Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

स्कूल चलाउन परिश्रम गर्दै शिक्षकहरु

शनिबार, २३ जेठ २०७२

काठमाडौं २३ जेठ /जनज्योति निमाविका प्रधानाध्यापक दीपक अर्याल मध्यान्हको घाममा चौतारामा राखिएको बेन्च डेक्समुनि ढुङगाका टुक्रा राखेर नहल्लिने बनाउदै थिए । भूकम्पले स्कूलका सबै ब्लक भत्काएपछि शिक्षकहरुको टोलीले पाल र खुला ठाउमा कक्षा चलाइरहेका छन् । ‘गर्मीमा पाल त कामै रहेनछ,’शिक्षक नवराज गिरीले भने,‘उसिनेको आलुको हालत हुन्छ, बस्नै सकिदैन ।’

बिहीबार बिहान विद्यार्थी स्कूलमा जम्मा हुदै थिए । अचानक बादल मडारिएर पानी पर्न थाल्यो । उनीहरु लाखापाखा लाग्न थाले । त्यसदिन १ सय ९० विद्यार्थी रहेको विद्यालयमा करिब ५०÷६० जना मात्रै थिए । चौतारोमुनिको खुला ठाउमा डेक्स बेन्च थुपारेर ५ वटा कक्षा बनाइएको थियो । 

त्यहाबाट आधा घण्टाको पैदल दूरीमा पर्ने पल्लाटोलको बच्छलादेवी निमाविको भवन टाढाबाट हेर्दा राम्रै देखिन्थ्यो । ‘बाहिरबाट हेर्दा राम्रो देखिन्छ,’शिक्षक बद्रीराज गिरीले भने,‘केटाकेटी स्कूलमा त आउन मान्दैन । जगनै खलबलिएको भवनमा कसरी राख्नु ?’

भग्नावशेष वरीपरी भेटिएका भेटिने शिक्षकहरु पनि जसरी हुन्छ आइपरेको परिस्थिति सामना गर्ने मनस्थितिमा विद्यालय खोल्न थालेका छन्  । 

पीडामा शिक्षकहरु

‘स्कूल आयो कि मन भकानिन्छ,’ बच्चलादेवि निमाविका प्रअ बद्रराज गिरीले विद्यार्थीलाई देखाउदै भन्छन,‘यिनीहरुलाई देख्छु, उसैको याद आउछ । बिर्सन खोज्छु गाहे हुदो रहेछ ।’ भूकम्पका कारण गिरीले १० बर्षिय छोरी गुमाए । सोही स्कूलमा पढने छोरीको शव दुई दिनपछि भग्नावशेषबाट निकालियो । 

सागाचोककै जनजागृति उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक पदमप्रसाद पराजुली चप्पल र ट्राउजरका भरमा स्कूल वरपर घुमिरहेका भेटिन्छन । भूकम्पले उनको घर पुरिएको छ । साथीको घरमा गएको बेला संयोगले उनी जोगिए । यही विद्यालयका १७ शिक्षकको डेराको अत्तोपत्तो छैन । शिक्षकको परिवार अन्यत्र भएकोले १७ शिक्षक एउटै पालमा बस्दै आएका छन् । 

आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया