Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

एसएलसी नतिजा दुई दिनभित्र

विहीबार, ०३ असार २०७२

काठमाडौं ३ असार / परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।
 
परीक्षा नियन्त्रण कार्यालयले अहिले उत्तरपुस्तिका परीक्षणपछि संकलित परीक्षार्थीको प्राप्तांकको रुजु गरिरहेको छ।
 
 परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले भने, 'ढिलोमा शनिबारसम्ममा नतिजा सार्वजनिक गर्छौं। काम छिटो सकियो भने शुक्रबार नै नतिजा निकाल्छौं।'
 
पनिकाले अहिले सानोठिमीस्थित कार्यालय परिसरमा एक सातादेखि निरन्तर नतिजा प्रकाशनसम्बन्धी काम गरिरहेको छ।
 
 नतिजासम्बन्धी गोप्य काम गर्नुपर्ने हुनाले सर्वसाधारणलाई कार्यालयको मूलगेटबाट भित्र जान दिइएको छैन।
 
अति जरुरी काम गरेर आउने सेवाग्राहीको सुविधाका लागि मूलगेटनजिकै अस्थायी डेस्क राखेर सेवा दिइरहेको छ। अस्थायी डेस्क वरपर रातो डोरी टाँगेर सुरक्षाकर्मीले पहरा दिइरहेका छन्।
 
यस वर्षको एसएलसीमा नियमित तथा आंशिक गरेर पाँच लाख ७४ हजार ६ सय ८५ परीक्षार्थी सहभागी थिए। जसमध्ये नियमिततर्फ चार लाख २६ हजार दुई सय १४ र आंशिकतर्फ एक लाख ४५ हजार एक सय ८३ जना सहभागी थिए।
 
नियमिततर्फ छात्राको संख्या दुई लाख १३ हजार सात सय १० र छात्रको संख्या दुई लाख १२ हजार पाँच सय चारजना थियो। आंशिकतर्फ छात्र ५१ हजार दुई सय ५३ र छात्राको संख्या ८५ हजार नौ सय ३० थियो।
 
परीक्षा चैत २ गते सुरु भएको थियो। यो वर्षदेखि विद्यालय तहमा प्राविधिक धार पढेका विद्यार्थीका लागि छुट्टै परीक्षा सञ्चालन गरिएको थियो।
 
प्राविधिक धारतर्फ तीन हजार दुई सय ५० जना परीक्षार्थी सहभागी थिए।
 
यस्ता परीक्षार्थीको नतिजा भने सामान्य धारका परीक्षार्थीको भन्दा एक साता ढिलो हुने पनिकाले जनाएको छ।
 
प्राविधिक धारका परीक्षार्थीको नतिजा ग्रेडिङमा सार्वजनिक गर्ने पनिकाले जनाएको छ।

अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया