Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

नेता शिक्षकका विद्यालयमा उत्तीर्ण कम

आइतबार, ०६ असार २०७२

काठमाडौं ६ असार / प्रवेशिका परीक्षामा पाल्पा जिल्लाका नेता शिक्षकले पढाउने विद्यालयको नतिजा राम्रो देखिएको छैन । पठनपाठनमा भन्दा शिक्षक पेसागत र दलीय राजनीतिमा सक्रिय हुँदा नतिजा खस्कँदै गएको हो ।

नेपाल शिक्षक युनियनका अध्यक्ष विष्णु पोखरेलले पढाउने तानसेनको पद्म पब्लिक नमुना उमाविमा ५७ जनाले परीक्षा दिएकामा १२ जनामात्र उत्तीर्ण भएका छन् । नेपाल शिक्षक संघका अध्यक्ष लक्ष्मण बस्यालको जनप्रिय मावि हेक्लाङमा ३३ जनामा २ जनामात्र पास भए । नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले पढाउने सौभाग्य उच्च माविमा ७२ जनाले एसएलसी परीक्षा दिएकामा ११ जनामात्र पास भएका छन् ।

संघका पूर्वसचिव दीपक ज्ञवाली र नेपाल राष्ट्रिय शिक्षक संगठनकी नेता लक्ष्मी ढुंगानाले पढाउने मोहनकन्या उच्च माविमा १३ मा ४ जना पास छन् । यस्तै, अन्य शिक्षक नेताहरूले अध्यापन गर्ने विद्यालयको नतिजा पनि खस्कँदो छ । नेपाल राष्ट्रिय शिक्षक संगठनकी अध्यक्ष कृष्ण थापाले पढाउने देववाणी साधारण तथा संस्कृत माविको भने यसवर्ष नतिजा सुध्रिएको छ । २४ जनाले परीक्षा दिएकामा १९ जना उत्तीर्ण भएका छन् । तानसेनको महेन्द्र बोधी उच्च माविमा २१ जनामा ७ जना पास भएका छन् । यस्तै, नेता शिक्षक भीमलाल बस्यालको विद्यालय सेन उच्च माविमा ३० मा १४ जना पास भएका छन् । तानसेनको नेता शिक्षक थुप्रिएको जनता उमाविमा १ सय ५३ मा ६५ जना उत्तीर्ण छन् ।

शिक्षा क्षेत्रको लामो अनुभव बटुलेका पूर्वशिक्षक नारायण शर्माले व्यवस्थापन समिति गठन र राजनीतिक कारणबाट नतिजा कमजोर हुँदै आएको बताए । ‘विगतभन्दा अहिले राजनीतिक गतिविधिमा शिक्षक बढी लागेको देखिन्छ,’ उनले भने, ‘विद्यालय व्यवस्थापन समिति गठनदेखि नै राजनीति सुरु भएको छ, त्यसले पनि प्रभाव पार्छ ।’ शिक्षक, अभिभावक र विद्यार्थीबीचको त्रिकोणात्मक सम्बन्धलाई विस्तार गर्दै लगे नतिजामा पनि सुधार आउने उनको सुझाव छ ।

२०६७ मा ४०, ०६८ मा ३३, २०६९ मा ४२ र २०७० मा ४५ प्रतिशत विद्यार्थी पास भएका थिए । यस वर्ष भने घटेर ३७ दशमलव ७५ प्रतिशतमा झरेको छ । जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले यसवर्ष जिल्लाकै नतिजा अनपेक्षित रूपमा घटेको बताए । शिक्षाले ५० प्रतिशत प्रक्षेपण गरेको थियो । सामुदायिकतर्फ ३३ प्रतिशत, संस्थागत ८४ प्रतिशत पास भएका छन् । शिक्षा अधिकारी श्रेष्ठले शिक्षकहरू पेसागत संगठन र राजनीतिक दलमा लागेको कुरा सबै जिल्लाको समस्या भएको बताए ।

५७.९ प्रतिशत उत्तीर्ण

गोरखा– यस वर्षको एसएलसी परीक्षामा जिल्लाबाट देशभरको भन्दा ९.६६ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका छन् ।

जिल्ला शिक्षा कार्यालयका अनुसार ५७ दशमलव ०९ प्रतिशत विद्यार्थी पास भएका हुन् । जसअनुसार नियमिततर्फ २ हजार ६ सय ७० विद्यार्थी उत्तीर्ण भएका छन् । ४ हजार ६ सय ८ जना परीक्षार्थी एसएलसीमा सम्मिलित थिए । अघिल्लो वर्षको तुलनामा भने ०.९५ प्रतिशतले उत्तीर्ण प्रतिशत घटेको छ । विशिष्ट श्रेणीमा १३४, प्रथम श्रेणीमा ९ सय ४७, द्वितीय श्रेणीमा १ हजार ५ सय ५५ र तृतीय श्रेणीमा ३४ जना उत्तीर्ण भएको कार्यालयका कर्मचारी शिवराम अर्यालले जानकारी दिए । सामुदायिक, संस्थागत र एक खुला विद्यालयसहित १ सय १४ विद्यालयका छात्रछात्रा परीक्षामा सहभागी थिए । सामुदायिकतर्फ परोपकार आदर्श उमावि जौबारीमात्रै शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । ४ संस्थागतसहित ५ विद्यालयले शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराएका हुन् । मनकामना बहिरा मावि र खुला विद्यालयबाट कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् ।

रसुवामा २२ प्रतिशत मात्र

रसुवा– एसएलसीमा साढे २२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । जिल्लामा १ सय ५८ जना परीक्षार्थी उत्तीर्ण भएका शिक्षा अधिकारी रामशरण सापकोटाले बताए । ७ सय १० जना परीक्षार्थीले परीक्षा दिएका थिए । ४ जना विद्यार्थीले विशिष्ट श्रेणीमा र बाँकी पहिलो र दोस्रो श्रेणीमा उत्तीर्ण भएका छन् । गत वर्ष १९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको र अहिले ४ प्रतिशत वृद्धि हुनुमा व्यावसायिक र मर्यादित ढंगले परीक्षा भएको शिक्षा अधिकारी सापकोटाले बताए ।

फेल भएपछि आत्महत्या

धादिङ– एसएलसीको परीक्षामा असफल भएपछि १६ वर्षीय किशोरले आत्महत्या गरेका छन् । मैदी ८, काफलस्वाँरा निवासी सुनील भारतीले शुक्रबार साँझ नजिकैको केराबारी जंगलमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

भारतीले मैदी ७ स्थित ठूलोचौर माध्यमिक विद्यालयमा अध्ययन गरी एसएलसी परीक्षा दिएका थिए । जिल्ला अस्पतालमा परीक्षणपश्चात् शव अभिभावकको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया