Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

धेरैजसो विद्यालयमा अस्थायी प्रबन्ध

आइतबार, १७ जेठ २०७२
  • पठनपाठन सुरु गर्न समस्या

    काठमाडौं १७ जेठ/ सरकारको आज (आइतबार) देखि विद्यालय सञ्चालन गर्ने भन्ने निर्देशनअनुरूप शिक्षक र व्यवस्थापन समितिहरू तयारीमा जुटेका छन् । तर, भूकम्पबाट भौतिक संरचना ध्वस्त भएका धेरैजसो विद्यालयमा अझै अस्थायी कक्षाकोठाको व्यवस्था हुन नसक्दा पठनपाठन सुरु भइहाल्ने अवस्था छैन । सामुदायिक (सरकारी) विद्यालयहरूले अस्थायी कक्षाकोठा बनाउने तयारी गर्दैछन् । संस्थागत (निजी) विद्यालय ध्वस्त भवनको विकल्पको खोजी तथा मर्मत सम्भारमा जुटेका छन् ।

    ललितपुर, पाटनढोकास्थित पाटन उच्च माविका प्रधानाध्यापक ईश्वरमान बज्राचार्य शुक्रबार अपराह्न आफैं बाँसको टहरा बनाउँदै थिए । पुरानो भवन ‘असुरक्षित’ भएपछि उनले पाँचवटा टहरा बनाएका छन् । उपत्यकाका सामुदायिक विद्यालयमध्ये अस्थायी सिकाइ केन्द्र (टीएलसी) निर्माण गर्ने यो पहिलो विद्यालय हो । टहरा निर्माणमा गैरसरकारी संस्थाले सहयोग गरेको छ । बालखेलका सामग्री, विज्ञान प्रयोगशाला, डेस्क, बेञ्च र पुस्तकालय निम्ति टेबल पनि संस्थाले उपलब्ध गराएको छ ।

    ‘भूकम्पअघि ८० जना मात्र विद्यार्थी भर्ना भएका थिए,’ गत वर्ष ४ सयभन्दा बढी विद्यार्थी रहेको उल्लेख गर्दै प्रधानाध्यापक बज्राचार्य भन्छन्, ‘अब कति विद्यार्थी आउने हुन् निश्चित छैन ।’ हरेक टहरामा दुई कक्षाकोठा छन् । त्यसमा ८० विद्यार्थीका निम्ति डेस्कबेञ्च राखिएका छन् ।

    भूकम्पबाट विद्यालय भवन चिरा परेपछि सानेपास्थित ज्ञानोदय बालबालिका विद्यालयले अन्तै भाडाको भवन व्यवस्था गर्दैछ । शिक्षक जयराम अधिकारीका अनुसार विद्यार्थीलाई पठनपाठन निम्ति जेठ २० देखिमात्र बोलाइएको छ ।

    जिल्लाको दक्षिण भेगका अधिकांश दुर्गम पहाडी गाविसमा पढाइ सुचारु हुने सुरसार छैन । भट्टेडाँडा, चन्दनपुर, माल्टा, घुसेललगायत १९ दुर्गम गाविसका अधिकांश माटाढुंगाका विद्यालय भवन मर्मत हुन सकेका छैनन् । तिनमा अस्थायी टहरा बनाउने क्रम जारी छ ।

    शिक्षा कार्यालयबाट खटिएको प्राविधिक टोलीले जिल्लाका ३ सय ३९ वटा सामुदायिक विद्यालयलाई रातो स्टिकर दिएको छ । निजीतर्फ २ सय ७० मध्ये आधाजसोको जाँच गर्नै बाँकी रहेको शिक्षा अधिकारी शिवकुमार सापकोटाले जनाए ।

    संस्था गिम्दी, खोकना र गोटिखेलका १/१, बुखेल र दहचोकका २ र मानिखेलका ४ विद्यालयमा अस्थायी टहरा बनेका छन् । पढाइ सुचारु गर्न बाहिरी जिल्लाबाट आएर उपत्यकामा कार्यरत शिक्षकको व्यवस्थापनमा चुनौती रहेको अधिकारीले जनाएका छन् । चन्दनपुर नमनडाँडास्थित सरस्वती माविमा ५ र कालेश्वरी निमाविमा २ जना बाहिरका शिक्षक छन् । ‘उनीहरू बस्दै आएको घर ध्वस्त भएको छ । विद्यालय वरिपरि डेरा गरी बस्न योग्य घरसमेत छैनन्,’ चन्दनपुरका स्थानीय शिक्षक रत्न घिमिरे भने ।

    अधिकांश विद्यालय डाँडामा छन् । विद्यालय आउने बाटोमा पहिरोको सम्भावना धेरै छ । विद्यालय आवतजावतमा कठिनाइ हुन सक्ने भन्दै गोटिखेलका स्थानीयवासी लक्ष्मण दुलालले माटो पन्छाउन डोजर तयारी अवस्थामा राख्नुपर्ने बताए ।

    भूकम्पले घरसँगै बालबालिकाका पाठ्यपुस्तक, कापी, कलम र विद्यालय पोसाक पुरिएका छन् । ‘अब कसरी पढ्ने ? किताब, कापी स्कुल ड्रेस सबै पुरियो,’ भट्टेडाँडा, महांकालस्थित कक्षा दसकी छात्रा विष्णुमाया थिङले भनिन् । दुर्गम १९ गाविसका करिब १० हजारभन्दा बढी बालिबालिका यस्तो समस्याबाट गुज्रिरहेका छन् ।

    शिक्षा अधिकारी सापकोटा बालबालिकालाई पढ्न पठाउनुअघि अभिभावकले एकपल्ट विद्यालयको अवस्थाबारे निरीक्षण गर्नुपर्ने बताउँछन् । ‘कसैले जोखिम भवनमा राखेर पढाएको भने उजुरी दिनुस्,’ उनले भने ।

    भक्तपुरका ९२ सामुदायिक विद्यालय असुरक्षित रहेको शिक्षा अधिकारी रमाकान्त शर्माले बताए । जिल्लामा १ सय १५ वटा अस्थायी कक्षाकोठा निर्माण गर्नुपर्ने छ । तर अझै सुरु भएको छैन । सामुदायिक विद्यालयको अवस्थाबारे अनुगमन भइरहेको छ । निजी विद्यालयको अझै बाँकी छ । हरेक विद्यालयमा विद्यार्थी भर्ना नै बाँकी रहेकाले पठनपाठन ढिलो हुने देखिएको छ ।

    शिक्षा अधिकारी दिनेश श्रेष्ठका अनुसार काठमाडौंका २ सय ९९ सामुदायिक विद्यालयमध्ये ३६ वटा ‘रातो स्टिकर’ मा परेका छन् । दर्जनजति ध्वस्त छन् । विद्यालयको स्थलगत अनुगमन अझै सकिएको छैन । ‘अनुगमन गर्ने र अस्थायी टहरा बनाउने क्रम जारी छ,’ उनले भने, ‘सुरुमा परिस्थिति अनुकूल बनाई बालबालिकालाई भर्ना गर्ने, विद्यालयमा आउन सक्ने वातावरण सिर्जना गर्न परामर्श दिने काम हुनेछ ।’

    तत्काल विद्यालय खोल्न विभिन्न दातृ निकायले जिल्ला शिक्षा कार्यालयको समन्वयमा अस्थायी टहरा बनाउन सघाइरहेका छन् । तर कामले तीव्रता पाएको छैन । अस्थायी कक्षाकोठा निर्माण तीव्र पार्न पर्याप्त सामग्री र जनशक्ति अभाव छ ।

    भूकम्पको त्रास हटाउन सबै शिक्षकलाई मनोसामाजिक परामर्श दिइएको जिल्ला अधिकारीहरूले जनाएका छन् । नयाँ शैक्षिक सत्र सुरु भएलगत्तै आएको प्राकृतिक विपत्तिपछि उपत्यकाबाट बाहिरिएका विद्यार्थी र अभिभावक अझै फर्केका छैनन् ।

    आजको कान्तिपुर दैनिकमा गणेश राई र प्रशान्त मालीले यो खबर लेखेका छन् । 

  •  

प्रतिक्रिया