Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

३७ दिनपछि खुले उपत्यकाका विद्यालय

सोमबार, १८ जेठ २०७२
काठमाडौं १८ जेठ /भूकम्पका कारण बन्द भएका राजधानीका अधिकांश विद्यालय आइतबार सञ्चालनमा आए पनि भूकम्पका कारण क्षतिग्रस्त केही सामुदायिक विद्यालयले भने अझै अस्थायी टहरा बनाउने स्थान खोज्न सकेका छैनन्।
 
टहरा बनाउने स्थानसमेत खोज्न नसक्दा ती स्कुलको पढाइ अनिश्चित बनेको छ। मुलुककै पुरानो र ऐतिहासिक रानीपोखरीको भानु माध्यमिक (दरबार स्कुल) र संस्कृत माविमा अझै पनि पर्याप्त अस्थायी टहरा बनेका छैनन्। 
 
दुई स्कुलका छुट्टाछुट्टै व्यवस्थापन समिति भए पनि एकै भवनबाट पढाइ सञ्चालन हुने भएकाले सबै विद्यार्थीलाई अस्थायी टहरा पुगेका छैनन्। दुवै स्कुल भवन भूकम्पका कारण क्षतिग्रस्त छन्। स्कुलअगाडि पर्याप्त चौर नभएकाले टहरा बनाउन समस्या भएको स्कुलले जनाएको छ। 
भानु माविका प्राचार्य हेमचन्द्र महतोले भने, 'विद्यालय सञ्चालनका लागि पाँचवटा अस्थायी टहरा चाहिन्छ। आइतबारसम्ममा दुईवटा मात्र बनाएका छौं।' संस्कृत माविका सहायक प्रधानाध्यापक शिव अधिकारीले भने, 'अस्थायी टहरा निर्माणका लागि स्थान नपुगेको विषयमा जिल्ला शिक्षा कार्यालयमा जानकारी गराउँदा माथिल्लो निकायमा छलफल भइरहेको भन्ने जबाफमात्र आउँछ। अन्य स्कुलमा पढाइ सुरु हुन लागिसक्यो। हामी भने टहराको समस्यामा रुमल्लिरहेका छौं।'
 
टहरा बनाउन ठाउँ नभएका राजधानीकै अरुणोदय निमावि, यट्खाको श्रीकन्या मावि र वसन्तपुरको नवआदर्श माविलाई तत्कालका लागि मरुहिटीमा रहेको शान्तिनिकुञ्ज स्कुलमा सारिएको छ। 
 
शान्तिनिकुञ्जमा पनि सातवटा कोठामात्र जगेडा रहेकाले सबै स्कुलको पढाइ सञ्चालन गर्न कठिन भएको छ। उक्त स्कुलमा श्रीकन्या माविको पढाइ बिहानी सत्रमा सञ्चालन गर्ने तयारी गरिएको छ। 
 
जगेडा सात कोठामा अरुणोदय निमाविको पढाइ सञ्चालन गर्ने भने पनि भूकम्पले विस्थापित परिवारले ती कोठामा आश्रय लिइरहेका छन्। सोही स्कुलमा आश्रय लिन गएको नवआदर्शको पढाइ कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ।
 
आफ्नै भवनमा पढाउनसक्ने अवस्था नरहेपछि झोंछेको बालसेवा निमाविलाई पनि तत्कालका लागि नजिकै रहेको विद्योदय निमाविमा सारिएको छ। 
 
उक्त स्कुलमा पनि एकै सत्रमा दुईवटा स्कुल चलाउन पर्याप्त कोठा नभएकाले बिहानी र दिउँसो गरेर पढाउने तयारी गरिएको छ। भवन भत्किएर पढाउनसक्ने अवस्था नभएपछि राजधानीका थुप्रै विद्यालय नियमित हुन सकेका छैनन्।
 
काठमाडौंका जिल्ला शिक्षा अधिकारी दिनेश श्रेष्ठले अस्थायी टहरा बनाउने ठाउँ खोज्न जिशिकालाई मात्र कठिन हुने बताए। उनले भने, 'सम्बन्धित व्यवस्थापन समितिलाई अस्थायी सेल्टर बनाउन पायक पर्ने स्थान खोज्न भनेका छौं।'
भवन क्षतिग्रस्त भएका नक्सालको नन्दीरात्री, लगनखेलको नमुना मच्छिन्द्र, त्रिपुरेश्वरको विश्वनिकेतनलगायत थुप्रै स्कुलले अस्थायी टहरा बनाएका छन्।
 
अस्थायी टहरा बनाएर स्कुल खोलेका र आफ्नै भवनमा पढाइ सञ्चालन गर्न सकिने स्कुलहरूले पनि पहिलोपटक विद्यार्थीलाई भूकम्पबाट नडराउन आग्रह गर्दै ढुक्कसँग पढ्न परामर्श दिएका छन्। नमुना मच्छिन्द्रले अस्थायी टहराबाट सोमबारदेखि कक्षा नौ र १० का विद्यार्थीलाई पढाउने तयारी गरेको छ।
 'विद्यालयका सात भवनमध्ये ६ वटा असुरक्षित छन्। अस्थायी टहरामा पढाउँदैछौं', विद्यालयका प्रधानाध्यापक राधाकृष्ण महतले भने। 
यसअघि स्कुल रहेको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सानेपाको ज्ञानोदय बालवाटिका उच्चमाविले भने २० गतेस मम्पढाइ स्थगित गरेको छ। उक्त स्कुलले पुल्चोकमा रहेको नेपाल राष्ट्रिय भूपू सैनिक संघको खाली जग्गा भाडामा लिएर अस्थायी टहरा बनाउँदैछ।
 
विद्यालयका शिक्षक गिरिराज निरौलाले भने, 'पहिला स्कुल रहेको भवन भत्काएर नयाँ नबनाएसम्म पढाइ चलाउन सकिँदैन। त्यसैले एक वर्षका लागि जग्गा भाडामा लिएका छौं।' आइतबारदेखि खुलेका कतिपय स्कुलले विद्यार्थीलाई नाचगान गराएर, कथा, कविता र चुट्किला सुनाएर मनोरञ्जन दिलाएका थिए।
 
* आजको अन्नपूर्ण दैनिकमा सूर्यप्रसाद पाण्डेले यो खबर लेखेका छन् । - * सच्याईएको - स.

प्रतिक्रिया