Edukhabar
शुक्रबार, १४ मंसिर २०८१
अन्तैवाट

त्रास हटाउन स्कुल

आइतबार, १७ जेठ २०७२

काठमाडौं १७ जेठ /भूकम्प प्रभावित जिल्लाका विद्यार्थी करिब एक महिनापछि विद्यालय फर्कंदैछन्। सरकारको निर्णयबमोजिम सम्बन्धित जिल्ला शिक्षा कार्यालयले आइतबारदेखि विद्यालय खोल्न निर्देशन दिएका हुन्।

तर, भूकम्पले पारेको मनोवैज्ञानिक त्रास र लगातारका अनुकम्पनका कारण शिक्षक–विद्यार्थी अझै ढुक्क हुन सकिरहेका छैनन्। 
लामो समयपछि फर्किएका विद्यार्थीलाई केही हप्ता किताबी कुराभन्दा पनि त्रास भुलाउने क्रियाकलापमा जोड दिनुपर्ने सरोकारवालाको भनाइ छ। ‘केही दिनसम्म बालगीत, लोकगीत, नाचगान, कथा, कविता लगायत क्रियाकलापमा जोड दिनुपर्छ,' काभ्रेका सहायक जिल्ला शिक्षा अधिकारी दिनेश न्यौपाने भन्छन्। यस्ता क्रियाकलापले विद्यार्थीसँगै शिक्षकको पनि मनोबल बढ्ने उनको भनाइ छ। 
भूकम्पले बढी क्षति पुर्याेएका गोरखा, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ लगायत जिल्लाका शिक्षा कार्यालयले पनि सुरुमा विद्यार्थीमा व्याप्त त्रास हटाउने खालका कार्यक्रम ल्याउन लागेका छन्। अधिकांश विद्यालयका भौतिक संरचना ध्वस्त भए पनि अस्थायी टहरा वा पालमा कक्षा सञ्चालन गर्न लागिएको छ। 
वैशाख १२ को भूकम्प र शक्तिशाली अनुकम्पनले भवन भवन भत्किएको काभ्रेको सञ्जीवनी नमुना उच्चमावि पनि आइतबार खुल्दैछ। 
‘पहिले दुइटा मात्र भवनमा क्षति भएको देखेका थियौं। तर, शिक्षा विभागको प्राविधिक टोलीले १० मध्येका ६ भवन काम नलाग्ने घोषणा गरेपछि थप समस्या उब्जेको छ,' स्कुलका प्रिन्सिपल सानुकाजी महतले भने। बुधबारमात्र निरीक्षणमा पुगेको प्राविधिक टोलीले ६ भवनलाई रातो स्टिकर लगाइदिएको छ। स्कुलले सुरक्षित प्रमाणित भएका कोठा र टेन्टमा कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ। प्रारम्भिक चरणमा विद्यार्थीलाई स्कुल खुलेको महसुस मात्र गराइने महतले जनाए। 
भूकम्पले काभ्रेका ५ सय ९१ सामुदायिक विद्यालयमध्ये १ सय २ वटामा पूर्ण क्षति भएको शिक्षा कार्यालयको तथ्यांक छ। सामुदायिकका ९ सय ९४ वटा कक्षाकोठा पूर्ण क्षतिग्रस्त छन्। १ सय ६ वटा निजी स्कुलमध्ये ३७ वटामा पूर्ण क्षति पुगेको छ। 

‘शिक्षा विभागबाट खटिएका १० वटा प्राविधिक टोलीले बिहीबारसम्ममा ३ सय १५ वटा स्कुलको परीक्षण सकेका छन्। यिनमा निजी स्कुलसमेत पर्छन्,' शिक्षाका कार्यक्रम अधिकृत बालकृष्ण सिंखडाले जानकारी दिए। 
जिल्ला दैवीप्रकोप उद्धार समितिले विद्यालयका लागि शनिबार २ हजार थान त्रिपाल दिएको छ। यस्तै, १ हजार २ सय टेन्ट झिकाएर आवश्यक पर्ने स्कुलमा पठाउने व्यवस्था मिलाइएको सदस्यसचिव एवं स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले जानकारी दिए। 
शिक्षा कार्यालयले पूर्ण क्षति भएका विद्यालयमा विद्यार्थी संख्याका आधारमा १ सय ७० वटा अस्थायी सिकाइ केन्द्र (टिएलसी) बनाउने भएको छ। यसका लागि साझेदारी गर्दै आएका गैरसरकारी संस्थामार्फत १ सय ३६ वटा र बाँकी विभागमार्फत निर्माण गरिने सहायक जिल्ला शिक्षा अधिकारी दिनेश न्यौपानले जानकारी दिए।

तयार भए निजी स्कुल

विनाशकारी भूकम्पका कारण अनुमान गरेभन्दा धेरै स्कुल क्षतिग्रस्त भएको प्याब्सन काभ्रेले जनाएको छ। 
‘अनुगमनमा ३७ स्कुल र ४ सय १४ वटा कक्षाकोठा क्षति भएको पायौं। यसबाट करिब १२ करोड रुपैयाँबराबर नोक्सानी भएको छ,' काभ्रे प्याब्सनका अध्यक्ष राममणि सापकोटाले बताए।
प्याब्सन काभ्रेले संस्थामा आबद्ध ८३ वटै स्कुल आइतबार सञ्चालनमा आउने जनाएको छ। ‘पहिलो एक हप्ता पठनपाठनभन्दा पनि शिक्षक–विद्यार्थीमा रहेको त्रास हटाउनतर्फ लाग्छौं। विभिन्न खेल तथा मनोरञ्जनात्मक क्रियाकलाप, तालिम तथा प्रशिक्षण सञ्चालन गछर्ौं,’ सापकोटाले भने। 

अन्योलमा पढाइ सुरु

शिक्षा कार्यालयको निर्देशन बमोजिम रसुवाका विद्यालयमा आइतबारदेखि अभिनय थेरापीबाट कक्षा सञ्चालन गर्न लागिए पनि शिक्षक भने अन्योलमै छन्। 
‘विद्यालय खोल्न निर्देशन आएको छ, टेन्ट गाडेर विद्यालय सञ्चालन गर्ने योजनासाथ गाउँ जान लागेको छु,' डाँडागाउँस्थित पञ्चलिंगे प्राविका प्रअ सन्तोष नेपालले बताए। पटकपटकका अनुकम्पनले त्रस्त बालबालिकालाई पहिलो चरणमा अभिनय थेरापी गराइने उनको भनाइ छ। 
अस्थायी पालमा विद्यार्थीलाई गर्मीले असर गर्ने भएकाले चाँडै वैकल्पिक व्यवस्था गर्नुपर्ने देखिएको छ। अतिप्रभावित हाकु–८ र ९ का २ सय बालबालिकाका लागि लहरेपौवास्थित नीलकण्ठ उच्च माध्यमिक विद्यालयमा अस्थायी पाल हालेर पढाइ सुरु गर्न लागिएको छ।

रसुवाका जिल्ला शिक्षा अधिकारी रामशरण सापकोटाका अनुसार उत्तरी भेगका बासिन्दा विस्थापित भएर नुवाकोटका विभिन्न ठाउँमा झरेकाले त्यहाँका विद्यार्थीका लागि त्यतै पठनपाठन व्यवस्था मिलाइनेछ। 
केही साताअघि रसुवाको कालिकास्थानमा शिक्षकलाई मनोपरामर्श कक्षा सञ्चालनबारे तालिम दिएपछि आआफ्नो क्षेत्रमा गएर जिल्ला शिक्षा कार्यालयले विद्यालय खोल्न सुझाव दिएको थियो। ‘विद्यार्थीलाई सामान्य अवस्थामा ल्याउनका लागि पनि विद्यालय सञ्चालन हुनु जरुरी रहन्छ,' डाँडागाउँ स्रोतकेन्द्रका स्रोतव्यक्ति घनप्रसाद भट्टले भने, ‘१० वटा विद्यालयमध्ये ४ वटा विद्यालय भएका बस्तीछेउका मान्छे विस्थापित हुँदा भने समस्या छ। सबैलाई एकत्रित बनाएर विद्यालय सञ्चालन गर्ने सक्ने स्थिति छैन। कतिपय विद्यालयलाई बसाइ सरेर गएकै ठाउँमा पढाउने व्यवस्था मिलाएका छौं।'
तत्काललाई केही विद्यालय सञ्चालनमा ल्याउन सकिने भए पनि अधिकांश विद्यालय सञ्चालन गर्ने चुनौती छ। हाल विद्यार्थीलाई भेला गराएर मनोपरार्श कक्षा सञ्चालन गर्नेबारे शिक्षकलाई तालिम दिइसकेको जिल्ला शिक्षा अधिकारी सापकोटाले बताए। 
शिक्षा कार्यालयका अनुसार रसुवामा १ सय ७ विद्यालयमध्ये ९५ प्रतिशत विद्यालय ध्वस्त छन्। १ हजार १ सय ४३ कोठामध्ये ७ सय ३० साना कक्षाकोठा र १३ वटा ठूलो कक्षाकोठा, १ सय १० वटा शौचालय भत्केको र खानेपानीको धारासमेत क्षतिग्रस्त छन्। रसुवामा भूकम्पमा परेर मात्र ४४ विद्यार्थीको ज्यान गएको तथ्यांक छ। 
भूकम्पबाट नुवाकोटमा ९० प्रतिशतभन्दा बढी विद्यालयमा क्षति पुगेपछि पालबाट पढाइ सञ्चालन गर्न कठिनाइ हुने भएको छ। जिल्लामा ४ सय ८५ विद्यालयमध्ये एक दर्जन हाराहारी विद्यालय मात्र सञ्चालन हुने अवस्थामा रहेको जिल्ला शिक्षा कार्यालय नुवाकोटले जनाएको छ। शिक्षा कार्यालयका अनुसार ३ हजार ६ सय ३६ कक्षाकोठामध्ये तीन हजार २ सय ५० भन्दा बढी कक्षाकोठा भत्किएको छ।

 

विद्यालय खुलाउन सजिलो, पढाउन गाह्रो

bhukampa -schoool photo gorkha

भूकम्पले घर भत्किँदा घाइते पन्द्रुङकी एक बालिका। तस्बिर : नरहरि

गोरखा, हंसपुर ९ भच्चेक प्राविका प्रधानाध्यापक ईश्वरीप्रसाद अधिकारीले १० दिन आफैं खटेर विद्यालयमा छकोठे टहरो ठड्याएका छन्। बाँस, काठपात र जस्ता लगाएर पाँच कक्षासम्म चलेको उक्त विद्यालयमा आइतबारबाट पढाइ सुरु गर्ने योजना छ उनको। 
विद्यालय बनाउन स्थानीयले केही दिन श्रमदान पनि गरे। श्रमदानबाहेक एक लाख ५० हजार रुपैयाँ खर्च भएको प्रअ अधिकारी बताउँछन्। विद्यार्थीलाई नियमित विद्यालय आउने बानी लगाउन आइतबारबाट विद्यालय खुलाउने भए पनि नियमित पढाइ चलाउन नसकिने उनी बताउँछन्। शिक्षक, विद्यार्थी र अभिभावक सबै भूकम्पपछि त्रासमा छन्। 
पाँच कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा ४५ जना विद्यार्थी पढ्छन्। आसपासका प्राथमिक विद्यालय पनि भच्चेक प्राविमै गाभिने सम्भावना रहेको उनले बताए। गोरखाका धेरैजसो प्राथमिक विद्यालयमा विद्यार्थी संख्या निकै कम छ। वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएपछि गोरखाका चार सय ९८ विद्यालयका तीन हजार ५२ कक्षाकोठा पूर्ण रुपमा ध्वस्त छन्। अन्य सबैजसोमा सामान्य क्षति पुगेको छ। क्षति नपुगेका विद्यालय संख्या न्यून छ। विद्यालय भवन पूर्ण रुपमा भत्किएपछि विद्यार्थी पनि मानसिक रुपमा विद्यालय जान तयार भइसकेका देखिँदैनन्। सहरी क्षेत्रका कम क्षति पुगेका विद्यालयमा समेत खेलमैदानमा अस्थायी टहरा बनाएर विद्यालय सञ्चालन गरिएको छ। केही निजी विद्यालय एक सातादेखि चलेका छन्। केही भने विद्यार्थी जम्मा गरेर रमाइला कक्षा सञ्चालन गरिरहेका छन्।
शिक्षा कार्यालयले भने विद्यालय खुलेसँगै विद्यार्थीलाई पठनपाठनभन्दा पनि रमाइलो वातावरणमा विद्यालय आउने जाने बानी विकास गर्न निर्देशन गरेको छ।
आइतबारबाट विद्यालय खुलाउने योजना रहे पनि नियमित पठाउने सम्भावनै नरहेको सहायक जिल्ला शिक्षा अधिकारी हेम आचार्यले बताए। तीन सय विद्यालय आइतबार खुल्ने भए पनि अन्य दुई सय विद्यालय भने खुल्ने अवस्था छैन।
दुर्गम उत्तरी गाविसका विद्यालयमा टहरा निर्माण भएका छैनन्। ‘पुरानै टहरामा विद्यालय सञ्चालन गर्न सक्ने अवस्थासमेत छैन, अहिलेसम्म विद्यालयहरुमा १२ सय टहरा बनेका छन्,' सहायक जिशिअ आचार्यले भने। कतिपय विद्यालयमा टहरा बने नबनेको जानकारी नआइसकेकाले सबै विद्यालय सञ्चालन नहुने उनी बताउँछन्।
विद्यालयलाई विभिन्न संघसंस्थाले सहयोग गरेको आठ सय बन्डल जस्तापाता वितरण भएको छ। जिल्ला शिक्षा कार्यालयबाट भने जस्तापाता वितरण भएको छैन। अभिभावक, शिक्षक, विद्यार्थी मिलेर धेरैजसो विद्यालयमा टहरा बनाएका छन्।

नमुना बन्यो समता निकेतन

samata school gorkha

आइतबारबाट विद्यालय संचालन हुनेभएपछि गोरखामा समता शिक्षा निकेतन विद्यालयले तयार परेको अस्थायी कक्षाकोठा। तस्बिर : नरहरि
भूकम्पले भाडामा लिएर सञ्चालन गरिएको कक्षाकोठा भत्काएपछि गोरखामा रहेको समता शिक्षा निकेतन विद्यालयले नमुना कक्षाकोठा तयार गरेको छ। तेस्रो शैक्षिक सत्र सुरु गर्दै गरेको विद्यालयले सरकारले जेठ १७ बाट विद्यालय खुलाउने भएपछि एक साताभित्रै १० लाख लगानी गरेर नयाँ कक्षाकोठा तयार गरेको हो। 
छ सय २५ जना विद्यार्थी पढ्ने उक्त विद्यालय एक सातामै तयार भएको निर्देशक दिपक सञ्जेलले बताए। बाँस र जस्तापाताले आठ वटा कक्षा तयार भइसकेकाले आइतबारबाट विद्यालय सञ्चालन गर्न समस्या छैन। निर्देशक सञ्जेलले भने, ‘दैनिक १८ जनालाई ज्यालामा काम लगाएर सात दिनभित्रै तयार गरेका हौं, भूकम्प पीडितलाई नै ज्याला दिएर काम लगायौं।' ७ कक्षासम्म सञ्चालनमा रहेको समता निकेतनमा नर्सरी केजीबाहेकका एकदेखि सातसम्म आइतबारबाट सञ्चालन गरिने विद्यालयले जनाएको छ। थप ७ वटा कक्षाकोठा निर्माणकै क्रममा छ।
८ वटा भने तयार भइसकेको छ। केही दिनभित्रै १५ वटै कक्षा तयार गरेर विद्यालय नियमित सञ्चालन गर्ने सञ्चालक सञ्जेलले बताए। बाँस, जस्तापाताबाट किलाकाँटीको सहायताले विद्यालय भवन तयार गरिएको छ। बाँस झापाबाट र जस्तापाता स्थानीय बजारमै खरिद गरिएको हो। यसरी विद्यालय बनाउन खर्च पनि कम लाग्ने र स्थानीय स्तरकै जनशक्तिले छिट्टै बनाउन सकिन्छ। कक्षाकोठा सँगै पाँचवटा छात्रा र छात्रलाई पाँचवटा शिक्षक, शिक्षिकाका लागि एउटा गरी शौचालय पनि निर्माण गरिएको छ। अहिले बनाइएको अस्थायी टहरा रहेको ठाउँ एक वर्षका लागि जग्गा भाडामा लिएर सञ्चालन गरिएको हो। विद्यालय भवन चर्किएर विस्थापित हुने अवस्था आएपछि स्थानीयले विद्यालय नियमित सञ्चालन गर्न केही पैसा लिएर जग्गा भाडामा दिएका हुन्। स्थानीय जगमाया मगरले समता निकेतन विद्यालयलाई अस्थायी टहरा बनाउन वार्षिक ४० हजार रुपैयाँ मात्र लिएर सहयोग गरेको बताइन्। ‘बालबच्चाले पढ्न पाऊन्, पढाइ नछुटोस् भनेर विद्यालय सञ्चालन गर्न जग्गा दिएको हुँ, सस्तो र राम्रो पढाइ भएको विद्यालय यहाँबाट जाने अवस्था आउँछ कि भनेर जग्गा दिएको हुँ।'

पहिलो चरणमा शिक्षक–विद्यार्थी भेट मात्र 

आइतबारबाट सुचारु हुने विद्यालय कक्षालाई जिल्ला शिक्षा कार्यालय दोलखाले पहिलो चरणमा शिक्षक–विद्यार्थी भेटघाटका रुपमा सञ्चालन गर्ने भएको छ। 
भूकम्पले अधिकांश विद्यालय ढलेका कारण आइतबारबाट खुला स्थानमै सुरु हुने विद्यालयलाई शिक्षक–विद्यार्थी भेटघाटका रुपमा मात्र सञ्चालन गरी मनोवैज्ञानिक परामर्शसहित केही सातापछि मात्र पढाइ सुरु गर्न सकिने जिल्ला शिक्षाले जनाएको छ। 
आइतबारबाट स्कुल खुलाउन ९ वटाबाहेक सबैजसो गाविसका सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षक विद्यालय खटिइसकेका छन्। उत्तरको केन्द्र सिँगटीउताका ९ वटा गाविसमा भूकम्पपछिको पहिरोले आवतजावत बन्द भएका कारण सदरमुकाम रहेका प्रधानाध्यापक र शिक्षकलाई जिल्ला शिक्षामै हाजिर गर्ने व्यवस्था गरिएको छ। 
‘भूकम्पले विद्यालय भत्काइसकेको छ, बालबालिका मनोवैज्ञानिक त्रासका बीच घरमै बसिरहेका छन्,' जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चनले भने, ‘त्यसैले शिक्षकलाई खुला स्थानमै पाल टाँगेर भए पनि विद्यालय खोलेको जानकारी दिएर विद्यार्थी आमन्त्रण गर्न र मित्रवत व्यवहारले भूकम्पले ध्वस्त संरचनाको विद्यालयभित्र सहज वातावरणमा घुलमिल गराएपछि मात्र कक्षा सञ्चालन गर्ने लक्ष्य राखेका छौं।' कार्यालयले १९ वटै स्रोत केन्द्रमा पुगेर सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अभिमुखीकरण गरिसकेको छ। पहिलो चरणमा विद्यालय खुलेपछि एक साताभित्र विद्यालयको आन्तरिक स्रोतबाट अस्थायी भवन वा टहरा बनाएपछि नियमित कक्षा सञ्चालन गरिने लोप्चनले बताए। दोलखाका ३ सय ६३ वटा सामुदायिक विद्यालयमध्ये ३ सय ५१ वटा पूर्ण क्षति भएको कार्यालयले जनाएको छ। 

कक्षा हैन, विद्यालय खुल्दै


भूकम्प प्रभावित जिल्लाका अधिकांश विद्यालय भत्किएका कारण धादिङका विद्यालय सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ। 
आइतबार विद्यालय खुले पनि कक्षा सुचारु नहुने धादिङका जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद ढकाल बताउँछन्। ‘विद्यालय सञ्चालन तयारीका लागि शिक्षकलाई मनोसामाजिक परामर्श तालिम दिइरहेका छौं। १५ वटा केन्द्रमा तालिम चलेको छ,' ढकाल भन्छन्, ‘बालबालिकालाई त्रासको वातावरणबाट मुक्त गराउन, विद्यालय नियमित गराउनका लागि रमाइको कक्षा सुरु हुनेछ। कतिपय विद्यालयले अस्थायी टहरा निर्माण गरिसकेका छन्। नबनाएकाले पनि यही बीचमा टहरा निर्माण लगायत काम सँगसँगै गर्ने ढकाल बताउँछन्। 
८९ हजार एक सय १६ विद्यार्थी भर्ना भएको धादिङका ५ सय ८७ वटा विद्यालय भवनमा क्षति पुगेको शिक्षा कार्यालयको रेकर्डमा छ। जम्मा ५ हजार ४ सय ३४ कक्षाकोठामध्ये २८ सय कक्षाकोठा पूर्ण रुपमा भत्किएका छन्। यी विद्यालयमा दुई साता अघिदेखि अस्थायी सिकाइ केन्द्र उपलब्ध गराएर कक्षा सुचारु गर्ने तयारी गरे पनि जिल्ला शिक्षा कार्यालयले अस्थायी केन्द्र उपलब्ध गराउन सकेको छैन। जिल्ला शिक्षा अधिकारीले सात सय टेन्टको जोहो भइसकेको बताएका थिए। विद्यालय खुल्ने पूर्वसन्ध्यामा विद्यालयमा टेन्ट नपुगेपछि कसरी विद्यालय सञ्चालन गर्ने भन्ने अन्योलमा छन्। टेन्टबाट निर्मित १४ सय अस्थायी सिकाइ केन्द्र विद्यालयलाई उपलब्ध गराउने आश्वासन पाएका थिए। सत्यवती उच्च मावि आदमटारका प्राचार्यसमेत रहेका नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्मा भन्छन्, ‘शिक्षा कार्यालयले पहिल्यै आफैं व्यवस्थापन गर भनिदिएको भए विद्यालयहरुले आफैं तयारी गरिसक्थे।'

 

आजको नागरिक दैनिकमा यो खबर छापिएको छ ।  

 

प्रतिक्रिया