Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

अझै पुस्तक अभाव

बुधबार, ०२ असार २०७२

काठमाडौं २ असार / शैक्षिक सत्र सुरु भएको दुई महिना बितिसक्दासमेत बाजुरा र दार्चुलामा अझै पाठ्यपुस्तक पुग्न सकेका छैन । बाजुराको पूर्वोत्तर क्षेत्रका ११ गाविसका १ सय ३ विद्यालयमा अध्ययनरत विद्यार्थीले पाठ्यपुस्तक पाउने ठेगान अझै छैन । ६ देखि १० कक्षासम्मका किताब नपाइएको शिक्षकहरूले बताएका छन् ।

दार्चुलामा मावि र निमावि तहका केही पुस्तकको अभाव छ । निमावि तहमा कक्षा ८ का ५ सयभन्दा बढी सेट र मावि तहमा अर्थशास्त्र विषयका केही पुस्तक अझै अपुग रहेको दार्चुलाका पुस्तक विक्रेताहरू बताउँछन् । जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीका कारण विद्यार्थीले बेलैमा पाठ्यपुस्तक नपाएको खलंगास्थित ज्ञानज्योति पुस्तक भण्डारका सञ्चालक नरेन्द्रराज अवस्थीले बताए ।

यसैगरी बाजुराको कोल्टी क्षेत्रका १ सय ३ विद्यालयमा पनि पाठ्यपुस्तक नपुगेको कोल्टीस्थित जनप्रकाश उच्च माविका प्राचार्य अनोज गिरीले बताए । जनक शिक्षाले सबै जिल्ला सदरमुकाममा डिपो राखेको भए पनि ग्रामीण भेगमा ढुवानी गर्न कुनै पहल नभएपछि हालसम्म विद्यार्थी पाठ्यपुस्तकबाट वञ्चित भएका हुन् । ‘किताब अभावमा पठनपाठन नियमित गर्न सकिएको छैन,’ प्राचार्य गिरीले भने ।

केन्द्रमा पहुँच भएका विक्रेताले काठमाडौंबाट सिधै जिल्लामा किताब पुर्‍याउने गरेका छन् । केन्द्रको धनगढीस्थित क्षेत्रीय प्रमुख योगन्द्र भट्ट स्वयंले विक्रेताहरूलाई केन्द्रमा पहुँच स्थापित गरेर आफैं किताब ल्याउन भन्ने गरेको बाजुराका किताब विक्रेता हिरेन्द्र बानियाँले बताए । जनक शिक्षाको क्षेत्रीय कार्यालय धनगढीमै पाठ्यपुस्तक अभाव रहेको क्षेत्रीय प्रमुख भट्टले बताएका छन् ।

दार्चुलामा ८ कक्षाका ९ वटै विषयका साढे ५ सय सेट तथा ९ र १० को अर्थशास्त्रका २ सय सेट पुस्तक अपुग रहेको जनक शिक्षाको अस्थायी डिपो दार्चुलाका कर्मचारी मोहनप्रसाद पोखरेलले जानकारी दिए । कक्षा ८ को ३र४ दिनमै उपलब्ध हुने र कक्षा ९ को अंग्रेजी र अर्थशास्त्र तथा १० को अर्थशास्त्रको किताब क्षेत्रीय कार्यालय धनगढीमा समेत नभएकाले अझै केही समय लाग्ने उनले बताए ।

जिल्लामा विद्यालयहरूको मागअनुसार अझै जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक उपलब्ध गराउन सकेको छैन । ‘विद्यालयका सरहरू दिनहुँ पुस्तक पुगे नपुगेको सोध्छन्,’ दार्चुलाका पुस्तक विक्रेता अवस्थीले भने, ‘पुस्तक ल्याउन धनगढी गएकाहरू केही दिनमा आउँदै छ भन्ने जवाफ दिन्छन्, जनक शिक्षाले भने असार १ गते मात्रै कक्षा ८ पुस्तक पुग्छ भनेको छ ।’ जिल्लाभरिमा कक्षा १ देखि १० सम्म ३८ हजार ९ सय ५८ विद्यार्थी अध्ययनरत रहेको जिल्ला शिक्षा कार्यालयका निमित्त प्रमुख जयराज पन्तले बताए । मावि तथा निमाविमा जनक शिक्षा सामग्री केन्द्र र प्रावि तहमा महेन्द्रनगरको जगदम्बा छापाखानाले पुस्तक वितरण गर्ने पन्तले जानकारी दिए ।

माविमा ४ हजार ४ सय २५ र निमावि तहमा ११ हजार पुस्तकको माग आएको पोखरेलले जानकारी दिए । केन्द्रले तल्लो लेकम, खलंगा र दुहुका लागि खलंगा अस्थायी डिपो तथा चौलानी र मार्मा क्षेत्रका लागि गोकुलेश्वरमा डिपो राखी पुस्तक वितरण गरिरहेको छ ।

कोल्टी क्षेत्रका लागि ढुवानी भाडामा समेत विक्रेताहरू मन्जुर नभएकाले थप समस्या भएको हो । केन्द्रले सदरमुकाम मार्तडीमा डिपो स्थापना गरी कोल्टीका लागि ९ प्रतिशत ढुवानी भाडा दिने गरेको छ । विक्रेताहरू भने ९ प्रतिशत रकमले मार्तडीदेखि किताब ढुवानी गर्न नसक्ने भन्दै अटेर गरेका छन् ।

बाजुराका जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल भने कार्यालयले पाठ्यपुस्तक शीर्षकमा विद्यालयको खातामा रकम भुक्तानी गरिसकेको बताउँछन् । किताब पुर्‍याउने काम जनक शिक्षा र सम्बन्धित विक्रेताको भए पनि पूर्वोत्तर क्षेत्रमा हालसम्म नपुगेकामा चिन्तित भएको उनले बताए ।

कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया