गर्दा धोका हुन्छ। चर्किएको छ भने लिपपोत र देखावटीभन्दा पनि प्राविधिक राखेर परीक्षण गराऔं। सुरक्षित भवनमा मात्रै पढाऔं।’ मुलुकभर ५ सय भन्दा बढी विद्यालय पूर्ण क्षति भए पनि राज्यले सहयोग नगरेको उनले गुनासो गरे।

कतैबाट क्षतिपूर्ति नपाए पनि टेन्ट राखेर भए पनि जेठ २१ देखि अस्थायी कक्षा सञ्चालन गर्न उनले आग्रह गरे। ‘बिहान, दिउँसोको समूहमा कक्षा चलाऔं,’ उनले भने, ‘तर, बालबालिकाको सुरक्षामा सबैले ध्यान दिनुपर्ने हुन्छ।’

कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन् ।

प्रतिक्रिया