Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

भूकम्प भुलाउँदै स्कूल

शुक्रबार, २२ जेठ २०७२

काठमाडौं २२ जेठ /दुई साताअघिसम्म सुनसानजस्तै देखिने राजधानीको चोक चोकमा अहिले बिहान गाडी पर्खाइमा बस्ने विद्यार्थीको भिडभाड हुन्छ । सार्वजनिक बस खचाखच हुन थालेका छन् । उपत्यकाका २ हजार विद्यालयमा अध्ययनरत झण्डै ६ लाख विद्यार्थी पढ्न जान थालेपछि चहलपहल बढेको हो ।

बजार पसल सबै खुलिसकेका छन् । भूकम्पको त्रासले घरमा झोक्र्याएर बस्ने बालबालिका देखि बृद्धासम्म आफनो दैनिकीमा फर्कन थालेका छन् । भूकम्पको त्रासमा एकोहोरिने केही विद्यार्थी परीक्षा दिदैछन् भने केही तयारीमा छन् ।  कक्षा १२ का विद्यार्थी परीक्षा दिदै छन् । जेठ ३१ देखि स्नातक तेस्रो वर्ष र असार १ देखि ११ कक्षाको परीक्षा सुरु हुदैछ ।

शिक्षा मन्त्रालयले भूकम्पको पराकम्पन नरोकिंदै शैक्षिक संस्था खोल्ने निर्णय गर्दा सुरु चौतर्फी विरोध भएको थियो ।

शिक्षा प्रशासनले गरेको निर्णय रोक्न दबाबसमेत दिइएको थियो । अस्थायी सिकाई केन्द्र बनाउन लगाएर शिक्षा प्रशासनले आइतबारदेखि देशभरका अधिकांश विद्यालय खुलाएको हो ।

शिक्षा मन्त्री चित्रलेखा यादव भूकम्प गएदेखि नै स्वदेश छैनन् । उनी एउटा देशबाट आउन नपाई अर्को देश उडिहाल्छिन् । वैशाखयता यादव कोरिया, चीन र डेनमार्क गइसकिन् । सोमबार छोरालाई समेत लिएर उनी डेनमार्क गएकी छन् ।  शिक्षासंग सरोकार नराख्ने कार्यक्रममा पनि उनी विदेश जाने गरेकी छिन् । उनी नभए पनि भूकम्पपछिको जनजीवन सामान्य बनाउन विरोधको बाबजुद पनि शिक्षा प्रशासनले प्रयास गरिरहेको छ ।

विद्यालयको भग्नावेशष हटाउन मन्त्रालय र मातहत कार्यालयका कर्मचारीलाई एक महिनादेखि विद्यालयमा खटाउने गरिएको छ । सहसचिवको नेतृत्वमा टोली खटाउने गरिएको छ । शिक्षा सचिव विश्वप्रकाश पण्डित स्वयं नै नेतृत्व लिएर विद्यालय अनुगमन गरिरहेका छन् ।

मन्त्री बिना चलेको मन्त्रालयका कर्मचारी प्रशासनले जोखिम मोलेर विद्यालय खोल्ने निर्णय गरेका हुन् ।  यसको जस अपजस शिक्षा सचिव पण्डितलाई जान्छ । विद्यालय खुल्दा कुनै क्षति भए अपजस उनलाई जान्थ्यो । तर, जनजीवन सामान्य बनेपछि जस लिने धेरै निस्केका छन् । ‘मन्त्री नभए पनि जोखिम लिएर भए पनि जनजीवन सामान्य बनाउन विद्यालय खोल्यौं । १२ कक्षाको परीक्षा चलायौं,’पण्डितले भने,‘मन्त्रीज्यू नभएपनि दैनिक काममा केही प्रभाव हुन दिएको छैनौं ।’

 भूकम्प बिर्साउन विद्यालयले सहयोग गरेपछि शिक्षा प्रशासनले पुर्‍याएको योगदानको  जताततै चर्चा हुन थालेको छ ।

भूकम्पको त्रासले राजधानी छाडेर गाउ गएका सर्वसाधारण फर्किए । छोराछोरी हेर्न घरमै झोक्र्याएर बसेका अभिभावक पनि अचेल आफनो व्यवसायमा लाग्न थालेका छन् ।

विद्यालय खुल्ने दिन नजिकिएपछि कस्तो कोठामा राखेर पढाउने होला ? भन्ने अभिभावकमा चिन्ता थपिएको थियो । विद्यालयका अग्लो भवनमा पढाउन छाडेर कटेज बनाएर पढाउन थालिएको छ । सुरुको दिनमा दुई घण्टा विद्यालय खुल्ने गरेकोमा क्रमश दिनभरी खुलाउन अभिभावकको माग आउन थालेको छ । सबैजसो विद्यालयमा कोर्षका किताब पढाउन सुरु गर्ने तयारी भएको छ ।

शिक्षासेवी एवं सभासद बाबुराम पोखरेलले शैक्षिक संस्था खुलेपछि जनजीवन सामान्य हुँदै गएको बताए । ‘त्रासमा रहेका अभिभावक र विद्यार्थीलाई स्कुल खुलेपछि सामान्य जीवनमा फर्काउन सहयोग पुग्यो,’उनले भने,‘बजारमा चहलपहल भएपछि मानिसले भूकम्पको त्रासलाई बिर्सन थालेका छन् ।’

मन्त्री विदेश यात्रामा भए पनि सचिव, सहसचिवहरु साँझ अबेरसम्म मन्त्रालयमै रहेर भत्किएका संरचना बनाउन आवश्यक रकम कहाँबाट जुटाउने, कसरी बनाउने भन्ने योजना बनाउन ब्यस्त छन् ।  ‘पुनर्निर्माणको खाका अन्तिम चरणमा पुरयाएका छौ,’पण्डितले भने,‘तीन वर्ष भित्र सबै विद्यालय बनाइसक्छौ ।’ अब बन्ने भवन भूकम्प प्रतिरोधी र भवन आचारसंहिता पालना गरेर बनाइने उनले बताए ।

मन्त्रालयका अनुसार ४९ जिल्लामा १९ हजार २ सय ८९ विद्यालय मध्ये ६ हजार ९ सय २ विद्यालय प्रभावित भएका छन् । १६ हजार ४ सय ७५ कक्षा कोठा पूर्ण रुपमा क्षति भएको छ । मन्त्रालयले भूकम्पको कारणबाट अभिभावक गुमाएका १४ वर्षमुनीका दुई सय बालबालिकालाई एसएसओएस बालग्रामको सहयोगमा पालनपोषण र पढने व्यवस्था मिलाइएको छ ।  एसएओएसमा पढ्न आमा र बुबा दुबै गुमाएको हुनुपर्छ । परिवारमा आमा वा बुबा गुमाएका र पीडित परिवारका छोराछोरी पढाउन पतन्जली योग पीठसँग मन्त्रालयले छलफल अन्तिम चरणमा पुर्‍याएको छ । 

आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले खबर लेखेका छन् । 

प्रतिक्रिया