Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

एउटा त्रिपालमुनि चार वटा कक्षा

आइतबार, २४ जेठ २०७२

काठमाडौं २४ जेठ/ पर्वतको विश्वज्योति उच्च माविका चार वटा कक्षाका बालबालिका अहिले त्रिपालमुनि पढिरहेका छन् । भूकम्पले भत्काएर कक्षाकोठा बस्न नमिल्ने भएपछि नर्सरी, १ र २ कक्षा एक महिनादेखि त्रिपालमुनि चलिरहेको छ । 

४ देखि ८ वर्षसम्मका बालबालिकालाई त्रिपालले कुनै बेला आगोको लप्काजस्तै पोल्छ । कुनै बेला पानी चुहिएर पढ्ने पुस्तक र ज्यान जोगाउनै मुस्किल हुन्छ । ‘कहिलेकाहीं ठूलो पानी पर्दा किताव भिज्छ,’ कक्षा ३ का दिलिप पौडेलले भने, ‘घाम लाग्दा पोलेर बस्नै सकिन्न ।’ बालबालिकाहरू विद्यालयमा गएर सिकाइभन्दा बढी तनाव बोकेर फर्किने गरेका स्थानीय अभिभावक बताउछन् ।

‘घर भत्किए पनि त्रिपालमुनि राति सुत्न त समस्या छैन,‘स्थानीय बाबुराम विकले भने, ‘दिउसो चर्केका घाममा बालबालिकालाई निकै समस्या भएको छ ।’ विद्यालय गएका बालबालिका कहिले बिरामी भएर फर्किने हुन् भन्ने चिन्तामा अभिभावकहरू छन् । विद्यालयले तत्काल कुनै व्यवस्था गर्नुपर्ने उनीहरूको सुझाव छ ।

दाताले दिएको एउटा त्रिपाल भुइमा बिच्छ्याइएको छ भने अर्को टा“गिएको छ । घामपानी छेक्ने उद्देश्यले टागिएको त्रिपालले उद्देश्य पूरा गरेको छैन । 

आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ । 

 

 

प्रतिक्रिया