काठमाडौं २८ जेठ/विद्यालय सञ्चालन भएको तेस्रो साता बितिसक्दा पनि ठूलो हाकुमा रहेको हाकू माविमा शिक्षकहरु उपस्थित नभएको पाइएको छ ।
भूकम्पपछि एक महिनासम्म बन्द भएको विद्यालय सरकारले जेठ १७ गतेबाट सुचारु गर्न निर्देशन दिएपनि शिक्षकहरु विद्यालय पुगेका छैनन ।
नारायण दल धुन्चेबाट खटिएका नेपाली सेनाले विद्यालय सञ्चालनका लागि अस्थायी टहरा निर्माण गरिसकेका छन् । उक्त विद्यालयमा करिब ३ सयभन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् । शिक्षक उपस्थित नभएपछि नेपाली सेनाले नै अध्ययापन गराइरहेको स्रोतले बतायो ।
विद्यालयमा अत्यावश्यक रहेको शौचालय तथा धारासमेत नेपाली सेनाले नै निर्माण गरेको गणपति लक्ष्मण थापाले बताए ।
विद्यालयका शिक्षक उपस्थित नभएपछि सेनाका ५ जना शिक्षकले नियमित अध्यापन गराउदै आएका छन् । बुधबार ३ जना शिक्षक विद्यालय हाजिर भएके जानकारी प्राप्त भएको छ ।
जिल्ला शिक्षा अधिकारी रामशरण सापकोटालेल मंगलबारबाटै शिक्षक विद्यालय पुगेको जानकारी दिए । अब हाकुमा ८ कक्षासम्म मात्रै पढाउने र नौ र १० कक्षाका विद्यार्थीलाई रसुवा उमाविमा ल्याउने बताए । रसुवा उमावि ल्याइएका विद्यार्थीलाई खाना र बासको समेत व्यवस्था गरिने सापकोटाले बताए ।
आजको नेपाल समाचारपत्र दैनिकमा यो खबर छापिएको छ ।
प्रतिक्रिया