Edukhabar
सोमबार, १० मंसिर २०८१
अन्तैवाट

विदेशिने विद्यार्थी नाटकीय रुपमा बढे

शुक्रबार, १८ असार २०७२

विदेशिने विद्यार्थी नाटकीय रुपमा बढेकाठमाडौं १८ असार / विभिन्न विषयमा उच्च शिक्षा लिन बिदेसिने विद्यार्थीको संख्या यस वर्ष ह्वात्तै बढ्ने देखिएको छ। विदेश जानुअघि शिक्षा मन्त्रालयबाट 'नो अब्जेक्सन लेटर' निकाल्ने विद्यार्थीको संख्याले बनाएको कीर्तिमानले यस्तो देखाएको हो। 

चार वर्षयता यो संख्या दोब्बर मात्र भएको थियो। तर २०७१ साउनयता मात्रै नो अब्जेक्सन लेटर लिन आवेदन दिनेको संख्या २९ हजार ३ सय ९० पुगेको छ। आर्थिक वर्ष २०६८/६९ मा ११ हजार ९ सय १२, २०६९/७० मा १६ हजार ४ सय ९९ विद्यार्थीले आवेदन दिएका थिए। तर गत वर्ष यो संख्या नाटकीय रूपमा उकालो लाग्यो। २०७०/७१ मा २८ हजार १ सय २६ विद्यार्थीले आवेदन दिएका छन् ।

शिक्षा मन्त्रालयका नो अब्जेक्सन लेटर विभागका प्रमुख प्रकाश महर्जनले यो आर्थिक वर्षमा यो संख्या ३० हजार नाघ्ने आँकलन गरे।

गत वर्षको भन्दा यो वर्ष ट्रेन्डमा भने फरक देखिएको छ। अत्यधिक विद्यार्थीले अस्ट्रेलियाको विकल्प यस वर्ष जापानलाई रोजेका छन्। मन्त्रालयबाट जापानका लागि पत्र लिने विद्यार्थी ९ हजार ३ सय ६३ छन् जब कि अस्ट्रेलियाका लागि पत्र लिनेको संख्या ८ हजार ६ सय ९२ छ।

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार अघिल्लो वर्ष उच्च शिक्षाका लागि अस्ट्रेलिया जाने विद्यार्थीको संख्या ११ हजार १ सय ८४ थियो भने जापान जान अनुमति लिने विद्यार्थीको संख्या ७ जहार ९ सय ३३।

सन् २०११ का सुनामीबाट नराम्रोसँग प्रभावित बनेको जापानको सुधारोन्मुख अर्थतन्त्रले शिक्षा र रोजगारीका दुवै अवसर जुटाउने हुनाले नेपाली युवालाई आकर्षित गरेको छ ।

अस्ट्रेलियामा भन्दा जापानको रोजगार बजार र उद्यामशीलताप्रति नेपाली युवा आकर्षित छन्। यो स्थिति आगामी केही वर्ष कायम रहनेछ। प्राकृतिक विपत्तिको सामना गरेको नेपालमा राजनीतिक नेतृत्वले युवालाई रोक्न स्थानीय रोजगार बजार र उद्यमशीलताले थप रोजगारी सिर्जना गर्ने अवस्था नदेखिएको शिक्षाशास्त्री वासुदेव काफ्ले बताउँछन्।

पछिल्लो २ वर्षदेखि निरन्तर रुपमा तेस्रो स्थानमा रहेको अमेरिका जान यस वर्ष ३ हजार ६ सय ४३ विद्यार्थीले अनुमति लिएका छन्। डलरमा शुल्क लिने भारतका विश्वविद्यालयमा अध्ययन गर्नसमेत जान १ हजार १८ जनाले आवेदन दिएका छन्। भारत र ९ सय ७९ विद्यार्थीले मलेसियामा अध्ययनका लागि आवेदन दिएका छन्।

प्रत्येक वर्ष कति विद्यार्थी अध्ययनका लागि बिदेसिन्छन् भन्ने यकिन तथ्यांक भने कसैसँग छैन। नो अब्जेक्सन लेटर लिने ८० प्रतिशतभन्दा बढी विद्यार्थीले भिसा पाउने गरेको सरकारी अधिकारी तथा परामर्शमा काम गर्दै आएकाहरु बताउँछन् ।

अध्ययन भिसामा नेपाली विद्यार्थी करिब ४५ वटा देश जान गरेका शैक्षिक परामर्श संघ (इक्यान) ले जनाएको छ । जापानमा अध्ययन खर्च विषयअनुसार फरक हुने भए पनि त्यो रकम १० लाख रुपैयाँबाट सुरु हुने इक्यानका उपाध्यक्ष रामचन्द्र पौडेल बताउँछन् उनले अस्ट्रेलिया, अमेरिका र युरोपेली देश जान भने १२ देखि १५ लाख रुपैयाँ लाग्ने बताए।

कन्सल्टेन्सीहरुले सम्बन्धित देशको भिसा नीतिले नेपाली विद्यार्थी कुन देश जाने भन्ने निर्धारण गर्ने जनाए। विज्ञहरुले भने राजनीतिक गतिरोध, न्यून आर्थिक गतिविधि मात्रै नभएर बढ्दो मुद्रास्फीतिले नेपाली विद्यार्थीलाई बाहिरिन बाध्य पार्ने कारक भएको बताए। 

नागरिकमा निर्जना शर्माले लेखेकी छन् । 

प्रतिक्रिया