Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

सामुदायिक विद्यालयको सान बनिन् भावना अर्याल

आइतबार, ०६ असार २०७२

सामुदायिक विद्यालयको सान बनिन् भावना अर्यालकाठमाडौं  ६ असार / सामुदायिक विद्यालयबाट पनि उत्कृष्ट नतिजा हासिल गर्न सकिन्छ भन्ने उदाहरण भावना अर्याल बनेकी छिन् । अहिलेसम्म सार्वजनिक भएअनुसार एसएलसीमा सामुदायिक विद्यालयतर्फबाट उनी सर्वोत्कृष्ट र समग्रमा दोस्रो भएकी छिन् ।

रूपन्देहीको मणिग्रामस्थित शान्ति नमुना उमाविबाट एसएलसी दिएकी भावनाले ९३ दशमलब ८७ प्रतिशत अंक ल्याएकी छिन् । १५ वर्षीया अर्याल आफू मात्रै सफल भएकी छैनन् उनको नतिजाले सामुदायिक विद्यालयप्रति आशा पलाएको छ ।

सामुदायिक विद्यालयमा डराउँदै भर्ना भएकी भावना सार्वजनिक भएअनुसार छात्रातर्फ देशभरमै प्रथम र समग्रमा दोस्रो विद्यार्थी हुन् । यस वर्ष समग्रमा सामुदायिकमा झन्डै पाँच प्रतिशत विद्यार्थी बढी उत्तीर्ण हुनु र अर्यालले छात्रातर्फ प्रथम तथा समग्रमा दोस्रो स्थान ल्याउनुले सामुदायिक विद्यालयमा सुधार भएको देखाएको छ ।

बोर्डिङ स्कुलमा पढाउने बाबु माधव अर्यालले छोरी भावनालाई शान्ति नमुना उमाविमा कक्षा सातमा भर्ना गरेका थिए । सामुदायिक विद्यालयप्रतिको विश्वासकै कारण छोरीलाई शान्ति नमुना उमाविमा भर्ना गरेको उनले बताए ।

कक्षा सातसम्म बोर्डिङ स्कुलमा पढेकी भावना सात कक्षामा सामुदायिकमा भर्ना भएकी हुन् । सुरुमा सामुदायिक विद्यालयमा राम्रो पढाइ हुँदैन भन्ने चर्चा र नयाँ वातावरणमा जान उनलाई डर लागेको थियो । ‘पहिले त सामुदायिकमा राम्रो पढाइ हुँदैन, राम्रो गर्न सकिँदैन भन्ने डर लागेको थियो,’ उनी भन्छिन्, ‘बाबा–मम्मीले कन्भिन्स गरेपछि शान्ति नमुनामा पढ्न तयार भएँ, पढ्दै जाँदा बोर्डिङभन्दा सामुदायिक स्कुल नै राम्रो लाग्यो ।’

बोर्डिङ स्कुल कम मन पर्नुको कारण पनि उनले खोलिन् । ‘शिक्षकले बढी टाइट गर्नुहुन्छ, विद्यार्थीले नजानेको कुरा पनि डरले सोध्न सक्दैनन्,’ भावनाले भनिन्, ‘सामुदायिकमा शिक्षक नजिक हुने हुँदा नजानेका कुरा सोध्न पनि कुनै डर भएन ।’
बोर्डिङ भन्दैमा सबै कुरा राम्रो नहुने भावनाको अनुभव छ । सामुदायिक विद्यालयमा सफलताको कारण खोल्दै उनले भनिन्, ‘स्कुलको पढ्ने वातावरण र मेरो मिहिनेतले सफलता मिल्यो ।’

शान्ति नमुनामा अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुँदै आएको छ । भावनाले भने अंग्रेजी माध्यम रोजेकी थिइन् । अंग्रेजी मात्र होइन, समग्र स्कुलकै नतिजा राम्रो रहेको विद्यालयले जनाएको छ । सो स्कुलका नेपाली माध्यममा पढेका विद्यार्थीले समेत झन्डै ९० प्रतिशतसम्म अंक प्राप्त गरेका छन् । सोही विद्यालयबाट एसएलसी दिएका भावनाकै दाइ भुवनले पनि ९० प्रतिशत अंक ल्याएका छन् ।

अनुशासित र मिहिनेती विद्यार्थी सफल हुने भावनाले बताइन् । आफ्नो पढ्ने तरिकाबारे उनले भनिन्, ‘पढ्दा कन्सेप्ट क्लियर हुनुपर्छ र म त गु्रपमा पनि धेरै पढ्थेँ, गु्रपमा पढ्ने अरू साथीको पनि रिजल्ट राम्रो छ ।’

शिक्षकहरूको मिहिनेत र स्कुलको पढ्ने वातावरण राम्रो हुनुपर्ने पनि उनले बताइन् । ‘योग्य र सहयोगी शिक्षक, विद्यार्थीसँग नजिकिन सक्ने, राम्रो समन्वय, पढ्ने वातावरण, ल्याब र प्राक्टिस हुने सामुदायिक विद्यालय सफल हुन्छन्,’ भावनाले सुनाइन् । आफूले पढेको स्कुलमा यी सबै कुरा राम्रो भएको उनको भनाइ छ ।

एसएलसीमा राम्रो गर्न सफल भएकी भावना कक्षा ११ र १२ मा साइन्स पढ्ने सोचाइमा छिन् । प्लस टु साइन्स पढेर छात्रवृत्तिमा एमबिबिएस पढ्ने उनको योजना छ । ‘अहिले मलाई धेरै कलेजबाट पढ्न अफर आएको छ, कहाँ पढ्ने सोचेर मात्रै निर्णय लिन्छु,’ उनले भनिन् ।

शान्ति नमुना स्कुलबाट एक सय ९१ विद्यार्थीले एसएलसी दिएकोमा एक सय ५८ जना उत्तीर्ण भएका छन् । तीनजनाले ९२ प्रतिशत, ११ विद्यार्थीले ९० प्रतिशत, ४९ जनाले विशिष्ट श्रेणीमा उत्तीर्ण गरेको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार अनुत्तीर्ण भएका विद्यार्थीको पनि एक विषय मात्र लागेको छ ।

०७१ को एसएलसी परीक्षामा ४७ दशमलब ४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । अघिल्लो वर्षभन्दा समग्रमा झन्डै साढे तीन प्रतिशत बढी विद्यार्थी यसपालि उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयको नतिजा पाँच प्रतिशतले बढेको छ ।

परीक्षामा नियमिततर्फ कुल चार लाख पाँच हजार तीन सय ३८ सहभागी भएकोमा एक लाख ९२ हजार दुई सय ६७ परीक्षार्थी उत्तीर्ण भएका छन् । अघिल्लो वर्ष नियमिततर्फ ४३ दशमलब ९२ प्रतिशत उत्तीर्ण भएका थिए । एक्ज्याम्टेडतर्फ एक लाख ३६ हजार ५१ सहभागी भएकामा १८ हजार सात सय ७८ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

सामुदायिक विद्यालयबाट एसएलसीमा एक लाख तीन सय ४२ अर्थात् ३३ दशमलब १८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा तीन लाख दुई हजार तीन सय ९९ विद्यार्थी सहभागी थिए । अघिल्लो वर्ष सामुदायिकबाट करिब २८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । निजी विद्यालयबाट एक लाख दुई हजार नौ सय ३९ सहभागी भएकामा ९१ हजार नौ सय २५ अर्थात् ८९ दशमलब ३० प्रतिशत उत्तीर्ण भएका छन् ।
यसरी सुधार्न सकिन्छ सामुदायिक विद्यालय

प्रा.डा. विद्यानाथ कोइराला

सामुदायिक शिक्षालाई सुधार गर्ने हो भने सबैभन्दा पहिले शिक्षकलाई सुधार्नुपर्छ । शिक्षकलाई राजनीतिक दलका भ्रातृ संगठन बनाए, दलका झोला बोकाए, अब किताब बोकाउनुस् । जसले राम्रो पढाउँछ, त्यो शिक्षकको राम्रो मूल्यांकन गर्नुस् । शिक्षकले पाठ्यपुस्तक, पाठ्यक्रम भएन भनेमा शिक्षकलाई नै विकल्प के हो, त्यो गर्न लगाउनुपर्छ ।

शिक्षकलाई सबै विद्यार्थीले निरीक्षण गर्नुपर्छ । त्यसो भएमा शिक्षक सजग हुन्छ । विद्यार्थीले पढ्दैनन् भन्ने शिक्षकको गुनासो आउने गरेको छ, किन पढ्दैनन् भन्ने शिक्षकले नै अध्ययन गर्नुपर्छ र समाधानको बाटो देखाउनुपर्छ । विद्यार्थीमा प्रश्न गर्ने क्षमताको विकास गर्नुपर्छ । विद्यालयमा राजनीति नहुने, राम्रो व्यवस्थापन हुने र शिक्षकले राम्रोसँग पढाउने हो भने नतिजा धेरै राम्रो हुन्छ ।

सामुदायिक विद्यालयबाटै राम्रो गर्न सकिन्छ

- भावना अर्याल

रुपन्देहीको मणिग्रामस्थित शान्ति नमुना उमाविबाट एसएलसी परीक्षा दिएकी हुँ । कक्षा सातदेखि मैले यही स्कुलमा पढेर एसएलसी परीक्षामा राम्रो नतिजा ल्याउन सफल भएकी छु । राम्रो नतिजाका लागि कन्सेप्ट क्लियर भएर पढ्ने, गु्रप डिस्कसन गर्दा राम्रो हुन्छ । मेरो पढाइमा परिवार, स्कुल र साथीहरूको पनि योगदान छ ।

हाम्रो विद्यालयमा साथीहरूको पनि राम्रो नतिजा आएको छ । सामुदायिक विद्यालय भए पनि पढाइ निकै राम्रो छ । यहाँ अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुन्छ । म ६ कक्षासम्म बोर्डिङ स्कुलमा पढेर सात कक्षामा सामुदायिकमा भर्ना भएकी हुँ । सुरुमा बोर्डिङबाट सामुदायिकमा जाँदा पढाइ हुँदैन कि भन्ने डर लागेको थियो । बाबा–मम्मीले मलाई कन्भिन्स गर्नुभयो र म भर्ना भएँ । त्यहाँ पढ्न सुरु गरेपछि बोर्डिङ स्कुलमा भन्दा राम्रो पढाइ भएको महसुस भयो । सामुदायिक विद्यालय आफैँमा नराम्रा हुँदैनन् । त्यहाँ पढाइको वातावरण राम्रो हुने र विद्यार्थीले मिहिनेत गर्ने हो भने सफल हुन सकिन्छ जस्तो लाग्छ । बोर्डिङ भन्दैमा सबै राम्रा हुँदैनन् । मलाई त बोर्डिङभन्दा सामुदायिक स्कुल धेरै राम्रो लाग्यो । बोर्डिङमा शिक्षकहरूले एकदमै टाइट गर्ने, विद्यार्थीसँग क्लोज नहुने र डरको वातावरण हुन्छ । तर, सामुदायिकमा शिक्षकसँग क्लोज वातावरण भयो, कुनै डर लागेन । नजानेको कुरा शिक्षकसँग सोध्न सकियो यसले धेरै राम्रो वातावरण बनायो ।

विद्यालयमा पढ्ने वातावरण एकदमै राम्रो पाएँ । शिक्षकहरू योग्य र विद्यार्थीसँग नजिक भएर पढाउनुभयो । मैले अब प्लस टुमा साइन्स विषय पढ्ने सोचाइ बनाएकी छु । त्यसपछि एमबिबिएसमा छात्रवृत्तिमा नाम निकालेर पढ्ने लक्ष्य रहेको छ ।

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् ।

प्रतिक्रिया